अन्तर्राष्ट्रिय बजारमा माग कम हुँदा २३ प्रतिशतले घट्यो गलैँचा निर्यात


काठमाडौँ । पछिल्लो समय नेपाली गलैँचाको निर्यात घटेको छ । अन्तर्राष्ट्रिय बजारमा माग कम हुँदा गत आर्थिक वर्षको २०८१-८२ को आठ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०८२-८३ को फागुन महिनासम्म गलैँचा निर्यात २३ प्रतिशतले घटेको पाइएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवको फागुन महिनासम्म नेपालबाट ७ अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको ३ लाख २१ हजार वर्गमिटर गलैँचा निर्यात भएको थियो ।

चालू आवको फागुनसम्म आइपुग्दा ६ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको २ लाख ४५ हजार वर्गकिलोमिटर मात्रै गलैँचा नेपालबाट निर्यात भएको देखिएको छ । परिणामको आधारमा यो निर्यात २३.६२ प्रतिशतले कम हो ।

घरदेखि कार्यालयका भुइँ र आशन कक्षमा प्रयोग गरिने गलैँचा उत्पादनमा नेपाल शताब्दी अघिदेखि नै प्रख्यात छ । भेडाको ऊन उपलब्ध हुने र परम्परागत रैथाने बनोट सीप पुस्तौँ पुस्तासम्म हस्तान्तरण भइरहेकाले नेपाली गलैँचा विश्वभर नै लोकप्रिय छ ।
तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको राजनैतिक तनाव तथा गलैँचा महँगो हुँदा नेपाली गलैँचाको माग घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङले बताएका छन् ।

उनका अनुसार, गत दुई वर्षदेखि सरकारले गलैँचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई खारेज गरेको छ । उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा ५० प्रतिशत कर छुट सुविधालाई समेत कटौती गरेको छ । सरकारले गलैँचा उद्योगलाई प्रोत्साहनस्वरुप दिँदै आएको भ्याट छुट र आयकर छुट कटौती हुँदा उत्पादनको लागत बढेको र निर्यातमा चुनौती थपेको छ ।

उनले नेपालको व्यापार पनि महँगो हुँदा निर्यात बढाउन चुनौती रहेको बताए । कार्पेट लगायत अन्य वस्तुहरूको निर्यात बढाउनको लागि सरकारले निर्यातमा सहुलियत, अनुदानदेखि लिएर सबै कुरा सहज र सरल बनाए मात्र नेपाली उत्पादन निर्यातमा सहज हुने उनको भनाई छ ।

‘कार्पेटमा प्रयोग हुने ऊन, अल्लोजस्त कच्चा पदार्थ विदेशबाट ठूलो परिमाणमा आयात हुँदै आएको छ ।’ उनले भने ‘व्यवसायीहरू भने स्वदेशी कच्चा पदार्थ नै प्रयोग गर्न तत्पर रहेको त्यसको लागि सरकारले सहजीकरण गर्नुपर्छ ।’
‘सरकारले कच्चा पदार्थ आयातमा भ्याट लगाएका कारण उत्पादन लागत बढेर गलैँचा महँगो पर्न गयो । विदेशीले हाम्रो गलैँचा त मन पराएका छन्,’ गुरुङ भन्छन्, ‘तर महँगो भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न पनि गाह्रो भएको छ । माग घटेसँगै गलैँचाको निर्यात घट्न थालेको छ ।’

कच्चा पदार्थमा आत्म निर्भर हुनका लागि सरकारले गलैँचा व्यवसायीलाई अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने अध्यक्ष गुरुङ बताउँछन् ।

६० भन्दा बढी मुलुकमा नेपाली गलैँचा

चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा उत्पादित गलैँचा ६० भन्दाबढी मुलुक पुगेको छ । भन्सार विभागका अनुसार अमेरिका, जर्मन, फ्रान्स, यूके, इटाली, चीन, बेल्जियम, यूएई, क्यानडा, अष्ट्रेलिया लगायतका ६३ मुलुकमा गलैँचा निर्यात भएको हो  ।

आठ महिनाको अवधीमा सबैभन्दा बढी गलैँचा निर्यात अमेरिकातर्फ भएको छ । सो अवधीमा अमेरिकातर्फ ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ बराबरको एक लाख २५ हजार वर्गमिटर गलैचाँ निर्यात भएको तथ्यांकले देखाएको छ ।

जुन अघिल्लो आवको तुलनामा करिब ९५ हजार वर्गमिटर कम गलैँचा निर्यात भएको हो । अघिल्लो आव २०८१-८२ को सोही अवधीमा अमेरिकातर्फ ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ बराबरको २ लाख २० हजार वर्गमिटर गलैँचा निर्यात भएको थियो ।

त्यसैगरी, जर्मनतर्फ ३७ करोड ३२ लाख रुपैयाँको १३ हजार वर्गमिटर, फ्रान्सतर्फ ३५ करोड १० लाख रुपैयाँको ८ हजार वर्गमिटर, यूकेतर्फ ३२ करोड २७ लाख रुपैयाँको १२ हजार वर्गमिटर र इटालीतर्फ २६ करोड ७० लाख रुपैयाँको ८ हजार वर्गमिटर गलैँचा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यस्तै, चीनतर्फ १५ करोड ९७ लाख रुपैयाँ, बेल्जियमतर्फ १५ करोड ५२ लाख रुपैयाँ, यूएईतर्फ १२ करोड १६ लाख रुपैयाँ, क्यानडातर्फ १४ करोड १६ लाख रुपैयाँ र अष्ट्रेलियतर्फ ११ करोड ३८ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको हो ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  ०८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।