उद्योग खोल्ने तयारी, कच्चा पदार्थ कहाँबाट ल्याउने ?


काठमाडौँ । वर्षौंदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ । हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भइसकेको छ भने विराटनगर जुट मिल्स, उदयपुर सिमेन्ट उद्योग, वीरगन्ज चिनी कारखानालगायत अन्य बन्द उद्योगको विस्तृत अध्ययन (डिडिए) भइरहेको छ ।

तर उद्योगका मेसिन मर्मत गरेर उत्पादन सुरु गर्नु मात्रै पर्याप्त नहुने देखिएको छ । लामो समय उद्योग बन्द हुँदा ती उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कृषि प्रणालीसमेत कमजोर भएकाले पुनः सञ्चालनपछि नियमित कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने प्रश्न खडा भएको हो ।

हेटौँडा कपडा उद्योगमा कपास, विराटनगर जुट मिल्समा जुट र वीरगन्ज चिनी कारखानामा उखु आवश्यक पर्छ । यी उद्योग बन्द भएपछि बजारको सुनिश्चितता नहुँदा किसानले क्रमशः ती बाली लगाउन छाडेका छन् । त्यसैले उद्योग पुनः सञ्चालनसँगै कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्नुपर्ने चुनौती सरकारसामु देखिएको छ ।

कपडा उद्योगलाई कपासको समस्या

हेटौँडा कपडा उद्योग सञ्चालनमा रहँदा पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङलगायत जिल्लामा कपास खेती हुने गरेको थियो । उद्योगसँगै बुटवल धागो कारखाना पनि सञ्चालनमा रहेकाले किसानले उत्पादन गरेको कपासले बजार पाउने अवस्था थियो ।

आर्थिक वर्ष २०५०/५१ मा ती पाँच जिल्लाका करिब ८ हजार भन्दा बढी किसानले ४ हजार २०० हेक्टर जमिनमा कपास खेती गरेका थिए । त्यस वर्ष करिब २ हजार ९३३ मेट्रिक टन कपास उत्पादन भएको कपास विकास कम्पनीको तथ्यांकमा उल्लेख गरिएको थियो ।

तर हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना बन्द भएपछि कपासको बजार खुम्चियो । बजार सुनिश्चित नभएपछि किसानले कपास छाडेर अन्य बाली लगाउन थाले । माओवादी द्वन्द्वका क्रममा कपास संकलन तथा प्रशोधन केन्द्रमा क्षति पुगेपछि उत्पादनको आधारभूत संरचना पनि कमजोर र नष्ट भयो । अहिले हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भए पनि नियमित उत्पादनका लागि आवश्यक कपासको स्रोत सुनिश्चित भइसकेको छैन । वर्षौंदेखि कपास खेतीबाट बाहिरिएका किसानलाई तत्कालै पुरानै अवस्थामा फर्काउन पनि चुनौती छ ।

जुट उद्योगमा आयातकै भर

विराटनगर जुट मिल्सका लागि पनि कच्चा जुटको आपूर्ति मुख्य चुनौती बनेको छ । कुनै समय नेपालमा उद्योगको माग धान्ने र निर्यात समेत हुनेगरि जुट उत्पादन हुने गरे पनि अहिले स्वदेशी उत्पादन निकै घटेको छ । जुट उद्योगी अमित जैनका अनुसार अहिले नेपालको आन्तरिक उत्पादनले जुट उद्योगको मागको करिब २० प्रतिशत पनि धान्न सक्दैन । “विगतमा हामीले कच्चा जुट निर्यात गथ्र्यौं तर अहिले हाम्रो आन्तरिक उत्पादनले २० प्रतिशत माग पनि धान्दैन,” जैनले भने, “अहिले कच्चा पदार्थका लागि भारत र बंगलादेशको भर पर्नुपर्ने अवस्था आएको छ ।”

उनका अनुसार गत वर्ष बंगलादेशले जुट निर्यातमा रोक लगाएपछि नेपाली जुट उद्योगसमेत प्रभावित भएका थिए । सञ्चालनमा रहेका ११ वटा जुट उद्योगमध्ये कच्चा पदार्थको अभावकै कारण ६ वटा उद्योग बन्द भइसकेका छन् । यस अवस्थामा विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउने हो भने उद्योगलाई आवश्यक जुटको दीर्घकालीन स्रोत कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न पनि समाधान गर्नुपर्ने देखिन्छ ।

चिनी उद्योगलाई उखुको अभाव

वीरगन्ज चिनी कारखानाका लागि पनि कच्चा पदार्थको समस्या उस्तै छ । कारखाना सञ्चालनमा रहेका बेला पर्सा, बारा, रौतहट लगायत जिल्लाका किसानका लागि उखु प्रमुख नगदेबाली थियो । आर्थिक वर्ष २०४७/४८ मा किसानले २३ लाख ९ हजार क्विन्टलभन्दा बढी उखु उत्पादन गरी वीरगन्ज चिनी कारखानालाई बिक्री गरेका थिए ।

