काठमाडौँ । वाणिज्य बैंकहरुले सेयर धितो कर्जामा लगानी बढाएका छन् । अन्य क्षेत्रहरुको कर्जा विस्तार सुस्ताइरहेको अवस्थामा सेयर धितो कर्जा भने ३४.५५ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले १ खर्ब ३६ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरुले गत वर्षको सोही अवधिसम्म १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ सेयर लोन दिएका थिए ।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै सेयर कर्जा दिने बैंकमा नबिल रहेको छ ।
चालु आर्थिक वर्षको चैतसम्म नबिल बैंकले १७ अर्ब ४० करोड ८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको चैतसम्मको तुलनामा १९.९५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष चैतसम्ममा बैंकले १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ सेयर कर्जा दिएको थियो ।
दोस्रो धेरै सेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष चैतसम्म ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ सेयर कर्जा दिएको बैंकले समीक्षा अवधिसम्म १७.८५ प्रतिशतले बढाएर १३ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ ।
कुमारी बैंक सेयर धितो कर्जा धेरै दिनेहरुको तेस्रो स्थानमा रहेको छ । कुमारीले चालु वर्षको चैतसम्म १० अर्ब ९३ करोड रुपैयाँ सेयर कर्जा दिएको छ । अघिल्लो वर्ष चैतसम्ममा बैंकले ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको सेयर कर्जा १९.५९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म सबैभन्दा कम सेयर कर्जा दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकले ५६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षमा उक्त बैंकले ६१ करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह ८.६५ प्रतिशतले घटेको हो ।
यता, नेपाल बैंकको १५.०९ प्रतिशतले घटेको छ । नेपाल बैंकले चालु आवको ९ मपहनामा ६ अर्ब ६४ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७६ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यता, चालु आवको ९ महिनामा सिटिजन्स बैंकको सेयर धितो प्रवाह ५ अर्ब ८८ करोड ९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४.०२ प्रतिशतले कम हो ।
ठुला कर्जाको हिस्सा सबैभन्दा धेरै
चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा मात्रै बैंकहरूले १८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ थप शेयर धितो कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकका अनुसार १ करोड रुपैयाँभन्दा माथिका ठुला कर्जाको हिस्सा सबैभन्दा ठुलो देखिएको छ भने प्रतिशतका आधारमा भने साना कर्जाको वृद्धिदर बढी छ।
१ सन् २०२६ को अप्रिलसम्ममा यस शीर्षकमा १ खर्ब ९ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। गत असारमा यो रकम ९८ अर्ब ९२ करोड ७९ लाख थियो। ९ महिनाको अवधिमा यसमा ११ अर्ब २ करोड ६१ लाख रुपैयाँ (११.१ प्रतिशत) ले वृद्धि भएको छ। कुल शेयर धितो कर्जामा यो वर्गको हिस्सा झण्डै ६९ प्रतिशत रहेको छ।
यता, २५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जाको वृद्धिदर सबैभन्दा उच्च छ । गत असारमा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेको यस्तो कर्जा चैत मसान्तसम्म आइपुग्दा १२ अर्ब ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । जुन ४७.२ प्रतिशतको वृद्धि हो ।
९ महिनामा साना लगानीकर्ताले ३ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ थप कर्जा लिएका छन् । यसले बजारमा साना तथा नयाँ लगानीकर्ता प्रवेश गरेको प्रष्ट्याएको छ ।
यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १४ प्रतिशतले बढेर १८ अर्ब २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९.५ प्रतिशतले वृद्धि भई १९ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।










प्रतिक्रिया