काठमाडौँ । मध्यपूर्वमा जारी युद्धको असर नेपाली भान्सामा देखिन थालेको छ । विश्व ऊर्जा व्यापारको मूख्य मार्ग होरमुज जलमार्गमा देखिएको सुरक्षा जोखिमका कारण पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति प्रणालीमा अवरोध देखिनुका साथै खाद्यान्नको मूल्यमा समेत वृद्धि भएको हो ।
मध्यपूर्वमा युद्ध सुरु हुनु अघिदेखि नै उपत्यकामा सामान्य अभाव देखिएको खाना पकाउने ग्यास पछिल्लो समय उपभोक्ताले पाउनै छाडिसके । ग्यासमात्र नभई अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको छ ।
मध्यपूर्वी युद्धको प्रभाव विश्व बजार हुँदै नेपाली भान्सासम्म पुगेको हो । युद्धको प्रत्यक्ष प्रभाव उर्जा प्रणाली, अन्तराष्ट्रिय व्यापार मार्ग, औद्योगिक उत्पादन र समग्र आर्थिक स्थिरतामाथि देखिएको छ ।
यो संकटको केन्द्रमा रहेको होमुर्ज जलमार्ग विश्व उर्जा व्यापारको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग हो । विश्वको ठूलो हिस्सा कच्चा तेल र ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्छ । अहिले युद्धका कारण यो मार्गमा इरानी आक्रमणको जोखिम बढेपछि उर्जा बजारमा तीव्र अस्थिरता देखा परेको छ ।
भारतले आयात गर्ने इन्धनको ठूलो हिस्सा खाडी क्षेत्र नै रहेको छ । भारतले आफ्नो करिब ९० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ती होर्मुज जलमार्ग हुँदै गर्दछ । सो तनावका कारण भारतको उर्जा आपूर्ती प्रणालीमा संकट देखिन थालेको छ ।
भारतमा देखिएको यस्तो संकट नेपालका लागि अत्यन्त संवेदनशील विषय हो । नेपालको पेट्रोलियम तथा एलपीजी ग्यास आपूर्ती लगभग पूर्णरुपमा भारतमार्फत हुन्छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने मूल्यसूचीका आधारमा इन्धन तथा ग्यासको मूल्य समायोजन गर्ने गरेको छ ।
बजारमा मौज्दात पर्याप्त रहँदा पनि कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने जो–कोहीलाई पनि काराबाहीको दायरामा ल्याइनेछ ।
पछिल्लो समय भारतमै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । जसको कारण नेपालमा पनि उच्च मूल्य वृद्धि हुन थालेको छ । यो मूल्य वृद्धिको असर केवल इन्धनमा मात्र सिमित नभई उपभोग्य वस्तुमा पनि देखिन थालेको छ । पेट्रोलियम पदार्थ महँगिदा ढुवानी लागत बढ्ने, ढुवानी लागत बढेपछि खाद्यान्न, तरकारी, खाद्य तेल तथा दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढ्ने देखिएको छ । अहिले नेपालमा खाने तेलको मूल्य बढ्नु पनि इन्धन संकटसँग जोडिएको छ ।
मध्यपूर्वको तनाव र इन्धन मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली भान्सामा देखिन थालिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताएका छन् । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा डलरमा भुक्तानी गर्नुपर्ने खानेतेलको मूल्यमा उच्च वृद्धि देखिएको छ । उनका अनुसार खानेतेलको मूल्य प्रतिलिटर झण्डै १०० रुपैयाँसम्म बढिसकेको छ ।
हाल खानेतेल बाहेक अन्य खाद्यान्नमा तत्कालै ठूलो असर नदेखिएको भए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्तालाई थप मार पार्ने जोखिम बढेको छ ।
भारतबाट आयात हुने अन्य सामानको भुक्तानी भारतीय रुपैयाँमै हुने भएकाले डलरको प्रत्यक्ष असर नपरे पनि ढुवानी भाडा बढ्दा सम्पूर्ण खाद्य सामग्रीको मूल्य बढ्न सक्ने जोखिम रहेको उनले बताए । यता, यदि भारतले आफ्नो आन्तरिक बजार जोगाउन खाद्यान्न निर्यातमा कडाइ गरे नेपालमा चरम अभाव र कालोबजारी सुरु हुन सक्ने मिश्रले चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि कालोबजारी पनि बढ्न थालेको उपभोक्ताको गुनासो छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी भइरहेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सक्रियता बढाएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए । मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई तीव्र पारिएको उनको भनाई छ ।
‘अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आएर अभाव भएको भनिए पनि हामी यसको अध्ययन गर्दैछौँ,’ उनले भने, ‘बजारमा मौज्दात पर्याप्त रहँदा पनि कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने जो–कोहीलाई पनि काराबाहीको दायरामा ल्याइनेछ ।’
विभागले अहिले विशेषगरी तेलको मूल्य र मौज्दातलाई केन्द्रित गरेर बजार निरीक्षण गरिरहेको उनले बताए । आपूर्ति शृंखला सुदृढ, पूर्वतयारी, प्रभावकारी अनुगमन र पारदर्शी वितरण प्रणाली नहुँदा बजारमा ग्यासको अभाव देखिएको र अन्य खाद्य सामाग्रीमा पनि त्यस्तै हुनसक्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले बताएका छन् ।
उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, कालोबजारी र सिन्डिकेटजस्ता गतिविधि नियन्त्रण गर्न स्थायी तथा शक्तिशाली संयन्त्र आवश्यक रहेको औँल्याए । उनका अनुसार, बजारमा मूल्य, गुणस्तर र नापतौलका विषयमा व्यापक अनियमितता देखिए पनि प्रभावकारी कारबाही नहुँदा उपभोक्ता निरन्तर मारमा परिरहेका छन् ।










प्रतिक्रिया