काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र त्यसको परिणामले लगानीकर्ताहरूमा उत्साह थपेको छ । निर्वाचनपछिका ९ कारोबार दिनमा नेप्से परिसूचकमा २१९ अंकभन्दा बढीको वृद्धि आएको छ ।
निर्वाचन हुनुभन्दा अघि फागुन १९ मा नेप्से परिसूचक २७१२.४९ थियो । तर निर्वाचनको नतिजा सार्वजनिक भई नयाँ राजनीतिक शक्ति उदय भएसँगै बजारले उकालो यात्रा तय गरेको छ । आइतबार नेप्से परिसुचक २९३१.५५ विन्दुमा पुगेको छ । यो विगत सात महिना यताकै उच्च विन्दु समेत हो । यसअघि गत साउन १४ मा नेप्से २९५४ विन्दुमा पुगेको थियो । फागुन १९ मा कुल सेयरबजार पूँजीकरण ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा चैत ८ मा ४८ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।
बजारमा देखिएको यो उछालको मुख्य कारण निर्वाचनपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको दुई तिहाइ नजिकको बहुमत र स्थिर सरकार बन्ने सुनिश्चितता भएको जानकारहरू बताउँछन् । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेपछि लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास पलाएको हो । आगामी चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने निश्चित भएपछि लगानीकर्ताहरूमा उत्साह छाएको हो ।
लामो समयदेखि अस्थिर सरकारका कारण निराश बनेका लगानीकर्ताहरू अब बन्ने नयाँ सरकारले देशको अर्थतन्त्रलाई सही मार्गमा डो¥याउनेमा विश्वस्त देखिएका छन् । युवा नेतृत्वले अर्थतन्त्रका अवरोधहरू हटाउने विश्वासका कारण बजारमा खरिद चाप उल्लेख्य रूपमा बढेको सेयर बजारका जानकारहरू बताउँछन् ।
सेयर बजारका जानकार छोटेलाल रौनियारका अनुसार लगानीकर्ताहरू लामो समयदेखि स्थिर राजनीतिक वातावरणको पर्खाइमा थिए । “रास्वपाको झण्डै दुई–तिहाइको सरकार आउँछ भन्ने कसैले सोचेका थिएनन् । यो लगानीकर्ताका लागि निकै सुखद् कुरा हो,” रौनियारले भने, “यसले लगानीकर्ताको मनोविज्ञानमा ठूलो उत्साह भरेको छ । अब बजार घट्ने कुनै कारण देखिँदैन ।”
पछिल्लो समय अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकहरू सकारात्मक भए पनि राजनीतिक अस्थिरताले बजारलाई निराश बनाइरहेको थियो । तर निर्वाचनले ल्याएको उत्साह र अब बन्ने सरकार स्थीर हुन्छ भन्ने अपेक्षाले लगानीकर्तामा खुशी ल्याएको उनी बताउँछन् । “अहिले बैंकको ब्याजदर ७ प्रतिशतको हाराहारीमा छ, बजारमा पर्याप्त तरलता छ, विदेशी मुद्रा सञ्चिति ऐतिहासिक छ र मुद्रास्फीति पनि न्यून छ,” उनले भने, “यस्तो बेला नयाँ सरकार बन्नु र त्यो सरकार स्थीर हुने सम्भावना बढेसँगै नेप्से अब ३२०० बिन्दुको यात्रामा निस्किएको संकेत गर्छ ।”
स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष भरत रानाभाट बजारको यो उछाललाई लगानीकर्ताले स्थीर सरकार आउने विश्वास गरेको र त्यसलाई स्वागत गरेको मान्नुपर्ने बताउँछन् । यसबाहेक रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा सेयर बजारलाई प्राथमिकता दिएका कारण लगानीकर्ता थप विश्वस्त भएको उनको बुझाइ छ ।
“सबै पार्टीका घोषणापत्रमा बजारको कुरा थियो, तर रास्वपाले दीर्घकालीन सुधारका योजनासहित विशेष स्थान दिएको छ,” रानाभाटले भने, “अब बहुमतको सरकार बनेपछि कम्तीमा ५ वर्षसम्म नीतिगत स्थिरता रहने र बारम्बार सरकार र बजारका नीति फेरिने क्रम रोकिने आशामा लगानीकर्ताहरू उत्साहित भएका हुन् ।” लगानीकर्ता नयाँ र स्थिर सरकारप्रति आशावादी रहेकोले नेप्से परिसूचक २०७८ भदौ २ भन्दा पनि माथि पुग्ने जानकारहरुको बुझाई छ ।










प्रतिक्रिया