‘पोलिसीहोल्डर’को पैसा सेयर बजारतिर : ९ महिनामा बीमा कम्पनीहरूले थपे १६ अर्बको ‘पोर्टफोलियो’


काठमाडौँ । बीमा कम्पनीहरूले सर्वसाधारण (पोलिसीहोल्डर) बाट संकलन गरेको प्रिमियम रकमलाई सेयर बजारमा परिचालन गर्ने क्रम तीव्र बनाएका छन् ।

बजारको सस्तो मूल्यको फाइदा उठाउँदै कम्पनीहरूले जोखिम न्यूनीकरण र दीर्घकालीन प्रतिफलका लागि सेयर बजारमा लगानी आक्रामक बनाएका हुन् ।

यसअघि कुल लगानीको ठूलो हिस्सा बैंकको मुद्दती निक्षेपमा राख्दै आएका बीमा कम्पनीहरूले पछिल्लो समय लगानी विविधीकरणको नीति लिएका छन् ।

बैंकहरूको ब्याजदर एकल अंकमा झरेपछि ‘पोलिसीहोल्डर’लाई दिनुपर्ने ’बोनस दर’ सुरक्षित गर्न र कम्पनीको खुद नाफा बढाउन सेयर बजार एक उपयुक्त विकल्प बनेको छ ।

बीमा कम्पनीहरुले (जीवन, निर्जीवन र पुनर्बीमा) ले एक वर्षमा सेयर बजारमा १६ अर्ब ४० करोड २१ लाख रुपैयाँ थपेका छन् ।
उक्त कम्पनीहरुले सेयर बजारमा ४०.९२ प्रतिशतले लगानी बढाएका हुन् । नौ महिनाको अवधिमा कम्पनीहरुले सेयर बजारमा ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेका हुन् ।

गत आर्थिक वर्षको चैतसम्म यी कम्पनीहरुले सेयर बजारमा ४० अर्ब ८ करोड रुपैयाँ लगानी गरेका थिए ।

चैतसम्म यी कम्पनीको कुल लगानी ९ खर्ब ७५ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुगेकामा उनीहरुले त्यसको ५.७९ प्रतिशत रकम सेयर बजारमा लगानी गरेका छन् ।

बैंकहरुको मुद्दती निक्षेपको व्याजदर न्यून भएकोले बीमा कम्पनीहरु अरु क्षेत्रका अरु क्षेत्रमा आकर्षित भएको आइएमइ लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदिप रानाले बताउँछन् । बैंकहरुको मुद्दती निक्षेपमा केही वर्ष अघिसम्म ११ देखि १३ प्रतिशतसम्मको व्याजदरमा लगानी गरेका बीमा कम्पनीहरुले अब ३ प्रतिशतमा लगानी गर्नुपर्ने अवस्था आएकाले विकल्पमा सेयर बजार परेको उनको भनाइ छ ।

रानाले भने, “बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमको ठूलो हिस्सा बैंकको मुद्दती तथा बचत निक्षेपमा लगानी गर्ने गरेका थिए । यसले गर्दा समयावधी पुगेर मुद्दती निक्षेपबाट लगानी झिक्नुपर्ने वा नविकरण गनुपर्ने बेला नविकरण नगरी त्यो पैसा अन्य सेक्टरमा लगाउन थाले । ”

वैकहरुको व्याजदर घट्दा बीमा कम्पनीहरुले सेयर बजारमा लगानी बढाउन थालेको प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवदी बताउँछन् । “केही समयसम्म बैंकहरुको मुद्दती निक्षेपममा मात्र लगानी धेरै थियो । अब अन्य क्षेत्रमा पनि जान थाल्यो” उनले भने ।

यस्तै, बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा लगानी गर्नको लागि बाटो खुला गरिदिएको पनि उनले बताए । प्राधिकरणका कार्यकारी निर्देशक सुवदीले भने, “हामीले वैकल्पिक क्षेत्र र पूर्वाधार क्षेत्रतिर लगानी गर्न भनिरहेका छौँ । बीमा कम्पनीहरुले सेयर बजारतर्फ विस्तारै गइरहेका छन् । अब अन्य क्षेत्रमा पनि लगानी बढ्छ ।”

बीमा कम्पनीहरु वैकल्पिक क्षेत्रमा जान नसक्ने बताउँदै उनले बीमा कम्पनीहरुले १० प्रतिशत लगानी बाह्य क्षेत्रमा गर्न पाउने भनेतापनि त्यसो हुन नसकेको निर्देशक सुवेदी बताउँछन् ।

जीवन बीमा कम्पनी : कुन कम्पनीले कति गरे सेयरमा लगानी ?

