नेपाली सेनामा जागिर खुल्यो, कसले दिन पाउँछन् आवेदन ?


काठमाडौँ । नेपाली सेनामा २८० जनाका लागि दरखास्त खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार सूचना जारी गर्दै २८० जनालाई खुला तथा समावेशी प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको हो ।

सेनाले खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी÷जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ जना मागेको छ ।

आवेदकले साउन २९ गतेदेखि भदौ १८ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भदौ १९ देखि २५ गतेसम्मसमेत आवेदन दिन सकिने व्यवस्था छ।

आवेदकले नेपाली सेनाको आधिकारिक अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । अधिकृत क्याडेट पदका लागि प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। तोकिएको ग्रेडिङ प्रणालीअनुसार न्यूनतम जीपीए र सीजिपीए पूरा गरेको हुनुपर्नेछ र सम्बन्धित प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । एसईई वा एसएलसीमा अनिवार्य गणित विषय अध्ययन गरेको हुनुपर्नेछ ।

स्नातक अधिकृत क्याडेटतर्फ आवेदन दिनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका लागि पनि एसईई वा एसएलसी तहमा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ।

कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारको उमेर भदौ १९ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ ।

स्नातक उत्तीर्ण उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला सैनिकको हकमा भने २६ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।

उम्मेदवारले काठमाडौंको स्वयम्भूस्थित केन्द्रीय भर्ना छनोट केन्द्र वा इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र दीपायलस्थित पृतना हेडक्वार्टरमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट भर्ती प्रक्रिया अघि बढाउन सक्नेछन्।

अनलाइन आवेदन फाराम भरेपछि त्यसको प्रिन्टसहित आवश्यक कागजात लिएर सम्बन्धित भर्ना केन्द्रमा स्वयं उपस्थित भई आवेदन दर्ता गराउनुपर्नेछ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।