बैंक तथा वित्तीय संस्थाहरुले अपेक्षित रुपमा कर्जा लगानी गर्न नसकिरहेको अवस्थामा अधिकांश बैंक वित्तीय संस्थाको वित्तीय प्रतिवेदनमा त्यसको असर देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विबरण सार्वजनिक गरेको सिटिजन्स बैंक इन्टरनेशनलको पनि व्याज आम्दानी प्रभावित भएको वित्तीय विबरण सार्वजनिक भएको छ । यद्यपी इम्पेरिमेन्ट चार्जमा कम रकमको व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भने बढेको वित्तीय विबरणले देखाएको छ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९६ करोड १९ लाख हाराहारी खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको व्याज आम्दानीमा सामान्य गिरावट आए पनि अन्य सूचकमा देखिएको सहजताका कारण खुद नाफामा बढोत्तरी देखिएको हो ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ११ अर्ब २७ करोड ३३ लाख रुपैयाँ व्याज आम्दानी गरी ६ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ व्याज खर्च गर्दा ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
गत वर्षको यसै अवधिमा बैंकले १३ अर्ब १३ करोड ४४ लाख रुपैयाँ व्याज आम्दानी गरी ८ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ व्याज खर्च गर्दा ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ७ करोड १ लाख रुपैयाँले घटेको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ८१ करोड २२ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा ४ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ४५ करोड १ लाख रुपैयाँ कर्मचारीको तलब, भत्ता तथा सेवा सुविधामा खर्चिएको बैंकले यस पटक १ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । अन्य खर्चहरु समायोजन पश्चात बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।
यो अवधिमा बैंकको इम्पेरिमेण्ट चार्जमा छुट्याउनुपर्ने रकमको आकार घटेपछि बैंकको सञ्चालन मुनाफा बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले इम्पेरिमेण्ट चार्ज वापत २ अर्ब १६ करोड ४० लाख रुपैयाँ छुट्याएकोमा यस पटक १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मात्र छुट्याएको छ ।
योसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ २३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा तथा मूल्य आम्दानी अनुपात १८.७१ गूणाले बढी छ । १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी तथा ७ अर्ब १३ करोड ५२ लाख रुपैयाँको जगेडा सञ्चित रहेको बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक भएको छ । बैंकले सबै नियामकीय जगेडाहरु सञ्चित गरेपछि बैंकको वितरणयोग्य मुनाफा ५० करोड ४४ लाख ५४ हजार रुपैयाँले ऋणात्मक भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड २६ लाख २१ हजार रुपैयाँले धनात्मक थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको निष्कृय कर्जा अनुपात ६.८२ प्रतिशत छ भने पुँजीकेष अनुपात १२.४५ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८२.१८ प्रतिशत रहेको बैंकको आधार दर ५.२७ प्रतिशत छ भने कोषको लागत ३.५४ प्रतिशत रहेको छ ।












प्रतिक्रिया