पटकपटक सर्दै नागढुङ्गा सुरुङमार्गको सञ्चालन मिति, किन हुँदैछ ढिलाइ ?


काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको सञ्चालन मिति पटक–पटक सर्दै आएको छ । गत वर्षको दसैँदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको सुरुङमार्ग अझैसम्म सञ्चालनमा आएको छैन ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यातायात व्यवसायीहरूसँगको छलफलमा दसैँअघि नै सुरुङमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । त्यसका लागि निर्माण कम्पनी र सरकारबीच सञ्चालन प्रक्रिया तथा व्यवस्थापनका विषयमा छलफलसमेत भएको थियो ।

त्यतिबेला दसैँमा काठमाडौँबाट बाहिरिने यात्रुबाहक सवारीसाधनका लागि मात्र सुरुङमार्ग निःशुल्क सञ्चालन गर्ने योजना समेत बनाइएको थियो । तर आवश्यक प्राविधिक तयारी, सञ्चालन कार्यविधि, सुरक्षा परीक्षण तथा व्यवस्थापनको काम पूरा हुन नसकेको भनेर सञ्चालनको समय पर धकेलिएको थियो ।

त्यसपछि सञ्चालनको मिति पुस माघमा सारिएको थियो । उक्त समयमा पनि आवश्यक तयारी नपुगेको भन्दै सुरुङ मार्ग सञ्चालनमा आउन सकेन । दोस्रोपटक निर्धारण गरिएको मितिमा पनि सुरुङ सञ्चालनमा आउन नसकेपछि नयाँ वर्ष २०८३ को वैशाख मा सञ्चालन गर्ने तयारी गरियो । तर त्यसबेला पनि आवश्यक तयारी पूरा हुन नसक्दा सुरुङमार्ग सञ्चालन हुन सकेन र सञ्चालन मिति साउनमा सारिएको थियो ।

यसरी पटक–पटक सञ्चालन मिति सारिएको सुरुङमार्ग यहि साउनभित्र उद्घाटन कार्यक्रम गर्ने भनिएपनि कहिले, कसरी र कसको प्रमुख आथित्यतामा हुने भन्ने यकिन नभएको आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए । उनका अनुसार उद्घाटनपछि पनि सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला हुने छैन ।

सुरुका केही महिना परीक्षण (ट्रायल ओपनिङ पिरियड) का रूपमा सञ्चालन गरिने छ । निर्माण कार्य सम्पन्न भइसक्दा नै सुरुङ सञ्चालनका लागि पर्याप्त नहुने उनले बताए । नेपालमै पहिलो पटक सडक सुरुङ सञ्चालन गर्न लागिएको भएकाले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, सुरक्षा मापदण्ड, उपकरण परीक्षण, सेवा प्रदायक कम्पनी छनोट, कर्मचारी व्यवस्थापन, विदेशी प्राविधिकसँग समन्वय तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र जापान सरकारसँगको हस्तान्तरण प्रक्रिया पूरा गर्न समय लागेको हो ।

आयोजनाका सूचना अधिकारी तथा सडक विभागका इन्जिनियर सञ्जय पन्थीका अनुसार उद्घाटनको कार्यतालिका अन्तिम चरणमा पुगेको छ । उद्घाटनपछि चरणबद्ध रूपमा सञ्चालन सुरु हुनेछ । सुरुका केही दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइने बताइएको छ । त्यसपछि परीक्षण सफल भएपछि मात्रै क्रमशः अन्य सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइने उनको भनाई छ ।

उनका अनुसार परीक्षण अवधि करिब तीन महिना रहनेछ । यस अवधिमा सुरुङभित्रका सबै सुरक्षा प्रणाली, हावा प्रवाह, सञ्चार, विद्युतीय उपकरण, आगलागी नियन्त्रण प्रणाली, आपतकालीन उद्धार व्यवस्था र सवारी सञ्चालनको प्रभावकारिता परीक्षण गरिनेछ । परीक्षण अवधिमा सडक शुल्क लिने वा नलिने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सुशीलबाबु ढकालले मन्त्रालयले उद्घाटनको तयारी र आवश्यक समन्वय गरिरहेको बताए । उनका अनुसार सेवा प्रदायक कम्पनी नियुक्त भइसकेको छ भने उद्घाटनपछि सञ्चालनको जिम्मेवारी सडक विभागले सम्हाल्नेछ ।

६ वर्षपछि सम्पन्न भयो आयोजना

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुङ्गा सुरुङमार्गको शिलान्यास गरेका थिए ।

सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले झण्डै दोब्बर समय लगाएर सम्पन्न भएको हो । निर्माण सुरु भएको करिब ७९ महिनापछि मात्रै आयोजना सम्पन्न भएको छ । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेशनले लिएको थियो । कम्पनीले निर्माण सम्पन्न गरी सुरुङमार्ग आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।

अब यसको सञ्चालन तथा व्यवस्थापन नेपाली कम्पनी युसिन र चिनियाँ कम्पनी एआरटीको संयुक्त उपक्रम (युसिन–एआरटी जेभी) ले गर्नेछ । सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना कर्मचारी आवश्यक पर्नेछन् । विदेशी प्राविधिकको सहयोगमा नेपाली जनशक्तिलाई सुरुङ सञ्चालनसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको छ । नेपालमा पहिलो पटक यस्तो सडक सुरुङ सञ्चालन हुन लागेकाले कर्मचारी प्रशिक्षणमा विशेष ध्यान दिइएको आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण कार्यमा कोभिड–१९ महामारीका कारण केही समय रोकिएको थियो । त्यसैगरी जग्गा अधिग्रहण, मुआब्जा वितरण, निर्माण सामग्रीको मूल्यवृद्धि, डलरको विनिमय दर बढ्नु तथा केही प्राविधिक जटिलताले पनि आयोजनाको अवधि लम्बिएको आयोजना कार्यालयको भनाई छ ।

आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ । यसमध्ये करिब १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋण हो भने बाँकी रकम नेपाल सरकारले जग्गा अधिग्रहण, मुआब्जा तथा अन्य व्यवस्थापनमा खर्च गरेको हो । आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

कस्तो छ सुरुङ मार्गको बनावट ?

यो सुरुङमार्गको कुल लम्बाई २.६८ किलोमिटर रहेको छ । त्यससँगै २.५५ किलोमिटर लामो सहायक (इभ्याकुएसन) सुरुङमार्ग पनि निर्माण गरिएको छ । मुख्य सुरुङमा कुनै दुर्घटना, आगलागी वा अन्य आपतकालीन अवस्था आएमा यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहायक सुरुङ प्रयोग गरिने आयोजनाका इन्जिनियर पन्थीले जानकारी दिए ।

सहायक सुरुङको ब्रेक थ्र २०८० साउन २२ गते गरिएको थियो भने मुख्य सुरुङको ब्रेक थ्रु २०८१ वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।

नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सुरक्षा प्रणाली जडान गरिएको यो नै पहिलो सुरुङमार्ग हो । सुरुङभित्र प्रत्येक १५० देखि २०० मिटर को दूरीमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । कन्ट्रोल रुमबाट चौबीसै घण्टा सुरुङभित्रको गतिविधिको निगरानी गरिने जनाइएको छ ।

सवारीसाधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्न १५ वटा जेट फ्यान जडान गरिएको छ । अक्सिजनको प्रवाह कायम राख्ने प्रणाली, हावाको गुणस्तर मापन गर्ने उपकरण, भिजिबिलिटी मिटर, अग्नि नियन्त्रण प्रणाली, आपतकालीन टेलिफोन, विद्युतीय ब्याकअप, सञ्चार प्रणाली तथा अन्य सुरक्षा उपकरण पनि जडान गरिएका छन् ।

सञ्चालनमा आएपछि कसन सवारीसाधनलाई कति शुल्क लाग्छ ?

सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिसकेको छ । जसअनुसार कार, जिप तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा मिनी ट्रकले ८० देखि ११५ रुपैयाँ, बस तथा ट्रकले २०० देखि २६० रुपैयाँ तथा भारी उपकरणले २५० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न दिइने छैन । सञ्चालन कम्पनीले पाँच वर्षको अवधिमा सुरुङमार्गबाट उठ्ने शुल्कबापत सरकारलाई एक अर्ब १० करोड रुपैयाँ राजस्व बुझाउने प्रतिबद्धता जनाएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्ग नौबिसेसडकमा हुने घण्टौंको जाम समाधान हुने र थानकोटबाट नौबिसेसम्म करिब १० मिनेटमै पुग्न सकिने छ । त्यस्तै बलम्बुदेखि सिस्नेखोलासम्मको करिब ७.५ किलोमिटर दूरी घटेर झण्डै ५ किलोमिटर मा सीमित हुनेछ । यसले इन्धनको बचत, सवारी सञ्चालन खर्चमा कमी, प्रदूषण नियन्त्रण तथा यात्रुलाई सहज यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  ०७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।