२१ बुँदे कार्ययोजनापछि सेयर बजारमा उछाल, नेप्से ४८ अंक बढ्यो


काठमाडौँ । अर्थ मन्त्रालयले पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी अवधि घटाउने, पूँजीगत लाभकर कम गर्ने, संस्थागत लगानी बढाउने र नयाँ वित्तीय उपकरणको विकास गर्ने योजना अघि सारेसँगै बजारमा उत्साह देखिएको हो ।

मंगलबार सेयर बजार परिसुचक (नेप्से) ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब दोब्बरले बढेको छ । मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर ७८ हजार ८६९ पटक किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ । सिन्धु विकास बैंक ११ प्रतिशत र मल्टीपर्पस फाइनान्स ९.५ प्रतिशतभन्दा बढेका छन् ।

यस्तै आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो । उक्त कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका १३ वटै उपसमूहका परिसूचक बढेका छन् । निर्जीवन बीमा उपसमूह २.८२ प्रतिशतले बढ्दा वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।

सरकारले पूँजी बजारमा लगानी विस्तार र नीतिगत सुधारका विषय एकैपटक अघि सारेपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ । कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा लगानी गरेपछि होल्ड गर्नुपर्ने अवधि ६ महिनाबाट घटाएर ४५ दिनमा कायम गर्ने व्यवस्था अघि सारिएको छ ।

त्यस्तै, सूचीकृत सेयरमा व्यक्तिले प्राप्त गर्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव गरिएको छ । ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्नेका लागि ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम होल्ड गर्नेका लागि ५ प्रतिशत कर कायम गर्ने कार्ययोजनामा उल्लेख छ । हाल यस्तो कर क्रमशः ७.५ प्रतिशत र १० प्रतिशत छ ।

यस्तै सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा म्युचुअल फन्डलगायत संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न सहज बनाउने नीति समेत अघि सारेको छ । बैंक तथा वित्तीय संस्थाको पूँजी बजार लगानीसम्बन्धी सीमा, जोखिम भार तथा धितो पर्याप्ततालगायत व्यवस्था पनि पुनरावलोकन गर्ने योजना छ ।

यस्तै, आईपीओ निष्काशन प्रणालीमा सुधार गर्दै क्षेत्रगत योग्यता, मूल्य अन्वेषण र सेयर बाँडफाँट प्रणाली व्यवस्थित गर्ने तथा म्युचुअल फन्ड, ऋणपत्र बजार, मुद्रा बजार जस्ता उपकरणको विकासका लागि आवश्यक नीति तथा पूर्वाधार तयार गर्ने सरकारको योजना छ ।

धितोपत्र बजारमा मार्जिन लेन्डिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङलगायतका उपकरण सञ्चालनका लागि कानुनी व्यवस्था गर्ने तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना अघि बढाउने कार्ययोजनामा उल्लेख छ । गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तथा हरित, विपद्, सामाजिक र परियोजना विशेष ऋणपत्रको विकासलाई प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।