काठमाडौँ । ग्यास अभावका कारण बजारमा विद्युतीय चुलोमा माग दिनदिनै बढिरहेको छ । मध्यपूर्व युद्ध लम्बिदै जाँदा नेपाल आयल निगमले ग्यासको मूल्य बढाउनुका साथै बजारमा आधा सिलिण्डर मात्र पठाउन थालेको थियो । तर, अहिले आधा सिलिण्डर पनि सहजै पाउन नसकेपछि उपभोक्ताहरु धमाधम विद्युतीय चुलोतिर आकर्षित भइरहेका छन् ।
वैकल्पिक विद्युतीय चुलोतर्फ आम उपभोक्ता पहिलो पटक आकर्षित भएका भने होइनन् । भुइँचालो र नाकाबन्दीको समयमा यो चुलोतर्फ शहरी क्षेत्रका उपभोक्ताको आकर्षण बढेको थियो । अहिले ग्यासको असहज अवस्था सिर्जना भएसँगै फेरि विद्युतीय चुलोको बजारमा एकै पटक ठूलो परिमाणमा माग भएको विक्रेताहरु बताउँछन् ।
कलंकीका इश्वर इलेक्ट्रोनिक्सका सञ्चालक इश्वर पोखरेलले पछिल्लो समयमा विद्युतीय चुलोको माग अत्यधिक बढेको बताएका छन् । मागअनुसार चुलो उपलब्ध नहुँदा धेरै उपभोक्ता फर्केर जाने गरेको उनको भनाइ छ ।
‘पहिले वर्षमा ५–७ वटा मात्रै बिक्री हुने गरेको थियो, तर विगत एक महिनापछि माग अधिक बढेर दैनिक १० देखि १५ जना ग्राहक आइरहेका छन्,’ उनले भने, ‘मागअनुसार उपलब्ध गराउन सकेको छैन, स्टकमा पनि छैन ।’
बजारमा बाल्ट्रा, हुण्डाई, फेमस, हिमस्टार जस्ता ब्रान्डका विद्युतीय चुलोको माग उच्च छ, तर उपलब्धता कम भएर मागअनुसार बिक्री गर्न नपाइएको उनले बताए ।स्थानीय बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि विद्युतीय चुलो बिक्री गर्दै आएको छ । तर कर्पोरेसनमा अत्याधिक मात्रामा माग भने नभएको कर्पोरेसनका उपप्रमुख कार्यकारी अधिकृत कुमार राज भण्डारीले बताएका छन् ।
‘पहिलेको तुलनामा पक्कै पनि केही माग बढेको छ, तर अत्याधिक माग भने बढेको छैन, हामीले पहिलेदेखि नै बिक्री गरिरहेकाले अहिले पनि बिक्री गरिरहेका छौँ,’ उनले भने, ‘जुन बेला ग्यासको अभाव हुन्छ, त्यो बेला मात्रै विकल्पको रूपमा विद्युतीय चुलोलाई सम्झिने भएकाले केही मात्रामा बिक्री बढेको छ । ग्यासको उपलब्धता भएसँगै फेरि यसको खपत र बिक्री दर घट्छ ।’
कर्पोरेसनले बाल्ट्रा ब्रान्डको इन्डक्सन चुलो, त्यसमा लाग्ने प्रेसर कुकर र एक थान कराई उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै, बानेश्वरमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका विकास पौडेलले पहिलेको तुलनामा विद्युतीय चुलोको माग केही मात्रामा बढेको बताउँछन् ।
‘गत वर्षतिर १÷२ वटा मात्र बिक्री हुने हुँदा कम आयात गरियो, अहिले माग बढेको छ ।’ उनले भने, ‘माग अनुसार उपलब्ध भने गराइरहेको छु ।’
उनका अनुसार, इन्डक्सन चुलोभन्दा पनि इन्फ्रारेडको माग बढी आएको छ । इन्डक्सन चुलो किन्दा त्यसमा लाग्ने भाडाकुँडा पनि नयाँ किन्नुपर्ने हुँदा उपभोक्ताहरु इन्फ्रारेड किन्न रुचाएका हुन् ।
इन्डक्सन चुलोमा चुम्बकीय प्रविधिको प्रयोग गरी भाँडोमै सिधै ताप उत्पन्न गरिन्छ, जसले गर्दा ऊर्जा बचत हुने र खाना छिटो पक्ने हुन्छ । तर, यसका लागि फलाम वा स्टिलका विशेष प्रकारका भाँडा आवश्यक पर्ने पाडैलले बताए ।
