इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी


इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।

फ्लोरेस टापुका छ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजीएस० का अनुसार सात दशमलव सात म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो । यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

शक्तिशाली परकम्पको डरले अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन् । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ सार्वजनिक संरचनामा क्षति पुगेको छ ।

राहतकर्मीले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन् । विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ ।

अधिकारीहरूले विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्क विच्छेद भएका दुर्गम गाउँमा राहत पुर्याउनु मुख्य चुनौती रहेको बताएका छन् ।

भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ । पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।