बीमा कम्पनीहरुले कुल ५६ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ लगानी गरेकामा जीवन बीमा कम्पनीले मात्र ४६ अर्बभन्दा बढी लगानी गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी गरेका हुन् ।

जसमा हिमालयन लाइफले सबैभन्दा धेरै लगानी गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा हिमालयन लाइफले सेयर बजारमा १२ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।

सेयर बजारमा दोस्रो धेरै लगानी भित्र्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म सेयर बजारमा ६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सेयर बजारमा लगानी ४ अर्ब ८८ करोड रुपैयाँ मात्रै रहेको थियो ।

त्यसैगरी चालु आवको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफले सेयर बजारमा लगानी ५ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९०.६५ प्रतिशत बढी हो ।

यस्तै, एलआईसी नेपालले २९ प्रतिशतले बढाएर ३ अर्ब १३ करोड लगानी गरेको छ भने नेशनल लाइफले सेयरमा लगानी १२७ प्रतिशतबाट बढाएर ३ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

यता, आइएमई लाइफले २ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्दा रिलायबल नेपाल लाइफले २ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांकलाई आधार मान्दा क्रमशः ११३ र ११० प्रतिशत बढी हो ।

यसैगरी, प्रभु महालक्ष्मी लाइफले सेयर बजारमा लगानी ३९ प्रतिशतले बढाएर २ अर्ब ३३ करोड र सानिमा रिलायन्स लाइफले १६१ प्रतिशतले बढाएर २ अर्ब ७ करोड रुपैयाँ पुर्याएका छन् ।

यता, समिक्षा अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले भने सेयर बजार लगानी घटाएका छन् । सन् नेपाल लाइफले सेयर बजारमा लगानी १ अर्ब ५९ करोडमा खुम्चाएका छन् भने राष्ट्रिय जीवन बीमाले ६७ करोड रुपैयाँमा सिमित पारेको छ । जुन गत वर्षको भन्दा क्रमशः ७.७८ र ६८ प्रतिशतले कम हो ।

निर्जीवन बीमा कम्पनी : कुन कम्पनीले कति गरे सेयरमा लगानी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब बढी रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

प्राधिकरणका अनुसार, निर्जीवन बीमा कम्पनीहरुले सेयर बजारमा लगानी १९.७४ प्रतिशतले बढाएर ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ पुर्याएका हुन् । गत वर्षको सोही अवधिसम्म कम्पनीले पुँजी बजारमा चार अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।

चैत मसान्तसम्म राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुले साधारण सेयरमा सबैभन्दा बढी लगानी गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण सेयरमा ७९ करोड ४१ रुपैयाँ लगानी गरेका छ् । कम्पनीले गत वर्ष पनि सेयर बजारमा त्यती नै रकम लगानी गरेको थियो ।

यता, लगानी बढाउनेमा भने पहिलो स्थानमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । जसको वृद्धि १८९.८४ प्रतिशतले बढी छ । कम्पनीले ४७ करोड १५ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको सेयर खरिद गरेको छ ।

लगानी वृद्धिको हिसावले दास्रो स्थानमा रहेको हिमालयन एभरेष्टले ४९ करोड ७२ लाख रुपैयाँ लगानी गरेको पाइएको छ । जुन गत वर्षको भन्दा ६९.७६ प्रतिशतले बढी हो ।

यता, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ३६ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण सेयर खरिद गरेको छ । कम्पनीले गत आवको तुलनामा सेयर बजारको लगानी ५४.३० प्रतिशतले बढाएको हो ।

