राष्ट्र बैंकले भन्यो – बाढी प्रभावित क्षेत्रका ग्राहकलाई कागजात बिना नै बैंकिङ सेवा दिनु


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकलाई बिना कागजात पनि सेवा दिन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले प्राकृतिक विपदका कारण महत्त्वपूर्ण कागजात गुमाएका नागरिकहरूलाई बैंकिङ सेवामा पहुँच पुर्याउन यस्तो निर्देशन दिएको हो ।

बैंकले क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै ग्राहकको पहिचानका लागि लचकता अपनाउन निर्देशन दिएको छ ।

ग्राहकले आफ्नो चेक वा कार्ड गुमाएको भए तापनि बैंकमा पहिले नै रहेको हस्ताक्षरको नमुना, ग्राहकको फोटो, र संस्थामा उपलब्ध अन्य व्यक्तिगत विवरणहरूको आधारमा ग्राहकको पहिचान यकीन गरी सेवा प्रदान गर्नुपर्ने छ ।

हालै रसुवा लगायतका विभिन्न जिल्लाहरूमा आएको प्राकृतिक विपदबाट प्रभावित भई धेरै ग्राहकले चेक, एटीएम कार्ड, मोबाइल फोन तथा अन्य परिचय खुल्ने कागजातहरू गुमाएका छन् । यस्तो विषम परिस्थितिमा सर्वसाधारणलाई बैंकिङ कारोबार गर्न समस्या नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो सहजीकरण गरेको हो ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।