बैंक अफ काठमाण्डू र अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंक अफ काठमाण्डू र अपि पावर कम्पनीले शुक्रबारदेखि तिहार विदाको अवधिमा शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको साधारण सभाका लागि कात्तिक २८ गते शुक्रबार र अपि पावरले पछिल्लो २ आर्थिक वर्षको साधारण सभा गर्नका लागि मंसिर १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दै छन् ।

दुवै कम्पनीको शुक्रबार शेयरधनी दर्ता पुस्तिका बन्द हुने भएकाले बिहीबारसम्ममा शेयर किन्नेहरुले मात्र प्रस्तावित लाभांश पाउने छन् । अपि पावरको अघिल्लो आर्थिक वर्षको १६ औँ वार्षिक साधारण सभा प्रयोजनको लागि भने २०७६ चैत १ गते नै शेयरधनी दर्ता पुस्तिका बन्द भईसकेको छ ।

बैंक अफ काठमाण्डूले मंसिर २० गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

उता अपि पावरले मंसिर ८ गते बोलाएको सोह्रौँ तथा सत्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५ ७६ को कमाईबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७६ ७७ को कमाईबाट ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

दुबै आर्थिक वर्षको बोनस शेयर तथा हिले निष्काशन भईरहेको ४७ प्रतिशत हकप्रद पूँजीकरण पश्चात कायम हुने चुक्ता पूँजीको ८५.६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गर्दैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।