जलवायु परिवर्तनले घट्दै यार्सागुम्बा उत्पादन, निर्यातमा पनि गिरावट


काठमाडौँ । ‘हिमाली सुन’ को रुपमा मानिने यार्सागुम्बाको उत्पादन पछिल्लो समय घट्दै गएको छ । जलवायु परिवर्तनको कारण यार्सागुम्बा उत्पादन घट्दै गएको हो ।

यार्सागुम्बा नेपालको उच्च हिमाली क्षेत्रमा पाइने अत्यन्त महत्त्वपूर्ण औषधिजन्य वनस्पति हो । यो समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने पाइन्छ । यसको औषधीय गुणका कारण अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेको छ ।

तर, पछिल्ला वर्षहरूमा उत्पादनमा आएको गिरावटले नेपालबाट हुने यार्सागुम्बा निर्यात पनि वर्षेनी घट्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ३९४ किलो ग्राम यार्सागुम्बा २४ करोड ९९ लाख रुपैयाँमा निर्यात भएको छ । यो निर्यात विगत पाँच वर्षयताकै न्यून हो । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४८५ किलोग्राम यार्सा २० करोड २८ लाख रुपैयाँमा निर्यात भएको थियो ।

यार्सागुम्बाको उत्पादन घट्दै गएका कारण निर्यातमा पनि गिरावट आउँदै गएको नेपाल यार्सागुम्बा संघका अध्यक्ष निरञ्जनबहादुर चलाउनेले जानकारी दिए ।

जलवायु परिवर्तनको असरले हिमालमा विगतमा जस्तो हिउँ नपर्ने भएकाले उत्पादन घटेको उनले बताए । उत्पादन नै घटेपछि संकलनसमेत घटेको र त्यसको असर निर्यातमा परेको उनको भनाइ छ ।

वातावरणीय तथा जलवायु परिवर्तनले यार्सा उत्पादनलाई असर गर्ने उनी बताउँछन् । यसको संरक्षण र उत्पादन वृद्धिमा सरकारले उचित कदम चाल्नुपर्ने चलाउनेको भनाई छ ।

उत्पादनमा भन्दा पनि नेपाली यार्सा चोरीको बाटोबाट बढी बाहिर गएकाले वास्तविक निर्यातमा कमी देखिएको हो ।

पछिल्लो समय चीन र भारतले वातावरण अनुकूल बनाएर नेपालको जस्तै यार्सा उत्पादन गर्न थालेको चलाउनेको दाबी छ । ‘कृत्रिम रूपमा उत्पादन गरेर ती मुलुकहरू ठूला यार्सागुम्बा निर्यातकर्ता बनिसकेकाले उनीहरूले निकट भविष्यमै नेपाली यार्सागुम्बा निर्यातको बजारमा प्रभाव पार्न सक्ने खतरा छ,’ अध्यक्ष चलाउनेले भने ।

‘खास गरी यार्सा उत्पादन हिमाली भेगमा हुने भएकाले यसको उत्पादन राम्रो हुनका लागि हिमालमा हिउँ पर्नुपर्छ । तर जलवायु परिवर्तनका कारण पछिल्लो समय हिमालमा हिउँ पर्ने क्रम कम भएको छ । जसले गर्दा उत्पादनमा असर पर्न गएको हो,’ उनले भने ‘उत्पादन वृद्धि गरी निर्यात प्रवद्र्धन गर्न सरकारले पनि यसको संरक्षण र उत्पादन वृद्धि तर्फ ध्यान दिनु जरुरी छ ।’
नेपालबाट सबैभन्दा बढी यार्सागुम्बा निर्यात चीनतर्फ हुने गरेको थियो । तर पछिल्लो समय चीनतर्फ खासै निर्यात नभएको दार्जुलाका यार्सागुम्बा बिक्रेता राजु अवस्थी बताउँछन् ।

‘नेपाली यार्सागुम्बा उत्पादनमा केही मात्रामा कमी आएको छ ।’ उनले भने, ‘उत्पादनमा भन्दा पनि नेपाली यार्सा चोरीको बाटोबाट बढी बाहिर गएकाले वास्तविक निर्यातमा कमी देखिएको हो ।’

नेपालको छिमेकी मूलुकसँग खुल्ला सिमाना भएका कारण सजिलैसँग चोरी पैठारी हुने हुँदा त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।

अव्यवस्थित रूपमा टिप्ने, जलवायु परिवर्तन र मानवीय क्रियाकलापले उत्पादन क्षेत्र प्रदूषित हुँदा यार्साको उत्पादन क्षमतामा बर्सेनि ह्रास आइरहेको उनी बताउँछन् ।

निर्यात ५ वर्ष यता कै कम

चालू आर्थिक वर्षको ९ महिनामा पछिल्लो ५ वर्षकै कम यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा अघिल्ला ५ आर्थिक वर्षको सोही अवधिको तुलनामा परिणामको हिसाबले सबैभन्दा कम यार्सागुम्बा निर्यात गरेको हो ।

विभागका अनुसार नेपालबाट चालु आवको ९ महिनामा २४ करोड ९९ लाख रुपैयाँको ३९४ किलो ग्राम यार्सागुम्बा निर्यात भएको छ । जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीको तुलनामा ९१ किलोग्राम कम हो । गत आवको नौ महिनामा २० करोड २८ लाख रुपैयाँको ४८५ किलोग्राम यार्सा निर्यात भएको थियो ।

त्यसैगरी, अघिल्लो आव २०८०/८१ मा ६२ करोड ५८ लाख रुपैयाँमा एक हजार २८५ किलोग्राम निर्यात भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३९ करोड २५ लाख रुपैयाँको ६०८ किलोग्राम र आव २०७८/७९ मा २८ करोड १६ लाख रुपैयाँको ४५६ किलोग्राम निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

दर्जन बढी मुलुकमा निर्यात

चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट एक दर्जनभन्दा बढी मुलुकमा नेपाली यार्सा निर्यात भएको छ । नेपाली यार्सागुम्बा सबैभन्दा बढी हङकङतर्फ निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।

नौँ महिनाको अवधीमा हङकङतर्फ १६ करोड ८५ लाख रुपैयाँको २४८ किलोग्राम यार्सा निर्यात भएको छ । त्यसैगरी, यूकेतर्फ एक करोड ८९ लाख रुपैयाँ बराबरको २४ किलोग्राम, अमेरिकातर्फ एक करोड ४० लाख रुपैयाँको २२ किलोग्राम, भियतनामतर्फ एक करोड १३ लाख रुपैयाँको ४० किलोग्राम र साउथ कोरियातर्फ एक करोड ६ लाख रुपैयाँको १० किलोग्राम निर्यात भएको छ ।

त्यस्तै, सिंगापुर, चीन, स्वीजरल्याण्ड, मलेसिया, भुटान, लाओ, क्यानडालगायतका मुलुकमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।