काठमाडौँ । सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । बजारमा अभावसँगै मूल्य पनि अस्वभाविक बढेको हो ।
आन्तरिक उत्पादनले माग धान्न नसक्दा र आपूर्ती शृंखला खलबलिँदा केराको थोक मूल्य नै बढेको देखिएको छ । ‘टीआर–फोर’ रोगको जोखिम देखाउँदै सरकारले आयात रोकेपछि बजारमा आपूर्ति घटेको र अभाव सिर्जना भएको हो । गतको असोज महिनादेखि नेपालमा केरा आयात कानुनी रुपमा बन्द गरिएको छ ।
नेपाली केरा उद्योगलाई प्रबद्र्धन गर्नकै लागि आयात बन्द गरिएको सरकारको दाबी छ । नेपाल केरामा आत्मनिर्भर छ भनिए पनि गैरकानुनी रुपमा भन्सारछली गरी ठूलो परिणाममा भारतीय केरा आयात भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गतवर्ष २०८२ बैशाख ६ गते केराको थोक मूल्य प्रतिदर्जन १५० रुपैयाँ रहेकोमा अहिले बढेर २५० रुपैयाँ पुगेको छ । थोक बजारको यो वृद्धिले खुद्रा बजारलाई झनै प्रभावित पारेको छ । हाल उपभोक्ताले एक दर्जन केराका लागि ३०० देखि ३५० रुपैयाँसम्म तिर्नु परिरहेको छ ।
बानेश्वर स्थित तरकारी बजारमा फलफुल किन्न पुगेकी मीरा केराको मूल्य सुनेर तर्सिएको बताइन् । ‘अन्य फलफुलको तुलनामा केरा सस्तो पर्छ भनेर किन्न आएको अहिले त केरा नै सबैभन्दा महँगो छ ।’ उनले भनिन्, ‘मैले त केराको मूल्य महँगो भएर अरु नै फलफुल किने अन्य फलफुल पनि उत्तिकै महँगो छ ।’
फलफुल पसलका व्यापारीले पनि आयातमा लगाइएको रोकका कारण बजारमा केराको चरम अभाव भएको बताएका छन् । ‘अहिले बजारमा राम्रो केरा पाउनै गाह्रो छ, अवैध रुपमा भित्रिएका भारतीय केरा फाट्टफुट्ट भेटिए पनि मूल्य छोइसक्नु छैन,’ उनले भने, ‘अब फलफुल व्यापार गर्नै नसकिने भैयो ।’
बजारमा मागको तुलनामा आपूर्ती घटेका कारण मूल्य अकासिएको थोक फलफूल व्यवसायी संघका उपाध्यक्ष पुरुषोतम घिमिरे बताउँछन् । ‘केरा आयातमा प्रतिबन्ध लागेको छ, तर स्वदेशी केराले माग धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले बजारमा अभाव भएकाले मूल्यमा चाप परेको हो ।’
उनका अनुसार, पहिले भन्सार बिन्दुमा विषादी जाँच भएर मात्र केरा आउँथ्यो, अहिले रातारात यात्रुवाहक बसमा हालेर ल्याइएका केराको कुनै चेकजाँच भएको छैन, यो त सिधै मानिसको स्वास्थ्यमाथिको गम्भीर खेलबाड हो ।
मागभन्दा आपूर्ती थोरै हुँदा बढेको मूल्यको लाभ किसानले भने पाएका छैनन् । केरा उत्पादक महासंघले हाल किसानको बारीबाट स्थानीय जातको (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँ र हाइब्रिड केरा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको जनाएको छ । तर, त्यही केरा उपभोक्तासम्म पुग्दा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुग्ने गरेको छ । यसले बजारमा बिचौलियाको डरलाग्दो सक्रियता प्रष्ट पारेको महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए ।
