काठमाडौँ । अब मार्केट बन्द रहेको अवस्थामा पनि अर्डर राख्न पाइने भएको छ । नेप्सेको बिहीबार बसेको सञ्चालक समिति बैठकले सोमबारदेखि लागू गर्ने गरी आफ्टर मार्केट अर्डरको प्रावधान ल्याएको हो ।
अब लगानीकर्ताहरूले बजार बन्द भएपछि अर्को दिनको लागि कारोबार अर्डर राख्दा पछिल्लो कारोबार मूल्यबाट १५ प्रतिशतसम्मको अन्तरमा अर्डर राख्न पाउने नेप्सेमा प्रवक्ता मुराहरी पराजुलीले बताए ।
बजार बन्द भएपछि (सामान्यतया दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ११ बजेसम्म) राखिने सेयर खरिद वा बिक्रीको आदेशलाई ’आफ्टर मार्केट अर्डर’ भनिन्छ । यो अर्डर अर्को दिन बजार खुल्ने बित्तिकै प्रणालीमा प्रविष्ट हुन्छ ।
अब भने लगानीकर्ताले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यलाई आधार मानी १५ प्रतिशत महँगो वा १५ प्रतिशत सस्तो सम्मको मूल्य राखेर अर्डर पोस्ट गर्न सक्नेछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनको प्रस्तावलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृत गरी पठाएको पत्रमा ‘नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले कारोबार सदस्यको प्रणालीमा कारोबारका लागि आदेश दिएमा त्यस्तो आदेशलाइ सम्बन्धित कारोबार सदस्यले समय प्राथमिकता क्रममा राख्ने व्यवस्था गरी कारोबार समय सुरु हुनासाथ नियमअनुसार सीमाभित्र भएका आदेश नेप्सेको प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ,’ भनिएको छ ।
यसअनुसार अब खरिद वा बिक्री गर्न चाहेको कम्पनीको पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत भन्दा घटी वा बढी नहुनेगरी मार्केट बन्द भएको समयमा पनि अर्डर राख्ने मिल्नेछ ।










प्रतिक्रिया