काठमाडौँ । सानिमा बैंक लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सभा बोलाएको हो ।
बैंकले असोज १२ गते, सोमबार, आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे २२ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अग्राधिकार शेयरधनीलाई शेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





प्रतिक्रिया