जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने


काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गर्दै १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण स्वरोजगार उद्यम कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ मार्फत यस्तो व्यवस्था गरिएको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ।

संशोधित कार्यविधिमा सहुलियतपूर्ण कर्जाअन्तर्गत ‘जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा’ शीर्षक थप गरिएको छ। यसअन्तर्गत सम्बन्धित लक्षित व्यक्तिले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार कर्जा प्राप्त गर्न जेनजी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट जारी आधिकारिक प्रमाण वा सिफारिस आवश्यक पर्नेछ।

कार्यविधिले शहीद परिवारको दायरासमेत स्पष्ट गरेको छ। जसअनुसार जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका पति वा पत्नी, छोरा वा छोरी तथा बाबु वा आमा शहीद परिवारका रूपमा समेटिनेछन्।

संशोधित कार्यविधिको अनुसूची–१ मा समेत आवश्यक संशोधन गर्दै लक्षित समूहलाई प्रदान गरिने कर्जाको प्रक्रिया, सीमा तथा ब्याज अनुदानसम्बन्धी व्यवस्था थप स्पष्ट गरिएको छ।

सरकारको यो व्यवस्थाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संशोधित कार्यविधि जारी भएलगत्तै लागू हुने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।