‘बारीमा किसानले धेरै मूल्यमा केरा बिक्री गरेकै छैनन् । औसतमा प्रतिदर्जन ८५/९० रुपैयाँ पाउने हो,’ उनले भने, ‘तर, बजारमा भने मूल्य अकासिएको देख्दा अचम्म लागेको छ ।’ स्वदेशी केरालाई धराशयी बनाउने अभिप्रायले नियोजित रुपमा मूल्य बढाइएको उनको भनाइ छ ।
‘टिआर–फोर’ नामक रोग नियन्त्रणका लागि सरकारले गत २ असोजदेखि केरा आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धविरुद्ध केही व्यवसायीहरू संगठित रूपमै उत्रेर स्वदेशी किसानलाई अप्ठ्यारोमा पार्न खोजेको उनको बुझाइ छ ।
उनका अनुसार, भारतबाट आयात भएको केरामा भाइरस देखिएपछि केही समयअघि चितवनमा स्वदेशी केराको बोट नै नष्ट गर्ने अभियानसमेत थालिएको थियो । नयाँ रोग भित्रिन नदिन र स्वदेशी केरालाई प्रवद्र्धन गर्न आयात प्रतिबन्धको निर्णय स्वागतयोग्य भएको छ । तर, सरकारले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने गरी लिएको नीतिलाई जोगाइराख्नु पर्ने अध्यक्ष पन्तको भनाई छ ।
अध्यक्ष पन्तले वैशाख, जेठ र असार महिना नेपाली केरा कम उत्पादन हुने समय भएकाले बजारमा २० प्रतिशत जति अभाव देखिएको स्वीकारे । तर, यही २० प्रतिशत अभावको बाहानामा भारतीय केरा ल्याएर स्वदेशी उत्पादन सिध्याउने खेल भइरहेको उनको बुझाई छ ।
पछिल्लो समय बजारमा फलफूल र तरकारीको मूल्यमा भएको अस्वाभाविक वृद्धिले उपभोक्ताहरू चरम मर्कामा परेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । आम्दानीको स्रोत सीमित भएका उपभोक्ता महँगीबाट निकै आक्रान्त बनेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।
उनका अनुसार, सरकारले कुनै पनि निर्णय गर्दा परिपक्व निर्णय लिनुपर्ने, बजारलाई निश्चित समूहको कब्जामा जान दिन नहुने र उपभोक्ताको हक तथा स्वास्थ्यका लागि सदैव तत्पर रहनुपर्ने छ । स्वदेशी उत्पादनको केरा खेतीलाई बचाउने नाममा उपभोक्तालाई मार पार्न नहुने उनले बताए ।
नेपालमा मुख्यतया तराई क्षेत्रका साथसाथै भित्री मधेस र पहाडका बेसीहरूमा केरा खेती गरिन्छ । हाल नेपालमा चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, झापा, दाङ, रुपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा व्यावसायिक रूपमा केरा खेती भइरहेको छ ।
केरा आयातको पाँच वर्षे तथ्यांक
मुलुकमा वार्षिक करोडौँ रुपैयाँको केरा आयात हुने भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ७६ करोड ५५ लाख ६० हजार रुपैयाँको १९ हजार ४४१ टन केरा आयात भएको छ ।
चालु आवमा पहिलो ३ महिना निरन्तर आयात भएको छ भने कात्तिकबाट आयात ठप्प नै देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३० करोड २२ लाख रुपैयाँको ५६ हजार ७६२ टन केरा आयात भएको थियो ।
अघिल्लो गत आव २०८०/८१ मा २ अर्ब ६५ करोड ८ लाख रुपैयाँको ६३ हजार ७१४ टन केरा आयात हुँदा आव २०७९/८० मा १ अर्ब ६२ करोड ७३ लाख रुपैयाँको ५३ हजार ३९४ टन आयात भएको छ भने आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ६३ करोड ७१ लाख रुपैयाँको ६६ हजार २०१ टन केरा आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ










प्रतिक्रिया