काठमाडौँ । सुनको मूल्य बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य निरन्तर बढेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ । सुनको मूल्य आकासिएपछि बजारमा माग कम हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । कारोबार गिरावट आएको बेला नक्कली गहनाको माग भने बढ्दै गएको छ । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन,‘ भन्ने विशेषता भएकाले पनि सुनका गहना छाडेर ग्राहक नक्कली गहनातर्फ आकर्षित भएका हुन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ३ लाख २४ हजार किलोग्राम नक्कली गहना आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा ३ लाख १० हजार किलोग्राम आयात भएको थियो ।
हेर्दा सुन जस्तै देखिने भएकाले नक्कली वा सक्कली भनेर सामान्य रूपमा छुट्याउन गाह्रो पर्ने भएकाले पनि यसप्रति महिलाको आकर्षण बढेको हो । सुनका गहना महँगो पर्ने र चोरीको डर हुने भएकाले पनि पछिल्लो समय नक्कली गहनाको व्यापार बढ्दै गएको व्यवसायीको भनाइ छ । हृदय ज्वेलर्सकी सञ्चालिका सबिना कार्कीले नक्कली गहनाको व्यापार क्रमिक रूपमा बढ्दै गएको जानकारी दिइन् ।
‘पहिले पहिले त औँठी, सिक्री लगायतका गहनामा बिक्री हुने गरेको थियो ।’ उनले भनिन्, ‘पछिल्लो समय विशेष गरी बिहेको सिजनमा दुलही सेट बिक्री हुने गर्छ ।’
उनका अनुसार, पहिला दुलहीका तर्फबाट मात्र नक्कली गहनाको अर्डर आउने गरेकामा अहिले दुलहाका तर्फबाट समेत अर्डर आउने गरेको छ । लगाउँदा सुन जस्तै देखिने चोरीको डर पनि नहुने हुँदा पछिल्लो समय बिहे पार्टीमा नक्कली गहना नै बढी प्रयोग हुँदा कारोबार पनि बढ्दै गएको उनको भनाइ छ ।
‘नक्कली गहना बेच्न थालेको पनि १०÷१२ वर्ष भईसक्यो । पहिले पहिले त अरुले थाहा नपाउन् भनेर किन्ने गर्थे अहिले त त्यस्तो हुँदैन ‘उनले भनिन् । यस्तै पुजना कलेक्सनकी सञ्चालिका पुजा खनालले बिहेको सिजनमा नक्कली ब्राइडल सेट बढी बिक्री हुने गरेको जानकारी दिइन् । ‘७ देखि १० हजार रुपैयाँमा दुलही सेट तयार हुन्छ,’ उनले भनिन्, ‘झ्वाट्ट हेर्दा सुन जस्तै देखिने भएकाले पनि नक्कली गहना उपभोक्ताको रोजाइमा परेका छन् ।’
विगत २ वर्षदेखि अनलाइन मार्फत नक्कली गहना बिक्री गर्दै आएको उनले बताइन् । सामाजिक सञ्जाल (टिकटक, फेसबुक र इन्स्टाग्राम) मा फोटो भिडियो पोष्ट गरेर ग्राहकहरुको मन जितेकी उनी यस व्यवसायमा आफू खुशी रहेको सुनाइन् ।
नक्कली गहना खरिद गर्न आएकी पुजाले सुनको मूल्य बढेर खरिद गर्न नसक्ने भएपछि नक्कली गहना लगाउनुपर्ने अवस्था आएको बताइन् । सुनको मूल्य बढेपछि चोरी हुने डर भएकाले पनि नक्कली गहना लगाउन सहज हुने उनको भनाइ छ । सुनको मूल्य बढेपछि चोरी हुने डरले अधिकांशले नक्कली गहना प्रयोग गर्ने गरेका छन् ।
उनका अनुसार, व्यवसाय सुरु गर्दाभन्दा पछिल्लो समय ग्राहकको माग बढेसँगै मूल्य पनि बढ्दै गएको छ । आफुले खरिद गर्दा नै सामान महँगिएको छ । हृदय कलेक्सनमा भेटिएकी एक ग्राहक आफूले प्रायःजसो नक्कली गहना नै प्रयोग गर्ने गरेको बताइन् । ‘सक्कली गहना लगाएर हिँड्न सकिँदैन,’ उनले भनिन् ‘चोरी हुने डर हुन्छ । त्यति मात्र होइन ज्यानै पनि जान सक्छ ।’
बिहेको समय र देखावटीका लागि भएपनि सुन लगाउनुपर्ने चलन रहेपनि सक्कली सुन किन्न आर्थिक अवस्थाले नदिएपछि नक्कली सुन लगाउन थालेको उनको भनाइ छ ।
यता सक्कली सुनको भाउ दिनदिनै बढेपछि कारोबार नै ठप्प बने ओम सिद्धकाली सुनचाँदी पसलका हरि थापा बताउँछन् । सिजनको समयमा अलिअलि कारोबार भएपनि अन्य समय हात बानेर बस्नु सिवाय केही उपाय छैन । ‘आफ्नो पसल नजिकै नक्कली सुनको गहना पसल छ त्यहाँ गहना किन्नेहरु लाइन लाग्छन् तर सक्कली सुन किन्न आउँदैनन्’ उनले भने ।
७० भन्दा बढी मुलुकबाट आउँछ नेपालमा नक्कली गहना
पछिल्लो समय नेपालमा ७३ मुलुकबाट नक्कली गहनाहरु भित्रिने गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा ७३ मुलुकबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
सात महिनामा भारतबाट १ लाख ३७ हजार किलोग्राम गहना आयात भएको छ । त्यसैगरी, ८४ हजार किलोग्राम, अमेरिकाबाट ६४४ किलोग्राम, मलेसियाबाट २२३ किलोग्राम, इन्डोन्एसियाबाट १४८ किलोग्राम र थाइल्याण्डबाट १४२ किलोग्राम आयात भएको छ ।
त्यस्तै, हङकङबाट २१३ किलोग्राम, यूएईबाट १०१ किलोग्राम, कोरियाबाट ४७ किलोग्राम, टर्कीबाट ५३ किलोग्राम र टर्कीबाट ३५ किलोग्राम गहना आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
४६ प्रतिशतले बढ्यो सुनको भाउ
पछिल्लो एक वर्षमा सक्कली सुनको भाउ ४६.२१ प्रतिशतले बढेको छ । २०८१ फागुन २८ गते प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको सुन ठीक एक वर्ष पछि प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको हो । यसरी सक्कली सुनको भाउ दिनप्रति दिन आकासिदा ग्राहकहरुको रोजाईमा नक्कली गहना परेको हो ।










प्रतिक्रिया