युद्धको समयमा सर्वाधिक बढ्ने सुनको भाउ यस पटक किन घट्यो ?


काठमाडौँ । सामान्यतया युद्ध र अनिश्चितताको समयमा सुरक्षित लगानीका रूपमा हेरिने सुन यसपटक भने विपरीत देखिएको छ । हरेक युद्धको समयमा बढ्ने सुनको मूल्य यस पटक भने दैनिक उच्च गिरावट आएको छ ।

फेब्रुअरी २८ देखि डोनाल्ड ट्रम्प नेतृत्वमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व अर्थतन्त्रमा दबाब बढेको छ । इरानका अधिकारी इब्राहिम जाबरीले हर्मुज जलडमरु बन्द गरिएको घोषणा गरेपछि तेलको मूल्य आकस्मिक रूपमा उकालो लागेको थियो । तर त्यसको प्रभाव सुनमा भने खासै देखिएको छैन ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउनेभन्दा बढाउने संकेत देखिएपछि लगानीकर्ताहरू नगदतर्फ आकर्षित भएका छन् । ब्याज नदिने सम्पत्ति भएकाले सुनको माग कमजोर बनेको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । जबकी युद्ध सुरु भएको भोलिपल्ट अर्थात् मार्च १ तारिखमा ५ हजार २७८ अमेरिकी डलरमा कारोबार भएको थियो । झण्डै २ महिनाअघि सुनको मूल्य प्रतिऔंस ५ हजार ५५८ डलरसम्म पुगेको थियो ।

यसको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । फागुन १७ गते सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने अहिले २ लाख ७३ ९०० हजार रुपैयाँमा झरेको छ । यस अघि गत माघमा सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन इतिहासकै उच्च मूल्य हो । दुई महिनाको अन्तरालमा सुनको मूल्यमा ६५ हजार ४०० रुपैयाँ घटेको हो ।

हरेक अन्तराष्ट्रिय युद्धमा अत्याधिक बढ्ने सुनको भाउ अहिले ठीक उल्टो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।
‘अहिलेको युद्धमा इरानको तेल खानीमा आक्रमण गरेपछि विश्व बजारमा तेलको भाउ महँगियो । यसरी अत्यावश्यक वस्तुको भाउ महँगिदा सुनको भाउमा गिरावट आएको हो’ उनले भने ।

उनका अनुसार, विश्व बजारमा तेलको संकट देखिएपछि सुनका लगानीकर्ताहरु सुन बेचेर डलरमा तेल खरिद गर्नतिर आकर्षित भएका छन् । जसका कारण डलर मजबुत बनेको छ भने सुन कमजोर बनेको छ ।

युद्ध अझै लम्बिदै गएमा सुनको मूल्यमा अझै गिरावट हुने उनको अनुमान रहेको छ । यही अनुपातमा सुनमा गिरावट आएमा ४ हजार डलरबाट केही तल झर्ने समेत उनले बताएका छन् ।

अहिले सुनको मूल्य घट्नुको मुख्य कारण मध्यपूर्वको तनाव नै भए पनि यसको असर भने घुमाउरो हिसाबले परेको नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । अहिले सुनको मूल्य घट्नु र डलरको मूल्य बढ्नुमा केही महत्वपूर्ण कारण रहेको उनको भनाइ छ ।

उनका अनुसार, पहिलो कारण अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) को कदम हो । फेडले यसअघि निरन्तर रुपमा घटाउँदै आएको ब्याजदरलाई नघटाउने निर्णय ग¥यो । फेडका गभर्नर जेरोम पावेलले फेड दरलाई ३.५० देखि ३.७५ प्रतिशतको बिचमा रहने यसअघिको निर्णयलाई निरन्तरता दिएका छन् । यो निर्णयसँगै डलरको मूल्य बढेको छ ।

अर्थात् अन्तर्राष्ट्रिय लगानीकर्ताहरु धेरै ब्याजदर पाइने आशमा कमोडिटीको लगानीलाई विस्तारै डलरमा सार्दै गएका छन्, यसले कमोडिटीको मूल्य घट्ने र डलरको बढ्ने अवस्था देखिएको उनी बताउँछन् ।

‘ब्याजदर र सुनजस्ता सम्पत्तिको मूल्यबिच विपरीत सम्बन्ध हुन्छ । यसो हुँदा सुनजस्तो ब्याज नआउने सम्पत्तिमा आकर्षण कम हुन्छ,’ थापाले भने ‘जसकारण मूल्य घटिरहेको छ, ब्याजदर नघट्दा डलर बलियो भयो र लगानीकर्ताहरू सुन बेचेर डलरतिर आकर्षित भए ।’

हालको युद्धको सबैभन्दा ठुलो असर चीन, जापान, भारत जस्ता मुलुकमा महँगी बढ्ने सम्भावना देखिएको छ । यसले सुन सञ्चित गरेका देशलाई तेल किन्न सुनको सञ्चिति घटाउँदै जानुपर्ने बाध्यता देखिएको छ । यसले समेत सुनको मूल्यलाई घटाउन भूमिका खेलेको उनको भनाइ छ ।

सुनको मूल्य एकातिर घटिरहँदा डलर भने दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार डलरको बिक्रीदर १५० रुपैयाँ ६७ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।