काठमाडौँ । मध्यपूर्व युद्धका कारण इन्धनको मूल्यमा वृद्धि भइरहँदा एक महिनाको अवधिमा ५०६ वटा विद्युतिय सवारी साधन (ईभी) आयात गरिएको छ । फागुनमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको ईभी आयात भएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को ८ महिनामा ६ हजार ४०० वटा विद्युतीय गाडी (कार, जीप भ्यान) भित्रिएका छन् ।
भन्सार विभागका अनुसार यस अवधिमा ८ देशबाट नेपालमा उक्त मात्रामा ईभी आयात भएका हुन् । उक्त ६ हजार ४०० वटा विद्युतीय गाडी आयात गर्दा १४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ । जसबाट ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना अर्थात साउनदेखि माघसम्ममा नेपालले १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको थियो ।
सात महिना माकुल ५ हजार ८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए भने ईभीबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यता, चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन) भित्र नेपालमा १० हजारभन्दा बढी कार आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म विद्युतीय र पेट्रोल दुवै गरी कुल १० हजार २६२ युनिट कार, जीप तथा भ्यान ९० आयात भएको हो ।
विद्युतिय मध्ये नेपालमा विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी बढी भित्रिने गरेका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार १९८ वटा ईभी आयात भएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ वटा अर्थात् सबैभन्दा धेरै आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा अन–एसेम्बल (५० किलोवाट) का २ वटा आयात भएका छन् ।
कुन देशबाट कति ईभी भित्रिए ?
यो अवधिमा सबैभन्दा धेरै ईभी चिनबाट भित्रिएका छन् । ८ महिनाको अवधिमा चिनबाट ६९ प्रतिशत ईभी भित्रिएका हुन् । विभागका अनुसार यो अवधिमा चिनबाट १० अर्ब ३० करोड रुपैयाँ बराबरको ४ हजार ३९९ वटा ईभी भित्रिएका छन् ।
जसमा ५० किलोवाट सम्मका १ हजार ३१३ वटा, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ६१४ वटा, १०१ देखि २०० सम्मका ४६८ वटा र २०१ देखि ३०० किलोवाट सम्मका ४ वटा ईभी चिनबाट नेपाल आएका हुन् ।
यस्तै, भारतबाट ३ अर्ब २५ करोड रुपैयाँ बराबरको १ हजार ५३३ वटा ईभी आएका हुन् । ईभी आयातमा भारतको हिस्सा २३ प्रतिशत रहेको छ । भारतबाट ५० किलोवाट सम्मका तर एसेम्बल नभएका २ वटा, ५० किलोवाटसम्मका एसेम्बल भएका ८८५ वटा, ५१ देखि १०० किलोवाट सम्मका ६१७ वटा १०१ देखि २०० किलोवाट सम्मका २९ वटा ईभी आयात भएका छन् ।
त्यसैगरी, थाइल्याण्डबाट ४४० वटा, अमेरिकाबाट १२ वटा, जर्मनीबाट १०, दक्षिण कोरियाबाट २ र अस्ट्रेलियाबाट १ वटा र बेलायतबाट १ वटा ईभी नेपाल भित्रिएको छ ।










प्रतिक्रिया