उत्पादन क्षमता भन्दा नीतिगत चुनौतीमा अल्झिएको जुत्ता उद्योग


काठमाडौँ । नेपालको जुत्ता उद्योग अहिले विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । एकातिर उद्योगहरूले देशको आवश्यकताभन्दा बढी उत्पादन गर्न सक्ने क्षमता रहेको दाबी गरिरहेका छन् भने अर्कोतिर हरेक वर्ष अर्बौं रुपैयाँ बराबरका जुत्ता विदेशबाट आयात भइरहेका छन् ।

उद्योगीहरूका अनुसार नेपालका जुत्ता चप्पल उद्योगहरूको वार्षिक उत्पादन क्षमता करिब १६ करोड हो । नेपालमा वार्षिक खपत भने करिब १० करोड मात्रै हुने गरेको छ । यसको अर्थ देशभित्रको माग पूरा गर्न आन्तरिक उद्योगसँग पर्याप्त क्षमता छ । तर उत्पादन क्षमता, बजारको माग र आयातको अवस्थाबीच देखिएको अन्तरले स्वदेशी उद्योगको वास्तविक चुनौती उत्पादन नभई नीति, बजार व्यवस्थापन र प्रतिस्पर्धाको वातावरण रहेको देखाउँछ ।

नेपालमा अहिले साना, मझौला र ठूला गरी करिब एक हजार ५०० भन्दा बढी जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब एक हजार २०० लघु तथा घरेलु उद्योग, २०० साना तथा मझौला उद्योग र करिब १५० ठूला उद्योग रहेका छन् । ठूला उद्योगमध्ये केही अत्याधुनिक प्रविधि प्रयोग गरेर ठूलो परिमाणमा जुत्ता चप्पल उत्पादन गरिरहेका छन् ।

गोल्डस्टार, शिखर, रन, बीएफ डियरहिल लगायतका नेपाली ब्रान्डले बजारमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । आन्तरिक बजारमा उत्पादन हुने यी ब्राण्डले उपभोक्ताको माग र चाहनालाई पूर्ति गरिरहेको र स्वेदेशी उत्पादनतर्फ आकर्षित गरिरहेको उद्योगहिरूको भनाई छ ।

तर उद्योगीहरूको भनाइमा उत्पादन क्षमता विस्तार भए पनि उद्योगले अझै आफ्नो पूर्ण सम्भावना उपयोग गर्न सकेको छैन । नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेका अनुसार अहिले नेपाली जुत्ता उद्योगले देशको करिब ८० प्रतिशतभन्दा बढी माग धानिरहेको छ । आन्त्रिक उद्योगहरूको वार्षिक १६ करोड जोडी उत्पादन गर्न सक्ने क्षमता भए पनि नेपालको कुल खपत करिब १० करोड जोडी मात्रै रहेको उनी बताउँछन् ।

उनका अनुसार करिब साढे सात करोड जोडी जुत्ता–चप्पल नेपालमै उत्पादन भएको खपत हुन्छ भने बाँकी माग आयातबाट पूरा हुने गरेको छ । आन्तरिक उत्पादनको करिब ६० लाख जोडी जुत्ता चप्पल विदेश निर्यात भइरहेको न्यौपानले बताए । “हामी उत्पादन गर्न नसक्ने अवस्थामा होइनौँ । समस्या बजार, नीति र प्रतिस्पर्धाको वातावरणमा छ,” न्यौपानेले भने ।

उनका अनुसार नेपालमा करिब डेढ करोड जोडी जुत्ता वैधानिक रूपमा आयात हुने गरेको छ भने करिब एक लाख जोडी चोरी पैठारीमार्फत आउने गरेको अनुमान छ । सस्तो आयातित जुत्ताले बजारमा प्रतिस्पर्धा असन्तुलित बनाएको उनको भनाइ छ ।

कच्चा पदार्थको समस्या

जुत्ता उद्योगको अर्को ठूलो चुनौती कच्चा पदार्थमा रहेको निर्भरता भएको उद्योगहिरु बताउँछन् । उनीहरूका अनुसार उत्पादनका लागि आवश्यक कच्चा पदार्थमध्ये करिब ३५ प्रतिशत मात्रै नेपालमै उत्पादन हुन्छ ।

बाँकी ६५ प्रतिशत सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ आयातमै निर्भर हुँदा उत्पादन लागत बढ्ने र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुने उद्योगीहरूको भनाइ छ । नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने उद्योग विस्तार गर्न सके स्वदेशी जुत्ता अझ प्रतिस्पर्धी बन्न सक्ने उनीहरूको भनाई छ ।

न्यौपानेका अनुसार नेपाली उत्पादनको गुणस्तरमा पछिल्ला वर्षमा उल्लेखनीय सुधार आएको छ । अहिले नेपाली जुत्ता केवल कम मूल्यको विकल्प नभई गुणस्तरीय उत्पादनका रूपमा स्थापित हुँदै गएको उनको दाबी छ । उनको बुझाइमा नेपालले करिब ९० प्रतिशत माग स्वदेशी उत्पादनबाट पूरा गर्ने लक्ष्य लिनुपर्छ । करिब १० प्रतिशत आयातले नयाँ प्रविधि र डिजाइन बुझ्न सहयोग गरे पनि अत्यधिक आयातले घरेलु उद्योगलाई कमजोर बनाउने उनी बताउँछन् ।

