ग्यास अभावसँगै महँगियो भान्सा


काठमाडौँ । पछिल्लो समय बजारमा खाना पकाउने (एलपी) ग्यासको अभाव सिर्जना हुनुका साथै भान्सामा दैनिक प्रयोग हुने तेल, दाल, चामल र घ्यूको मूल्य अधिक बढेको छ ।
बजारमा ग्यासको सहज आपूर्ति नहुँदा एउटा सिलिन्डर पाउन हप्तौँ कुर्नुपर्ने अवस्था आएको छ । उपभोक्ताले घण्टौँ लाइन बसेर पनि ग्यास पाउन मुश्किल भएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष असर न्यून तथा मध्यम आय भएका परिवारमा परेको छ । विशेषगरी दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई दाल, चामल, तेललगायत अत्यावश्यक वस्तुको मूल्यवृद्धिले दैनिक खर्च धान्नै कठिन हुन थालेको छ ।

खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूची अनुसार एक महिनाको अवधिमै तोरीको तेल, भटमासको तेल, सनफलावर तेल, दाल र चामलको भाउ बढेको छ । बजारमा तेल र चामल लगायत खाद्य वस्तुहरूको मूल्यमा वृद्धि भएको खुद्रा व्यापार संघले जनाएको छ ।

होलसेल बजारमै यी वस्तुहरूको मूल्य बढेर आएकाले खुद्रा बजारमा पनि प्रभाव परेको संघका महासचिव आमुलकाजी तुलाधर बताउँछन् ।
‘दैनिक उपभोग्य वस्तुहरूमा होलसेलमै मूल्य बढेर आएको छ ।’ उनले भने, ‘ब्रान्ड र कम्पनी अनुसार मूल्यमा भिन्नता हुने हुँदा कुनैमा १०–१५ रुपैयाँ त कुनैमा १०० देखि १५० रुपैयाँसम्म मूल्य बढेको छ ।’
संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार १५ दिनको अवधीमा वनस्पति घिउमा सबैभन्दा धेरै मूल्य बढेको छ । साउन १ गते प्रतिलिटर २६५ रुपैयाँमा बिक्री भइरहेको वनस्पति घिउ साउन १५ गते आइपुग्दा १५ रुपैयाँले बढेर २८० रुपैयाँ पुगेको छ । त्यसैगरी, सर्वसाधारणको भान्सामा धेरै पाक्ने चना दाल प्रतिकिलो १० रुपैयाँले बढेर १६० बाट १७० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेलमा पनि प्रतिलिटर १० रुपैयाँकै वृद्धि भई २८० बाट २९० रुपैयाँ कायम भएको छ । खाना पकाउने अन्य तेलहरूमा सनफ्लावर र भटमासको तेलमा समेत प्रतिलिटर ५÷५ रुपैयाँले भाउ बढेको छ, जसअनुसार सनफ्लावर तेल प्रतिलिटर २९० रुपैयाँ र भटमासको तेल २८५ रुपैयाँ पुगेको छ । साथै, उपभोक्ताले नियमित प्रयोग गर्ने स्टिम जिरामसिना चामल प्रतिकिलो ५ रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको छ भने २५ किलोको एक बोरा चामलमा १२५ रुपैयाँको वृद्धि देखिएको छ ।

सेतो भटमासको मूल्य पनि प्रतिकिलो १३५ बाट बढेर १४० रुपैयाँ पुगेको छ । सबैजसो उपभोग्य वस्तुको मूल्य यसरी उकालो लागिरहँदा दुई साताको अवधिमा नेपाली घिउको मूल्य भने प्रतिकिलो १ हजार ४०० रुपैयाँबाट घटेर १ हजार ३०० रुपैयाँमा झरेको छ । निश्चित र सीमित आम्दानी भएका सर्वसाधारणलाई १५ दिनमै भएको यो निरन्तर मूल्यवृद्धिले निकै सास्ती दिएको छ । छोटो समयमै बजार यसरी तात्तिँदा समेत सरकारी निकायबाट प्रभावकारी अनुगमन र मूल्य नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो छ ।

उपभोग्य वस्तुको मूल्यमा वृद्धि हुँदा यसले सोझै जनताको आयमाथि प्रहार गर्ने र आम नागरिकको भान्सा नै प्रभावित हुने गरेको छ । यसले गर्दा समाजमा आर्थिक असन्तुलन बढेर जानुका साथै कुपोषण, स्वास्थ्य समस्या र मानसिक तनाव जस्ता विभिन्न खालका संकटहरू निम्तिने गरेका छन् ।

कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजार र डलरको भाउमा आउने उतारचढावले मूल्यमा सामान्य प्रभाव परेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमुद कुमार दुगड बताउँछन् ।

खानेतेल भनेको कमोडिटी मार्केट हो, अन्तर्राष्ट्रिय मूल्य जसरी कच्चा तेलको मूल्य बढ्छ घट्छ, त्यही हिसाबले रिप्लेसमेन्ट भ्यालुमा काम गर्नुपर्ने उनको भनाई छ ।
उनका अनुसार, पछिल्लो समय अन्तराष्ट्रिय तनाव बढेका कारण सम्पूर्ण कच्चा पदार्थको मूल्य बढेको छ । विशेषगरी इन्धनको मूल्यमा देखिएको उत्तरचढावका कारण नेपाली भान्सा महँगिएको उनले बताए । दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धिको मार उपभोक्ताले खेप्नुपरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘बजारमा ग्यास पाइँदैन, आज ग्यास पाइएन भनेर उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ ।’ उनले भने, ‘बजारमा अझै कालोबजारी बढ्दै गइरहेको छ, तर जिम्मेवार निकायको भने चासो देखिएको छैन ।’
मुलुकमा बलियो सरकार र जनप्रतिनिधिमूलक व्यवस्था भएपनि जनताले महँगी र अभावको मार खेप्नुपरेको उनको दाबी छ । उनले सरकार अभिभावक भएकाले जनताको चुलोचौका सहज बनाउने दायित्वबाट पछि हट्न नहुने बताए ।
बजारको वर्तमान अवस्था, ग्यास आपूर्ति, दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिएको असन्तुलनबारे अनुगमन भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीले बताए ।

अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वस्तुको मूल्य बढेर आउनु, ढुवानी लागतमा वृद्धि हुनु र मनसुनका कारण यातायातमा आएको असहजताका कारण बजार मूल्यमा असर पारेको उनको भनाई छ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  ०८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।