सुदीप आचार्यको नेतृत्वमा डिजिटल टीभी सेवाप्रदायकहरुको एशोसिएसन गठन


डिजिटल टीभी सेवाप्रदायकहरु एकजुट हुने शिलसिलामा शुक्रबार एउटा नयाँ संस्थाको उदय भएको छ । उपभोक्ताहरुको हकहीत संरक्षण गर्ने उद्देश्यका साथ डिजिटल टीभी अपरेटर एसोसिएसन अफ नेपाल गठन भएको हो । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि विभिन्न टीभी सेवाप्रदायकहरुको प्रतिनिधित्वमा संघ गठन भएको घोषणा गरिएको छ ।

डिजिटल टेलिभिजन सेवा प्रदायकको संगठन नहुँदा कतिपय निर्णयहरु स्वविवेकपूर्ण किसिमले लिनुपर्ने अवस्था रहेको भन्दै त्यस किसिमको अवस्थाको अन्त्यका लागि सांगठनिक संरचना तयार पारिएको बताइएको छ । डिश मिडिया नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको अध्यक्षतामा टीभी अपरेटर एसोसिएसन अफ नेपाल गठन भएको हो ।

‘भारतीय सञ्चार माध्यममा हाम्रो प्रधानमन्त्रीको बारेमा नकारात्मक सामग्री प्रवाह भएको सन्दर्भमा टीभी सेवाप्रदायकहरुले नै भारतीय सञ्चार माध्यमका सामग्री रोक्नु पर्ने आवाज उठाएका थिए । तर सबै एक स्थानमा नभएकाले कार्यान्वायनमा केही असहज परिस्थिति बनेको थियो । यस्ता विषयका साथै समग्र विषयमा संगठनिक संरचनामा काम गर्नु पर्ने आवश्यक्ता देखेर हामीले संस्थालाई औपचारिक रुपमा ल्याएका हौं’ एशोसिएसनका नव नियुक्त अध्यक्ष आचार्यले भने ।

आचार्यको अध्यक्षतामा बनेको संगठनमा म्याक्स टीभीका दिनेश सुवेदी, मेरो टीभीका प्रकाश घिमिरे, भाय टीभीका विनय बोहोरा, ब्रोड टीभीका विनोद तिमिल्सिना, नेट टीभीका निरन राज भण्डारी, प्रभु टीभीका रवीन सुवेदी र क्लियर टीभीका अमित थापा सदस्य छन् ।