विदेशी प्रविधि सिक्न र स्वदेशी उपभोक्ताहरुलाई हाम्रो उत्पादन पनि विदेशीभन्दा कम छैन भनेर विश्वास दिलाउनको लागि भएपनि केहि हदसम्म आयात गर्नु गलत नभएको उनको बुझाई छ ।

६३ प्रतिशत भन्दा बढी कामदार विदेशी

नेपालमा जुत्ता उद्योगहरू रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्रमध्ये एक रहेको व्यवसायीहरूको भनाई छ । अध्यक्ष न्यौपानेका अनुसार यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ५५ हजार जनाले रोजगारी पाएका छन् । तर नेपाली जनशक्तिको अभाव र स्वदेशमा काम गरेर केहि हुँदैन भन्ने सोचका कारण ठूलो संख्यामा विदेशी कामदारमा निर्भर हुनुपरेको छ ।

अहिले यो क्षेत्रमा काम गर्ने कामदारहरूमध्ये ६३.६४ प्रतिशत कामदार विदेशी रहेका छन् । ३५ हजारभन्दा बढी विदेशी कामदार रहेको बताउँदै न्यौपानेले सीप विकास र नेपाली युवालाई यस क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

सरकारको प्राथमिकता उद्योग कि राजस्व ?

उद्योगीहरूले सरकारको प्राथमिकतामा पनि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार सरकारले स्वदेशी उत्पादनलाई दीर्घकालीन रूपमा विकास गर्नेभन्दा आयातबाट प्राप्त हुने राजस्वलाई बढी महत्व दिएको छ ।

निर्यात विस्तारका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने, नयाँ प्रविधि भित्र्याउन सहयोग गर्नुपर्ने र उद्योग सञ्चालनका व्यवहारिक समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ । न्यौपानेका अनुसार यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल भएको छ । सरकारले व्यवहारिक समस्या समाधानमा पहल गरे नेपाली जुत्ता उद्योगले अझ ठूलो योगदान दिन सक्ने उनको विश्वास छ ।

उद्योगीहरूले आयात व्यवस्थापन र स्वदेशी उद्योग संरक्षणको आवश्यकता औंल्याइरहेका बेला भन्सार विभागले भने आयात बढ्नुको मुख्य कारण बजारको माग रहेको बताएको छ । भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार जुत्ताको माग बढेकाले आयात पनि बढेको हो । उनका अनुसार भन्सार विन्दुमा हुने सम्पूर्ण प्रक्रिया कानुनअनुसार सञ्चालन भइरहेको छ ।

उनले भन्सार प्रक्रियामा कुनै कमजोरी नरहेको दाबी गर्दै चोरी पैठारी नियन्त्रणका लागि सबै सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताए । “खुला सीमाका कारण केही मात्रामा चोरी पैठारी हुन सक्छ । यसलाई नियन्त्रण गर्न भन्सार विभाग मात्रै पर्याप्त हुँदैन,” उनले भने ।

१० अर्ब रुपैयाँभन्दा बढीको जुत्ता आयात

देशको मागभन्दा बढी उत्पादन गर्न सक्ने अवस्था, हजारौंलाई रोजगारी र स्थापित ब्रान्ड हुँदाहुँदै पनि वार्षिक १० अर्बभन्दा बढीको जुत्ता चप्पल आयात भएको देखिन्छ । भन्सार विभागको तथ्यांक हेर्दा अझैपनि वार्षिक रुपमा अर्बाैं रुपैयाँको जुत्ता चप्पल आयात हुने गरेको देखिन्छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब १४ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको जुत्ता आयात भएको छ । त्यसबाट ५ अर्ब ६ करोड १९ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७८ करोड ५७ लाख ३१ हजार रुपैयाँ बराबरको जुत्ता आयात भएको थियो भने ४ अर्ब ८७ करोड ४२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ९८ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको जुत्ता आयात हुँदा ५ अर्ब ५१ करोड ७० लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

यो तथ्यांकले नेपालमा जुत्ताको बजार विस्तार भइरहेको देखिन्छ । साथै यो तथ्यांकले सरकार क्षमता अनुसार आन्त्रिक उद्योगलाई अघि बढाउन सकिरहेको छैन भन्ने कुरा पनि प्रष्ट पारेको छ ।

स्वदेशी जुत्ता उद्योग अब उत्पादन क्षमताको चरण पार गरेर बजार, प्रविधि, निर्यात र नीतिगत सहयोगको चरणमा पुगेको उद्यागीहरूको दाबी छ । सरकारले उद्योगलाई प्रतिस्पर्धी बनाउने वातावरण तयार गर्न सके नेपालमा उत्पादन हुने जुत्ताले घरेलु बजार मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो स्थान बनाउन सक्ने व्यवसायीहरूको दाबी छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।