थोक महँगी ६ प्रतिशत नाघ्यो : बढ्दो महङ्गी र मध्यपूर्वको तनावले नेपाली भान्सामा कस्तो पर्ला असर ?


काठमाडौं । पछिल्लो केही महिनायता न्यून विन्दुमा रहँदै आएको मुद्रास्फीति पुनः उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को माघ महिना सम्मको तथ्याङ्कले बजारमा महँगी बिस्तारै बढ्दै गएको देखाएको हो । विशेष गरी थोक बजारमा भएको उच्च मूल्यवृद्धिले आगामी दिनमा नेपाली उपभोक्ताको भान्सा अझ महँगो हुने संकेत गरेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८१-८२ को सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा महँगीको दर केही कम देखिए पनि चालु आर्थिक वर्षको अघिल्ला महिनाहरूको तुलनामा भने यो निरन्तर बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै नियन्त्रणमा देखिएको महँगी मंसिरमा १.६३ प्रतिशत र पुसमा २.४२ प्रतिशत मात्र थियो ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार माघ महिनामा थोक मुद्रास्फीतिमा पनि उच्च वृद्धि देखिएको छ । माघ महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ । गत वर्षको माघमा यो दर जम्मा ३.४७ प्रतिशत मात्र थियो । साधारणतया थोक बजारमा मूल्य बढेको केही समयपछि मात्र त्यसको असर खुद्रा बजार वा उपभोक्ताको भान्सामा देखिने गर्दछ । व्यापारीहरूले अहिले थोक मूल्यमा ६ प्रतिशतभन्दा बढी महँगोमा सामान स्टक गरिरहेकोले केही समयपछि यसको सिधा असर उपभोक्तको भान्सा पर्ने प्रतिवेदनले देखाएको हो ।

त्यस्तै, उद्योगहरूले कच्चा पदार्थका रूपमा प्रयोग गर्ने मध्यवर्ती वस्तुको थोक मूल्यमा ९.८३ प्रतिशतको वृद्धि देखिएको छ । यसले उत्पादन लागत बढाउने हुँदा स्वदेशी उत्पादनहरू अझ महँगो हुने र बजारमा महँगीको चाप सुरु हुने देखिन्छ । निर्माण सामग्रीको थोक मूल्य पनि २.०४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थविद् केशव आचार्यका अनुसार प्रतिनिधि सभाको निर्वाचन र त्यसले सिर्जना गरेको आर्थिक चहलपहलले महँगी बढाउन मुख्य भूमिका खेलेको हो । “चुनावी समयमा बजारमा पैसाको प्रवाह बढ्छ, जसले गर्दा समग्र मागमा सुधार हुन्छ र मूल्यवृद्धिमा चाप पर्छ,” आचार्यले भने । यसका साथै, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु मुद्रास्फीतिको अर्काे कारण रहेको आचार्यको भनाई छ । उनले भने, “गत वर्षको माघ महिनामा डलरको विनिमय दर १३० देखि १३८ रुपैयाँको हाराहारीमा रहेकोमा अहिले १४० रुपैयाँ नाघिसकेको छ, जसले गर्दा पनि महङ्गी बढेको हो ।”

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकोले डलर महँगो हुँदा विदेशबाट ल्याइने सामानको लागत स्वतः बढ्ने आचार्य बताउँछन् । उनका अनुसार भारतको तुलनामा नेपालको मुद्रास्फीति बढी हुनु र नेपाली वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत ह्रास आउनाले पनि महङ्गी बढेको हो ।

उपभोक्ता मूल्य र थोक मूल्य गणना गर्ने आधार वर्ष फरक हुँदा पनि तथ्याङ्कमा केही अन्तर देखिएको आचार्यको बुझाइ छ । तर अहिले मुद्रास्फीति न्यून विन्दुमै रहेकोले आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई छ ।
तर मध्यपूर्वमा बढ्दै गएको तनावले भविष्यमा नेपालको मुद्रास्फीति बढाउने आचार्यको बुझाई छ ।

“विशेष गरी मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनावले नेपाली बजारलाई थप त्रसित बनाएको छ,” उनले भने, “यदि यो युद्ध छिट्टै अन्त्य नभएर लम्बिँदै गएमा विश्वभर नै आपूर्ति शृङ्खला अवरुद्ध हुने र पेट्रोलियम पदार्थको मूल्य आकासिने खतरा छ ।” युद्ध तीन हप्ताभन्दा बढी लम्बिँदै गएमा अन्तर्राष्ट्रिय ढुवानी भाडा बढ्ने र आयातित सामानहरू अझ महँगो हुने हुँदा त्यसले नेपालको समग्र अर्थतन्त्र र सर्वसाधारणको भान्सामा प्रत्यक्ष असर पार्ने उनी बताउँछन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा महँगी दर ५ प्रतिशतभित्रै राख्ने लक्ष्य लिए पनि थोक मूल्यमा देखिएको दबाब र बाह्य क्षेत्रको अस्थिरताले उक्त लक्ष्य चुनौतीपूर्ण बन्ने देखिएको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  ०८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।