सुन आयातमा भन्सार कर बढाउन व्यवसायीहरुको माग


काठमाडौँ । भारतमा सुन आयातमा लाग्ने भन्सार दर बढेसँगै व्यवसायीहरुले नेपालमा पनि बढाउन माग गरेका छन् ।

भारत सरकारले सुन, चाँदी जस्ता बहुमूल्य धातु आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएपछि नेपालमा पनि भन्सार दर बढाउनुपर्ने जानकारहरुले बताएका छन् ।

तस्करीको जोखिम बढ्न सक्ने भन्दै व्यवसायीले नेपालमा पनि कर समायोजन गरेर भारतको हाराहारी पुर्याउन सरकारसँग आग्रह गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत कर बढाएर १० प्रतिशत पुर्याउँदा व्यवसायीहरुले कर घटाउन आन्दोलन गर्दै आएका थिए । तर भारतले कर बढाएपछि भने कर बढाउँन सरकारलाई आग्रह गरेको हो ।

भारतमा भन्सार दर बढेपछि नेपाल र भारतबीच सुनको मूल्यमा देखिएको ठुलो अन्तर नै अहिलेको मुख्य चिन्ताको विषय बनेको छ । नेपालमा सुन आयात गर्दा भन्सार विन्दुमा १० प्रतिशत महसुल बुझाउनुपर्ने व्यवस्था छ भने भारतमा १५ प्रतिशत पुगेको छ । महसुलमा देखिएको यो ५ प्रतिशतको भिन्नताका कारण नेपाली बजारमा सुन भारतको तुलनामा सुन सस्तो हुन पुगेको छ ।
भारत विश्वकै सबैभन्दा धेरै सुन आयात गर्ने देशहरू मध्येमा पर्दछ । भारतमा उच्च मूल्यबाट लाभ लिन नेपाल हुँदै खुला सीमामार्फत भारतमा सुन तस्करी बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कर समायोजनका लागि गत बुधबार अर्थ मन्त्रालयअन्तर्गतको राजस्व परामर्श समितिलाई लिखित रूपमा सुझाव पेश गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छिमेकी मुलुक भारतले भन्सार शुल्क १५ प्रतिशत पुर्याएपछि नेपालमा कर कम हुँदा यहाँको सुन भारततर्फ तस्करी हुने जोखिम बढ्ने र उपभोक्ताले मात्रै नभई व्यवसायीले समेत सुन नपाउने अवस्था सृजना हुने महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।

उनका अनुसार, बजार सन्तुलन कायम राख्न नेपालले पनि कर वृद्धि गर्नुपर्छ । भारतको भन्दा नेपालमा सुन आयात कर १ प्रतिशत मात्रै धेरै भए पनि तस्करी हुने खतरा कम हुन्छ । त्यसैले यथाशीघ्र अहिले सुन आयातमा लाग्दै आएको १० प्रतिशतको कर वृद्धि गरेर १५/१६ प्रतिशत पुर्याउन सुझाव दिएको उनको भनाई छ ।

हाल बजारमा सुनको मूल्य अत्यधिक बढेका कारण कारोबार भने निकै सुस्त रहेको उनले बताए । व्यापार नभएका कारण आयात पनि कम भएको छ । आगामी बजेटमा व्यवसायीले सिजनको समयमा आवश्यकता अनुसार सुन मगाउन पाउने गरी वार्षिक सिलिङ राखेर दैनिक कोटा बढाउनुपर्ने कुरा समेत माग राखेका छन् ।

व्यवसायीहरूले आगामी बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर पुनरवलोकन गर्ने अपेक्षा गरेका छन् । उनीहरूका अनुसार भारतसँग समानान्तर नीति नल्याए विदेशी मुद्रा सञ्चिति, राजस्व संकलन तथा बजार व्यवस्थापनमा असर पर्न सक्छ । यद्यपि, चाँदी तथा अन्य बहुमूल्य धातुमा भने नेपाल र भारतबीच कर संरचनामा धेरै ठूलो अन्तर नरहेको व्यवसायीहरूको भनाइ छ ।

भारतको नीतिगत परिवर्तनपछि नेपालले पनि सोही अनुसारको नीति लिनुपर्ने महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।

‘भारत र नेपालबीच खुल्ला सिमाना भएका कारण यहाँ भन्सार सस्तो भयो भने नेपालको डलर खर्चिएर आएको सुन भारततर्फ तस्करी हुने जोखिम रहन्छ ।’ उनले भने, तस्करी रोक्नका लागि पनि भारतसँग समान वा त्योभन्दा बढी भन्सार राख्नुपर्ने हाम्रो माग हो ।’

उनका अनुसार, भारतको यो नीतिगत निर्णयले नेपाललाई केवल सुनको मूल्यमा सस्तो अवसर मात्र नभई एउटा गम्भीर आर्थिक र सुरक्षा चुनौती पनि थपिदिएको छ ।

विशेष गरी पश्चिम एशियामा बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा अस्थिरता आएको र अन्तरराष्ट्रिय ढुवानी मार्ग प्रभावित भइरहेका बेला भारतजस्तो ठूलो तेल आयातकर्ता देश थप दबाबमा परेको उल्लेख गरिएको छ । केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई सुनचाँदीका गरगहनाको प्रयोग कम गर्न आग्रह गरेका थिए । साथै चाँदी आयातमा कडाई गरेको छ । यसअघि भारतमा चाँदी सजिलै आयात गर्ने गरिएको थियो ।

नेपालमा विशेषरी दुबई, कंगो, हङकङ र सिंगापुर लगायतका मुलुकबाट सुन आयात हुने गर्छ । भारतले पनि तिनै देशबाट सुन आयात गर्ने हुनाले दुई देशबिचको मूल्यमा धेरै मूल्यको अन्तर पर्दा अवैध कारोबार बढ्ने व्यवसायीको चिन्ता रहेको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार  ०७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।