चाडपर्व नजिकिँदै गर्दा चिनीमा कालोबजारीको जोखिम : भारतबाट १० हजार क्विन्टल आयात गर्ने तयारी


काठमाडौँ । नेपालीहरुको प्रमुख चाडपर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा यस वर्ष पनि बजारमा चिनीको अभाव हुने संकेत देखिएको छ ।

भारतबाट चिनी आयातका लागि प्राप्त कोटाअन्तर्गत अधिकांश परिमाण अझै नेपाल भित्रिन नसकेकाले चाडपर्वको समयमा आपूर्ति प्रभावित हुने चिन्ता बढेको हो ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य बढेको छ, अभाव पनि हुन थालिसकेको उपभोक्ताको गुनासो आउन थालेको छ । शान्तिनगर स्थित किशोर किराना स्टोरका सञ्चालकले प्रयाप्त मात्रामा चिनी ल्याउन नसकेको बताएका छन् ।

उनका अनुसार, गोदामबाट चिनी मगाउँदा २÷३ बोरा मात्र दिने गरेको छ, त्यसमाथि मूल्य पनि बढेर आएको छ । अहिलेदेखि नै कम दिँदा अब मुख्य चाँडपर्वमा माग बढी हुने र माग अनुसार उपलब्ध गराउन नसक्ने उनले बताए ।

‘चाडपर्वका बेला चिनीको खपत सामान्य अवस्थाभन्दा झन्डै दोब्बर हुने गर्छ ।’ उनले भने, ‘केही समयअघिसम्म प्रतिकिलो ९५ देखि १०० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले बढेर खुद्रा बजारमा १२० रुपैयाँसम्म पुगेको छ ।’

छिमेकी मुलुक भारतले गत वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा चिनीको चरम अभाव हुनसक्ने त्रास फैलिएको थियो । भारत विश्वमै चिनीको प्रमुख उत्पादक र नेपालको मुख्य आयात बजार भएका कारण भारतीय निर्णयको असर नेपालमा पर्ने त्रास फैलिएको थियो ।

तर, जेठ १ गते नेपाल चिनी उद्योग संघले एक विज्ञप्ति जारी गर्दै अभाव नहुने भनिएको थियो । स्वदेशमै पर्याप्त चिनी मौज्दात भएको र आत्तिनु नपर्ने साथै मूल्य नबढ्ने भनिएको थियो ।

विश्व बजारमा इन्धनको मूल्य वृद्धि र कमोडिटी बजारमा आएको अस्थिरताका कारण खाद्यान्न तथा चिनीको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । भारतलगायत छिमेकी तथा तेस्रो मुलुकमा चिनीको मूल्य प्रतिडलरका हिसाबले बढ्दै गएको अवस्थामा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन थालेको छ । एक÷दुई महिनाको अन्तरालमा नै केजीमा १५ देखि २० रुपैयाँसम्म बढीसकेको छ । बाहिरबाट आउने चिनीको लागत मूल्य बढेसँगै नेपाल भित्रिने मूल्य पनि स्वतः महँगो परेको व्यवसायीहरुले बताएका छन् ।

यता, चाडपर्वलाई लक्षित गर्दै सरकारले भारतबाट १० हजार क्विन्टल चिनी आयातको तयारी अन्तिम चरणमा पु¥याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सूचना अधिकारी माधव मिश्रले जानकारी दिएका छन् । इन्डियन ‘जी टु जी’ मार्फत उक्त चिनी ल्याउन लागिएको उनको भनाई छ ।

बजारमा चिनीको कृत्रिम अभाव र मूल्यवृद्धिको गुनासो बढिरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनसँग हाल १ हजार १०० मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ । चाडपर्वका बेला बजारमा चिनीको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सहुलियत दरमा चिनी उपलब्ध गराउनका लागि यो पहल थालिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए ।
‘इन्डियन जीटुजी मार्फत १० हजार क्विन्टल चिनी आउँदै छ ।’ उनले भने, ‘अब आवश्यकता अनुसार थप पनि ल्याउने छलफल भइरहेको छ ।’

उनका अनुसार, तत्कालका लागि मन्त्रालयसँगको समन्वयमा २ हजार ५०० मेट्रिक टन चिनी ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । यस्तै, चाडपर्व नजिकिँदै गर्दा उपभोक्तालाई सुलभ मूल्यमा चिनी उपलब्ध गराउन मन्त्रालयसँगको समन्वयम ठुलो परिमाणमा चिनी ल्याउने प्रक्रिया अगाडि बढाइने भएको उनको भनाई छ ।

भारतबाट चिनी निर्यातमा केही कडाइ भएपछि आपूर्ति प्रणालीमा असहजता देखिएको हो । चाडपर्वको समयमा बजारमा चिनीको अभाव हुन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर रहेको र यसको छिट्टै नै उचित निकास निस्कने उनले जानकारी दिए ।

बजारमा चिनीको अभाव देखिन थालेको र मूल्यवृद्धिको गुनासो बढ्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आपूर्तिको व्यवस्था मिलाउन पहल अघि बढाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

‘हामीले उद्योगीहरूसँग तथ्यांक लिने र छलफल गर्ने काम गरेका छौँ,’ उनले भने, ‘कम्पनीहरूको मौज्दात बुझेर आयात सहजीकरण गर्ने छौँ ।’ उनका अनुसार, बजारमा चिनीको अभाव हुन नदिन एकातिर भारत सरकारसँग कूटनीतिक पहल मार्फत चिनी ल्याउने प्रयास भइरहेको छ भने अर्कोतर्फ नेपालभित्रै चिनीको उपलब्धता कति छ भनेर स्वदेशी उद्योगीहरूसँग तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।

स्वदेशी उत्पादन र मौज्दातको तथ्यांक आइसकेपछि कति चिनी अपुग हुन्छ भन्ने विश्लेषण गरेर मात्र यो वर्षको चाडपर्वका लागि आयातको कोटा निर्धारण गरिने र भारतसँग माग गरिने मन्त्रालयले जनाएको छ ।

बजारमा चिनी र ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको गुनासो आएपछि वाणिज्य विभागबाट अनुगमन भइरहेको मन्त्रालयको दाबी छ ।

यता, उपभोक्तावादीहरुले भने नेपालका चिनी उद्योगी तथा आयातकर्ताबीच मूल्यमा सिन्डिकेट हुने गरेको बताएका छन् । सशस्त्र प्रहरीले पछिल्लो समय सीमानामा कालो बजारीमार्फत आएका चिनी बरामद गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको ५१ हजार ४८५ टन चिनी आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

यसअघि पनि न्यून वर्षाका कारण उखु उत्पादन घटेपछि भारतले सेप्टेम्बर २०२३ मा नेपालतर्फ चिनी निर्यात रोकेको थियो ।
त्यतिबेला मुख्य चाडपर्वको समय पर्दा चिनीको मूल्य उल्लेख्य रूपमा बढेको थियो । त्यस वर्षको दसैंअघि अभावका बीच कालोबजारीमा चिनीको मूल्य ८५ रुपैयाँ प्रतिकिलोबाट बढेर १६० रुपैयाँसम्म पुगेको थियो । यसपालि पनि उपभोक्ताले यही नियति भोग्नुपर्ने अवस्था सिर्जना भएको उपभोक्तावादीहरूको चिन्ता छ ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार  ०७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।