कारखाना बन्द भएपछि उखुको बजार कमजोर भयो । निजी चिनी मिलबाट समेत समयमा भुक्तानी नपाउने समस्या देखिएपछि किसान उखु खेतीबाट क्रमशः बाहिरिँदै गए । पछिल्ला वर्षमा पर्सा र बारालगायत जिल्लामा समेत उखु खेतीको क्षेत्रफल घटेको छ । धेरै किसानले उखुको विकल्पमा धान, गहुँ, तरकारी तथा अन्य व्यवसाय रोजेका सरोकारवालाहरु बताउँछन् ।

त्यसैले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न मेसिन र पूर्वाधारको व्यवस्थापनसँगै नियमित रूपमा आवश्यक पर्ने उखुको उत्पादन र बजार सुनिश्चित गर्नुपर्ने अवस्था छ ।

उद्योगसँगै कच्चा पदार्थको आपूर्ति शृंखला बनाउनुपर्ने

लामो समय उद्योग बन्द हुँदा उद्योग र किसानबीचको सम्बन्ध टुटेको जानकारहरूको भनाई छ । उद्योगले बजार नदिएपछि किसानले कपास, जुट र उखु उत्पादन गर्न छाडेका छन् । अहिले उद्योग पुनः सञ्चालन गर्ने तयारी भइरहँदा त्यही आपूर्ति शृंखला पुनः निर्माण गर्नुपर्ने अवस्था आएको जानकारहरूको भनाई छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु गरिएको छ भने अन्य सात उद्योगको डिडिए भइरहेको छ । पुराना मेसिनको अवस्था, स्तरोन्नति आवश्यक पर्ने वा नयाँ मेसिन थप्नुपर्ने विषयमा पनि अध्ययन भइरहेको उनले बताए । “हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनका लागि मात्रै जिम्मा दिइएको हो,” सुवेदीले भने, “दीर्घकालीन रूपमा उद्योग कसरी सञ्चालन गर्ने भन्ने निर्णय हुन बाँकी छ ।”

उद्योग सञ्चालनको लागि आवश्यक पर्ने धागो उत्पादनमा पनि सरकारले ध्यान दिनुपर्ने बुटवल उद्योग वाणिज्य संघ कपडा तथा उद्यमी वस्तु उपसमितिका अध्यक्ष राकेश कुमार कासोधनको भनाई छ । “हेटौँडा कपडा उद्योग भनेको एउटा ब्राण्ड हो । यो पुनः सञ्चालनमा आएपनि पुरानै गुणस्तरमा ल्याउन सकेमा राम्रो बजार पाउँछ,” उनले भने, “तर उद्योग संचालनको लागि धागो आवश्यक पर्छ धागोको लागि बुटवल धागो उद्योग चल्नपर्छ, त्यसको लागि किसानलाई राहत दिउर कपास खेतीतर्फ आकर्षित गर्नुपर्छ ।”

सरकारले उद्योग सञ्चालनको मोडेलबारे समेत छलफल गरिरहेको छ । तर उद्योग सञ्चालनको मोडेलसँगै कच्चा पदार्थको नियमित आपूर्तिका लागि किसानलाई उत्पादनमा फर्काउने, बजार सुनिश्चित गर्ने र समयमै भुक्तानीको व्यवस्था गर्ने विषयलाई पनि योजनामा समेट्नुपर्ने देखिन्छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको पहल सकारात्मक भए पनि विगतको अनुभवबाट सिकेर अघि बढ्नुपर्ने बताउँछन् ।

उनका अनुसार यस्ता उद्योग विगतमा व्यवस्थापकीय कमजोरीका कारण बन्द हुने अवस्थामा पुगेका थिए । त्यसैले उद्योग सञ्चालन गर्दा सरकारसँगै निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने उनको सुझाव छ “विगतबाट सिकेर निजी क्षेत्रलाई पनि सहभागी गराएर अगाडि बढ्न सकेमा दीर्घकालीन हुन्छ,” शर्मा भन्छन् ।

सरकारले बन्द उद्योग पुनः सञ्चालनको तयारी गरिरहँदा अबको चुनौती मेसिन चलाउने मात्र नभई उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको दिगो स्रोत तयार गर्नु पनि भएको जानकारहरूको भनाई छ । किसानले उत्पादन गरेको कपास, जुट र उखुको बजार सुनिश्चित नगरी उद्योग सञ्चालन गरे फेरि कच्चा पदार्थका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था आउन सक्ने सरोकारवालाहरूको भनाई छ । उद्योग पुनः सञ्चालनको योजनासँगै कच्चा पदार्थ उत्पादन र आपूर्ति शृंखला पुनर्निर्माणलाई पनि जोड्नुपर्ने उनीहरूको मत छ ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार  ०६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।