त्यस्तै, इन्फ्रारेड चुलोमा ताप उत्पादन गर्न रेडिएसनको प्रयोग गरिन्छ र कुनै पनि प्रकारका भाँडा प्रयोग गर्न सकिन्छ । इन्डक्सनभन्दा केही बढी विद्युत खपत हुने भए पनि यसको प्रयोग सजिलो हुने भएकाले धेरैले रोज्ने गरेको उनको भनाई छ ।
घरमा विद्युतीय चुलो हुँदाहुँदै नयाँ बानेश्वरकी प्रमिलाले ग्यास प्रयोग गरिरहेकी छिन् । इन्डक्सनका भाँडाकुँडा महँगो हुँदा ग्यास नै प्रयोग गरेको उनले सुनाइन् ।
‘२-३ लिटरको राम्रो कुकर किन्न खोज्दा ३÷४ हजारभन्दा बढी पर्छ, इन्डक्सनलाई छुट्टाछुट्टै भाँडा चाहिन्छ,’ उनले भनिन्, ‘इन्डक्सन पनि बत्ती नहुँदा काम लाग्दैन । त्यसपछि ग्यास नै चाहिन्छ, त्यही भएर इन्डक्सनका भाँडा नै किनेकी छैन ।’
त्यस्तै, बानेश्वरकै बिपना लम्साल भने अहिले ग्यास पाइदैन भन्ने भएपछि इन्डक्सन चुलो किनेको बताइन् । आफूसँग २ वटा ग्यास सिलिण्डर भए पनि ग्यास पाउन छाडेपछि इलेक्ट्रोनिक्स चुलो किनेको उनले सुनाइन् ।
‘२ वटा सिलिण्डरले ४-५ महिना त पुग्छ, तर त्यति बेला पनि ग्यास पाइदैन भन्ने डरले चुलो किने ।’ उनले भनिन्, ‘ग्यासले पुग्दासम्म त ग्यास नै प्रयोग गर्छु पछि त्यही चुलो पनि पाइदैन भन्ने डरले अहिले नै किने ।’
पेट्रोलियम पदार्थको संकटले विद्युतको माग बढ्ने देखिएको छ । गर्मी महिना सुरू भएसँगै लोड बढेर ट्रान्सफर्मरहरू पड्किने र जल्दै जाने समस्या हुने गरेको छ । तर बिग्रिएका ट्रान्सफर्मर बदल्न प्राधिकरणले गृहकार्य गरिरहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, प्राधिकरणले स्मार्ट मिटर लगायतका प्रविधिको प्रयोग गरी ट्रान्सफर्मरमा ओभरलोड हुन नदिने र जल्दै नजलोस् भनेर प्राविधिक नियन्त्रणको काम भइरहेको प्राधिकरणका सूचना अधिकारी सर्बजित कुमार चौधरीले बताएका छन् ।
उनका अनुसार, बिग्रिसकेका ट्रान्सफर्मरहरूलाई कवाडीमा फाल्नुको सट्टा तिनको तत्काल मर्मतसम्भारलाई तीव्रता दिइएको छ । भविष्यमा हुन सक्ने थप संकटलाई मध्यनजर गर्दै जगेडा राख्न नेपालकै ट्रान्सफर्मर निर्माता कम्पनीहरूबाट जति सकिन्छ, त्यति द्रुत गतिमा खरिद प्रक्रिया अघि बढाइएको छ ।
आठ महिनामा कति भित्रिए ?
पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउन–फागुन) मा नेपालमा एक लाख ४७ हजार वटा विद्युतीय चुलो आयात भएको छ । उक्त परिणामको चुलो आयात गर्दा ३० करोड ४१ लाख रुपैयाँ विदेशिएको छ ।
यसरी आयात भएका विद्युतीय चुलोहरुमा इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलो रहेका छन् । गत आर्थिक वर्षको सोही अवधीमा ३१ करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ५८ हजार वटा विद्युतीय चुलो आयात थियो ।
विभागको तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत, कतार, सिंगापुर, बंगलादेश, मलेसिया लगायत १४ मुलुकबाट यस्ता चुलोहरु आयात गरिएको छ ।
आठ महिनाको अवधीमा चीनबाट २६ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार चुलो आयात भएको छ भने भारतबाट ३ करोड ६४ लाख रुपैयाँ बराबरको २० हजार वटा, बंगलादेशबाट ३१ लख रुपैयाँको १ हजार ५९० वटा र मलेसियाबाट ७ लाख रुपैयाँको ४८ वटा चुलो आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया