कडा भिसा नीतिले अमेरिकी स्थानीय अर्थतन्त्रमा ३.४ अर्ब अमेरिकी डलरको नोक्सानी हुने अनुमान


काठमाडौँ । अमेरिकाको कडा भिसा नीतिका कारण स्थानीय अर्थतन्त्रमा ३.४ अर्ब अमेरिकी डलरको नोक्सानी हुन सक्ने अनुमान गरिएको छ । यसबाट करिब ३९ हजार रोजगारीमा समेत असर पर्ने जनाइएको छ ।

यता, भिसाको असर विदेशी विद्यार्थीको भर्नामा पर्न सक्ने देखिएको छ । सन् २०२६ को हिउँदे सत्रमा अमेरिकी कलेज तथा विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना १.१ लाखसम्म घट्न सक्ने शिक्षकहरूको संगठन एसोसिएसन फर इन्टरनेसनल एडुकेटर्स (एनएएफएसए) र अनुसन्धान संस्था ‘जेबी इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

सन् २०२५–०२६ को हिउँदे सत्रमा अमेरिकामा विदेशी विद्यार्थीको अनुमानित संख्या ११.६९ लाख थियो । सन् २०२६–२७ मा यो घटेर १०.५७ लाखमा झर्न सक्ने रिपोर्टमा उल्लेख छ ।

सन् २०२५–०२६ को हिउँदे सत्रमा विदेशी विद्यार्थीले अमेरिकी स्थानीय अर्थतन्त्रमा ४१.७७ अर्ब अमेरिकी डलर योगदान दिएका थिए । सन् २०२६–२७ मा यो घटेर ३८.३७ अर्ब डलरमा सीमित हुने अनुमान छ ।

एनएएफएसएका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत फान्टा आवले अमेरिकाका नीति र नियमले विदेशी विद्यार्थीले आफ्नो भविष्य कहाँ बनाउने भन्ने निर्णयलाई प्रभावित पार्ने बताएकी छन् । उनले विद्यार्थीका यस्ता निर्णयले अमेरिकी समाज र अर्थतन्त्रमा छोटो तथा दीर्घकालीन रूपमा ठूलो असर पार्ने उल्लेख गरिन् ।

रिपोर्टमा कडा भिसा नीतिका अतिरिक्त अमेरिकी विदेश मन्त्रालयले फिफा विश्वकपका टिकटवाहकलाई विद्यार्थीको तुलनामा भिसा जारी गर्न प्राथमिकता दिनुले पनि विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना प्रभावित भइरहेको उल्लेख छ ।

रिपोर्टअनुसार, ऐतिहासिक रूपमा व्यस्त रहने यस सिजनमा विदेश मन्त्रालयले विद्यार्थी तथा शोधकर्ताका भिसा आवेदनलाई प्राथमिकता दिँदै आएको थियो । यसले विद्यार्थीलाई समयमै विश्वविद्यालय परिसरमा पुग्न मद्दत गर्दै आएको थियो ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।