काठमाडौँ । पछिल्लो समय नेपाली चिया निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)मा चिया निर्यात झण्डै २० प्रतिशतले घटेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा १ करोड १७ लाख १५ हजार किलोग्राम चिया ३ अर्ब ५१ करोड ३९ लाख रुपैयाँमा निर्यात भएको छ । जुन परिणामको आधारमा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीको तुलनामा १९.८९ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ करोड ४६ लाख २५ हजार किलोग्राम चिया ४ अर्ब २० करोड ८ लाख रुपैयाँमा निर्यात भएको थियो ।
एक महिनादेखि भारतीय अवरोधका कारण नेपाली चिया निर्यात ठप्प भएको छ । नेपाली चिया निर्यातको करिब ९० प्रतिशत हिस्सा भारत हो । यसरी भारतले निर्यातमा रोक लगाएका कारण निर्यात परिणाममा गिरावट आएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।
भारतीय चिया बोर्डले गत बैशाख १८ गतेदेखि नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षण प्रतिवेदनको व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा रोकिएको हो ।
पहिलो चरणमा भातरले नेपालबाट भारत छिर्ने चियाको प्रत्येक ट्रक र प्रत्येक पटकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेको थियो । पहिले एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएकोमा पछिल्लो नियमले ट्रकपिच्छे ११ हजार १२० भारु शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो प्रावधान राखिएको थियो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षणको व्यवस्थालाई फिर्ता लिएपछि करिब दुई साता पछि जेठ ६ गतेदेखि नेपाली चियाको निकासी पुनः सहज भएको थियो ।
निर्यातमा केही खुकुलो बनाएको भनिएता पनि आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन गर्न थालेपछि भारतीय आयातकर्ताले चिया आयातको लागि फाराम भर्न नै छाडेका हुन् ।
आधा दर्जनभन्दा बढी ट्रकको नमुना संकलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री ठप्प भयो ।
यद्यपि निर्यातको अधिकांश हिस्सा भारतमै केन्द्रित भएकाले भारतीय बजारमा देखिएको अवरोधले नेपाली चिया उद्योगलाई प्रत्यक्ष असर गरेको हो । लामो समय गोदाममा थन्किँदा चियाको स्वाद र गुणस्तर ह्रास हुने जोखिम उच्च रहेकोले चिया उद्योगीहरुले उद्योग नै बन्द गरेका हुन् ।
असार १ गते उद्योगीहरूले इलाम जिल्लाभित्र सञ्चालनमा रहेका ५६ उद्योग बन्द गर्ने घोषणा थिए भने ४ गतेदेखि झापाका ३० भन्दा बढी उद्योग बन्द भएको हो ।
उद्योग बन्द हुँदा दैनिक करिब २ करोड रुपैयाँ बराबरको हरियो पत्ती बगानमै नष्ट भइरहेको छ । उद्योग बन्द हुने अवस्था सिर्जना हुँदा चियाको क्षेत्रमा काम गर्ने हजारौँ किसानदेखि मजदुर बेरोजगार हुने अवस्था सिर्जना भएको हो । उद्योग बन्द हुँदा ६०/७० हजार किसान मजदुर प्रभावित हुन पुगेका छन् ।
चिया व्यवसायीहरूका अनुसार, वर्तमान संकटले नेपालले एकल बजारमा अत्याधिक निर्भर रहनु कति जोखिमपूर्ण हुन्छ भन्ने स्पष्ट पारेको छ । युरोप, अमेरिका, जापान, चीन तथा मध्यपूर्वका बजारमा नेपाली चियाको माग बढ्दै गए पनि निर्यात संरचना अझै भारत केन्द्रित रहेका कारण संकट व्यहोर्नु परेको हो ।
सरकारले तत्काल भारतसँग कूटनीतिक पहल गरी निकासी सहज बनाउनुपर्ने तथा दीर्घकालीन रूपमा वैकल्पिक अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष रणनीति बनाउनुपर्ने चिया उद्योगी शुक्र दाहालले बताएका छन् ।
उनका अनुसार, नेपाली चिया विश्वका ४० भन्दा बढी मुलुकमा पुगिसकेको अवस्थामा भारतमाथिको निर्भरता घटाउन सके मात्रै चिया उद्योग दिगो र प्रतिस्पर्धी बन्न सक्नेछ ।
‘खुला सिमाना र भौगोलिक सुगमता भएका कारण भारत प्रमुख गन्तव्य बनेको हो ।’ उनले भने, ‘भारतमा चिया पठाउन प्राविधिक रूपमा सजिलो थियो र जति उत्पादन गरे पनि बिक्री हुने सुनिश्चितता थियो, तर तेस्रो मुलुकतर्फ निर्यात बढाउन राज्य स्तरबाट जुन खालको नीतिगत र कूटनीतिक प्रयास हुनुपर्ने हो ।’
भारतपछि नेपाली चियाको प्रमुख निर्यात गन्तव्यहरूमा जर्मन, यूएई, रूस, अमेरिका, फ्रान्स, चीन, जापान, लगायतका मुलुक रहेका छन ।
चालु आर्थिक वर्षको ११ महिनामा जर्मनतर्फ १७ करोड ८६ लाख रुपैयाँ बराबरको ६८ हजार किलोग्राम चिया निर्यात भएको छ । त्यस्तै, यूएईतर्फ १० करोड रुपैयाँको, रुसतर्फ ८ करोड रुपैयाँको, अमेरिकातर्फ ६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपाली चियाको भारत निर्यातमा लामो समयदेखि कायम प्राविधिक तथा व्यापारिक अवरोध हटाउन सरकारले एक उच्चस्तरीय विशेष कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएका समस्याको पहिचान गरी स्थायी समाधानका उपाय पहिल्याउन सरकारले यो कदम चालेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार, भारतीय बजारमा नेपाली चिया जाँदा पटक–पटक गुणस्तर परीक्षण, भन्सार अवरोध र अन्य गैर–भन्सार अवरोध भोग्नुपर्ने गुनासो पूर्वी नेपालका व्यवसायीहरूले गर्दै आएका छन् । कार्यदलले यी समस्याको जड पत्ता लगाई भारतसँगको व्यापारिक सन्धि र सम्झौताका आधारमा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने सुधारका सुझाव दिने उनले बताए ।










प्रतिक्रिया