रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जा निरन्तर घट्दै


काठमाडौँ । रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जा लगातार घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो क्षेत्रमा प्रवाहित हुने कर्जामा लगातार गिरावट देखिएको हो ।

केन्द्रिय बैंकका अनुसार चालु आर्थिक वर्षको चैतमा वाणिज्य बैंकहरूको यो क्षेत्रमा प्रवाह हुने कर्जाको हिस्सा ७.४५ प्रतिशत रहेको छ । जुन चालु आर्थिक वर्षको सुरुमा अर्थात गत साउनमा ८.१५ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा यो क्षेत्रमा प्रवाह हुने कर्जाको हिस्सा कुल कर्जा प्रवाहको ८.२५ प्रतिशत रहेको थियो । सो आर्थिक वर्षको सुरुमा कुल कर्जा प्रवाहमा रियल स्टेटको हिस्सा १०.४५ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो कर्जाको हिस्सा ११.११ प्रतिशत रहेको थियो । त्यसपछि यस्तो कर्जा प्रवाहमा लगातार गिरावट आएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार अहिले कर्जा प्रवाह घट्नुमा बैंकको नीतिगत कडाइ मुख्य कारण होइन । उनले अहिले राष्ट्र बैंकले पुराना नीतिहरूलाई यथावत राखेको र कतिपय क्षेत्रमा थप खुकुलो बनाएको दाबी गरे । “अहिले हामीले कुनै पनि नयाँ पोलिसी (नीति) चलाएका छैनौँ, पुराना नीतिहरू यथावत छन् । बरु कतिपय ठाउँमा त झन् खुकुलो बनाइएको छ,” प्रवक्ता पौडेलले भने ।

पौडेलका अनुसार अहिले बैंकहरूमा लगानीयोग्य पुँजी प्रशस्त छ र ब्याजदर पनि ऐतिहासिक रूपमा सस्तो हुँदै गएको छ । तर, यति हुँदाहुँदै पनि कर्जाको माग नआउनु बजारका लागि चिन्ताको विषय हो ।

“कुनै विशेष क्षेत्रमा लोन (कर्जा) गएको छैन भने त्यसको अर्थ बजारमा डिमान्ड (माग) हुन नसक्नु हो,” उनले थपे । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ साढे १२ प्रतिशतको कर्जा विस्तार हुने अनुमान गरेको भए पनि चैतसम्मको तथ्याङ्कले करिब ६.७ प्रतिशतको मात्र वृद्धि देखाएको छ । यसले समग्र अर्थतन्त्र र विशेषगरी रियल स्टेट क्षेत्रमा माग सिर्जना हुन नसकेको पौडेलको बुझाइ छ ।

अर्कोतर्फ, घरजग्गा व्यवसायीहरू भने विगतमा बैंकहरूले गरेको व्यवहार र अस्थिर ब्याजदर र अस्थिर व्यवस्थाको कारण लगानीकर्ताहरू डराइरहेको बताउँछन् । नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राई बैंकहरूले विगतमा गरेको वैधानिक शोषणनै अहिलेको समस्याको जड भएको तर्क गर्छन् ।

राईका अनुसार बैंकहरूले सुरुमा सस्तो ब्याजदरको लोभ देखाएर ऋण दिने र पछि १५ दिनमै ब्याजदर बढाएर ऋणीहरूलाई समस्यामा पार्ने गरेका छन् । “हिजो ८–९ प्रतिशतमा सम्झौता गरेर ऋण लिएकाहरूलाई बैंकले १५ प्रतिशतसम्म ब्याज असुल्यो । यसले गर्दा बैंकप्रति मानिसहरूको विश्वास घटेको छ,” उपाध्यक्ष राईले भने । उनले अहिले ब्याजदर घटेको देखिए पनि मानिसहरू फेरि पनि बैंकले भोलि ब्याज बढाउने हो कि भन्ने त्रासमा रहेको बताए ।

राईका अनुसार अहिलेको अवस्थामा तत्कालै आर्थिक सुधार हुने वा घरजग्गा कारोबार सहज रूपमा अगाडि बढ्ने कुनै संकेत देखिएको छैन । “मैले मेरो चस्माबाट हेर्दा अहिले नै तुरुन्तै सुधार भइहाल्ने अवस्था देख्दिनँ । मान्छेलाई आत्मविश्वास चाहिएको छ । तर त्यो आत्मविश्वास अहिले छैन,” उनले भने ।

राईले राज्यको नीति र राजनीतिक अस्थिरतालाई पनि मुख्य चुनौतीको रूपमा औँल्याएका छन् । सरकारले ल्याउने नयाँ नीतिहरू कस्ता हुन्छन् भन्ने अन्योल र राज्यले लगानीकर्तालाई स्पष्ट दिशा निर्देश गर्न नसक्दा बजारमा त्रासको वातावरण सिर्जना भएको उनको भनाइ छ । उनका अनुसार नेपालीहरूको बानी कर नदेखाउने र सहज रूपमा काम गर्ने खालको छ ।

यसले पनि कारोबारमा कमि आएको छ । “सबैभन्दा पहिला त मान्छेलाई दिशा निर्देश हुनुप¥यो, राज्य कता जाने हो भन्ने स्पष्ट हुनुप¥यो,” उनले भने । अहिले लगानी गरेर मुनाफा कमाउन सक्ने अवस्था नभएको र कतिबेला कहाँ के हुने हो भन्ने त्रासमा व्यवसायीहरू रहेको उनी बताउँछन् । घरजग्गा क्षेत्रमा देखिएको यो गिरावटले समग्र अर्थतन्त्रमा विश्वासको अभाव रहेको प्रतिबिम्बित गर्ने विज्ञहरूको भनाई छ ।

एकातिर बैंकहरूले बजारमा माग नभएको बताइरहँदा अर्कोतिर व्यवसायीहरू भने बैंकको अस्थिर कार्यशैली र राज्यको कमजोर नीतिका कारण लगानी गर्न डराइरहेको दाबी गरेका छन् ।

व्यावसायीहरूका अनुसार ब्याजदर सस्तो हुनु र बैंक तरलता पर्याप्त हुनु मात्र कर्जा प्रवाहको लागि पर्याप्त हुँदैन ।

लगानीकर्ताको आत्मविश्वास र बजारको सुनिश्चितताले मात्रै कारोबार बढाउने जानकारहरूको भनाई छ । जबसम्म बैंक र ऋणीबीचको विश्वासको खाडल पुरिँदैन र राज्यले लगानीमैत्री वातावरणको ग्यारेन्टी गर्दैन, तबसम्म रियल स्टेट क्षेत्रमा मात्र नभई समग्र निजी क्षेत्रको कर्जा प्रवाहमा सुधार आउन कठिन रहेको व्यवसायी राईको भनाई छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  ०६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।