चिया निर्यातमा भारतको झन्झटिलो ‘एसओपी’ : अर्बौँको बजार गुम्ने खतरा, कूटनीतिक पहलका लागि सरकारसँग माग


काठमाडौँ । भारतले नेपाली चिया आयातमा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेपछि पूर्वी नेपालको मुख्य चिया उत्पादक क्षेत्र इलामको सूर्योदय नगरपालिकाका चिया उद्योग बन्द हुने भएका छन् ।

५३ वटा उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योगको सम्पूर्ण उत्पादन र प्रशोधन कार्य पूर्ण रूपमा बन्द गर्ने एक विज्ञप्ति मार्फत घोषणा गरेको हो ।

भारत सरकारले मे १ अर्थात बैशाख १८ गतेदेखि नेपालबाट आयात हुने चियामा एसओपी लागु गरेको थियो । २१ दिनसम्म ठप्प रहेको चिया निर्यात पछि फेरी जेठ ६ गतेदेखि केही खुकुलो बनाएको थियो ।

निर्यातमा केही खुकुलो बनाएको भनिएता पनि आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन गर्न थालेपछि भारतीय आयातकर्ताले चिया आयातको लागि फाराम भर्न नै छाडेका हुन् ।

आधा दर्जनभन्दा बढी ट्रकको नमुना संकलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री ठप्प भएको छ । लामो समय गोदाममा थन्किँदा चियाको स्वाद र गुणस्तर ह्रास हुने जोखिम उच्च रहेको चिया उद्योगीहरु बताउँछन् ।

एसोसिएसनका अनुसार, सूर्योदय नगरपालिकामा मात्र ६५ भन्दा बढी चिया उद्योग छन्, जसमा एसोसिएसनमा आबद्ध ५३ उद्योग एकै पटक बन्द हुँदा हजारौँ चिया किसान र मजदुर प्रत्यक्ष प्रभावित हुनेछन् ।

नगरपालिकाभित्र मात्र २ हजार ९९५ चिया किसान छन् । त्यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुन्छ ।

भारतीय अवरोध सिर्जना भएपछि करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठका अनुसार, गुणस्तर परिक्षणको बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ । नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको उनले बताए ।

‘नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने छ ।’ उनले भने, ‘अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ ।’

बिक्री नहुने र भण्डारण गर्ने ठाउँसमेत अभाव भएपछि उद्योग बन्द गर्नुपर्ने वाध्यता रहेको चिया उद्योगी सुुजन ढुङ्गेल बताउँछन् । ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको चिया बिक्री हुन सकेको छैन, उद्योगका गोदाम भरिएका छन् ।’ उनले भने, ‘कसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको छ ।’

उनका अनुसार, चैत र वैशाख उच्च गुणस्तरको चिया उत्पादन हुने मुख्य सिजन भए पनि यही समयमा भारतले नयाँ झन्झटिलो प्रक्रिया लागू गरेपछि उद्योगी मारमा परेका छन् । अवरोध समाभान गर्न सरकारले केही कदम ल्याएमा भने तत्कालको लागि बन्द नगर्ने उनको भनाई छ ।

विगतका वर्षहरुमा पनि चिया निर्यातमा समस्या हुने गरेको थियो । यसपटकको समस्या विगतका अवरोधभन्दा गम्भीर रहेको एसोसिएसनका महासचिव तथा उद्योगी गोपाल कट्टेलले बताए ।

‘पहिले पनि भारतले विभिन्न बहानामा अवरोध गर्ने गरेको थियो तर अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्था बनाइएको छ ।’ उनले भने, ‘यो गुणस्तर परीक्षणभन्दा पनि नेपाली चियाको बजार रोक्ने प्रयासजस्तो देखिएको छ ।’

चिया क्षेत्रमा देखिएको यो गम्भीर संकट समाधानका लागि सूर्योदय नगरपालिकाले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालय र नेपाल सरकारसँग जोडदार माग गरेको नगरपालिका कार्यवहाक प्रमुख दुर्गाकुमार बरालले बताए ।
उनका अनुसार, नगरपालिका भित्रको चिया उद्योगमा हजारौँ मजदुरहरु रहेका छन् भने हजारौँ किसानहरु रहेका छन् । यसरी उद्योग जोखिममा पर्दा उद्योगी, मजदुर किसान सबै संकटमा परेको उनले बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा निर्भर छ । नेपालले वार्षिक करिब सवा ४ अर्ब रुपैयाँ बराबरको तयारी चिया निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–बैशाख) मा नेपालबाट ३ अर्ब ३५ करोड ९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ९३ हजार किलोग्राम चिया निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा ३ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख ३० हजार किलोग्राम चिया निर्यात भएको थियो ।

चालु आवको १० महिनामा भारततर्फ मात्रै २ अर्ब ७२ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७९ हजार किलोग्राम चिया निर्यात भएको छ ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।