काठमाण्डौं । कर्मचारीलाई वितरण गरिने सेयरमा घोटाला गरेका सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याललाई सोमबार पक्राउ गरेको हो ।
प्रिमियम मूल्यमा सर्वसाधारणमा सेयर जारी गर्ने क्रममा कर्मचारीलाई छुट्याएको सेयर वितरण गर्ने क्रममा अर्यालले किर्ते गरी कर्मचारीहरुको सेयर आफुले लिएका थिए । सोही सम्बन्धमा अनुसन्धान गर्नका लागि अर्याललाई पक्राउ गरिएको सिआइबिले जनाएको छ ।
कर्मचारीका लागि छुट्याएको सेयर आफू अनुकुल हुने गरी बाँडफाँड गरेपछि अर्यालका बिरुद्धमा नेपाल धितोपत्र बोर्डमा उजुरी परेको थियो । सो सम्बन्धमा नोटबजारले चरणबद्ध रुपमा समाचारहरु प्रकाशन गरेको थियो ।
धितोपत्र बोर्डले कर्मचारीले पाउनु पर्ने सेयरमा प्रमुख कार्यकारीले गरेको अनियमितताका सम्बन्धमा अनुसन्धान गर्न सिआइबिलाई पत्राचार गरेको थियो । बोर्डले प्रारम्भिक अनुसन्धान गरी सोको प्रतिवेदन समेत सिआइबिमा पठाएकोमा सिआइबिले थप प्रकृया अघि बढाएको थिएन । अहिले सिआइबिले बोर्डको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नका लागि कम्पनीका प्रमुख कार्यकारी अर्याललाई नियन्त्रणमा लिएको हो ।
कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सर्वसाधारणमा बिक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्टयाएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएकार नेपालीका लागि जारी गरेको थियो । त्यसैगरी कुल निष्काशित सेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता समुहिक लगानी कोषलाई बाँडफाँड गरी कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि अंकित मूलयमा बाँडफाँड गरेको थियो ।
कर्मचारीको सेयर बाँडफाँड प्रकृयामा अनियमितता भएको भन्दै बोर्डमा उजुरी परेको थियो । सो पश्चात बोर्डले गरेको अनुसन्धानले प्रमुख कार्यकारीे अर्यालले आफ्नै सेयर माग आवेदनमा किर्ते गरेको, बोर्डमा प्रतिलिपि भनी पेस गरेको फारममा माग गरेको सेयर कित्ता तथा रकम उल्लेख गरेको नदेखिएको तर सक्कल भनी पछि पेस गरेको फारममा सेयर कित्ता तथा रकम उल्लेख गरिएको भेटिएको थियो । बोर्डको प्रतिवेदनमा अर्यालले कर्मचारीलाई खाली फारम भराएको साथै आफैंले भरिदिएको ३८ जनाको शंकास्पद कागजात पहिचान भएको उल्लेख गरेको थियो ।
कम्पनीको सेयर बाँडफाँटका क्रममा अर्यालले आफ्नो र कर्मचारीको आवेदन किर्ते गरी १ लाख ४ हजार ६ सय ५० कित्ता सेयर आफ्नो नाममा कायम गराएको बोर्डले पत्ता लाएको थियो । बोर्डले कर्मचारीको सेयर फेरी बाँडफाँड गर्न निर्देशन दिएको बोर्डले सेयर खरिद आवेदन फारममा झुठा विवरण बनाएकाले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (४) अनुसार कार्वाही सिफारिस गर्दै बोर्डले ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था बमोजिम हदैसम्मको कारबाही गर्न सुझाएको थियो ।
धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले कर्मचारीको सेयर पुन बाँडफाँड गर्यो । तर, प्रमुख कार्यकारी अधिकृत अर्यालले विगतकै गतिविधि दोहोर्याए । पहिलो बाँडफाँडमा एक्लै १ लाख ४ हजार ६५० कित्ता सेयर आफुलाई राखेका अर्यालले दोस्रो पटकको बाँडफाँडबाट आफुलाई ७२ हजार कित्ता सेयर राखे । त्यसपछि पनि यो विवाद साम्य हुन सकेन ।
प्रमूख कार्यकारी अधिकृत र उच्च अधिकारीको मिलेमोतोमा कर्मचारीको सेयरमा अनियमितता भएको धितोपत्र बोर्डले पुष्टि गरेसंगै उच्च अदालत पाटनमा पनि मुद्दा दर्ता भएको थियो । अदालतले सेयर बाँडफाँड प्रकृया यथास्थितीमा राख्न आदेश दिएको थियो ।










प्रतिक्रिया