नेकोे इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ लगानी गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५८ करोड ५५ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँको सेयर खरिद गरेका छन् ।

यता, नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख र एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

गत आर्थिक वर्षको तुलनामा सानिमा जिआईसिले २.८५ प्रतिशत , शिखर इन्स्योरेन्स ११. २४ प्रतिशत र प्रभु इन्स्योरेन्सले २४.१ प्रतिशत लगानी घटाएका छन् ।

जीवन बीमा कम्पनी : कुन कम्पनीको लगानी कति

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म अर्थात् साउनदेखि चैतसम्म १४ वटा जीवन बीमकले ८ खर्ब ७५ अर्ब २४ करोड ५३ लाख रुपैयाँ लगानी गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको लगानी १५.५६ प्रतिशतले लगानी बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ लगानी गरेका थिए ।

जसमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ । नेपाल लाइफले तेस्रो त्रैमाससम्म २ खर्ब ४५ अर्ब ९० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । उक्त कम्पनीले विभिन्न क्षेत्रमा १ खर्ब २८ अर्ब ९६ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।

यता, ९ महिनाको अवधिमा हिमालयन लाइफले ८७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ भने नेसनल लाइफले ७८ अर्ब ४८ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन् ।

यसैगरी विभिन्न क्षेत्रमा राष्ट्रिय बीमा कम्पनीले ६६ अर्ब ३५ करोड २४ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ५१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ३४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले २८ अर्ब ९ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।

यसैगरी, सानिमा रिलायन्स लाइफले २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २२ अर्ब ८० करोड १५ लाख रुपैयाँ, आइएमई लाइफले २० अर्ब ७१ करोड ५३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २० अर्ब ४५ करोड ८८ लाख रुपैयाँ र सन् नेपाल लाइफले १६ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनी : कुन क्षेत्रमा कति लगानी ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो मसान्तसम्म सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा गरेका छन् ।

बैंकहरुले ९ महिनाको अवधिमा उक्त क्षेत्रमा ५ खर्ब ४२ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ लगानी गरेका हुन् ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ६९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ, विकास बैंकहरुको मुद्दति निक्षेपमा ४५ अर्ब १६ करोड ९८ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब १ करोड ३० लाख रुपैयाँ, घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन् ।

यता, जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गर्दा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७७ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ लगानी भएको छ ।

यसैगरी, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ९७ करोड २२ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १० अर्ब ३० करोड ९९ लाख रुपैयाँ लगानी भएको छ भने इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३ अर्ब १८ करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, अन्य संस्थापक सेयरमा १७ अर्ब १६ करोड २ लाख रुपैयाँ लगानी हुँदा सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको सेयरमा १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ र अन्य लगानी १४ अर्ब ९० करोड ९८ लाख रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीले केमा गरे कति लगानी ?

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले सेयर बजार लगायत विभिन्न क्षेत्रमा करिब ६५ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ९७ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन् । जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ४४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ६९.१६ प्रतिशत हिस्सा हो ।

चैत मसान्तसम्म निर्जीवन बीमकहरुले वाणिज्य बैंकहरुमा ३९ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ, विकास बैंकहरुमा ४ अर्ब १५ करोड ८३ लाख रुपैयाँ र वित्त कम्पनीमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन् ।

यसैगरी बीमकहरुले सरकारी बचतपत्र तथा ऋणपत्रमा ९३ करोड ८३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ६६ करोड १६ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३४ करोड ७३ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा २ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब १० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १ अर्ब २६ करोड २ लाख रुपैयाँ लगानी गरेका छन्।

निर्जीवन बीमा कम्पनी : कुन कम्पनीको कति लगानी ?

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राष्ट्रिय बीमा कम्पनी ८ अर्ब ६ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स ७ अर्ब ८५ लाख रुपैयाँ लगानी गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ लगानी गरेका छन् । यता, नेको इन्स्योरेन्सले ६ अर्ब २५ करोड ११ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीः ५ अर्ब १२ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ लगानी गर्दा शिखर इन्स्योरेन्सले ४ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सः ३ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ६८ करोड ११ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब ४४ करोड १७ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३ अर्ब ४ करोड ७८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  ०९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।