गाउँमा भन्दा सहरमा युवा बढी बेरोजगार, शिक्षित बेरोजगारीको संख्या बढ्दै


काठमाडौँ । नेपालमा ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बेरोजगारी दर उच्च रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सहरी क्षेत्रमा बेराजगारी दर बढ्दै गएको देखिएको हो । ग्रामीण क्षेत्रको बेरोजगारी दर ४.१ प्रतिशत छ । तर, सहरी क्षेत्रको बेरोजगारी दर ग्रामीण क्षेत्रको भन्दा अधिक अर्थात् ५.६ प्रतिशत छ ।

उमेर समूह अनुसार बेरोजगारी दर विश्लेषण गर्दा १५–१९ वर्ष समूहमा ९.३ प्रतिशत बेरोजगारी छ भने दोस्रोमा १९–२५ वर्ष उमेर समूहका युवामध्ये ७.६ प्रतिशत र २५–२९ वर्ष उमेर समूहका युवामध्ये ६.७ प्रतिशत बेरोजगार छन् ।

सरकारी तथा निजी क्षेत्रका कुनै पनि प्रतिष्ठानमा थोरै संख्यामा मात्र रोजगारीको अवसर खुल्दा पनि अत्यधिक संख्यामा पर्ने आवेदनले मुलुकमा बेरोजगारहरूको संख्या बढेको देखाउँछ ।

पछिल्लो समय शिक्षित बेरोजगारी अझ बढेको छ । मुलुकको शिक्षा नीतिले सीपमूलक र उद्यमशील भन्दा ज्ञानमूलक र सैद्धान्तिक शिक्षालाई बढी जोड दिएका कारण शिक्षित बेरोजगारहरूको संख्या बढेको विज्ञहरू बताउँछन् ।

लाखौँ संख्यामा नेपाली युवा कामका लागि बिदेसिएका छन् । देशभित्रै पनि थोरै संख्यामा खुल्ने रोजगारीको अवसर प्राप्त गर्न तँछाड मछाड गर्दै आवेदन दिने युवाको भिडलाई नियाल्दा मुलुकमा साँच्चै नै बेरोजगारीको अवस्था बढी रहेको अनुमान गर्न सकिन्छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको युवा बेरोजगारी दरको नतिजा अनुसार नेपालमा बेरोजगारी दर ८.६ प्रतिशत छ । सबैभन्दा धेरै मनाङको बेरोजगारी दर १५.२ प्रतिशत छ भने सबैभन्दा कम बेरोजगारी दर भोजपुरमा ३.२ प्रतिशत छ ।

तथ्यांक अनुसार प्रदेशका आधारमा सबैभन्दा बढी युवा बेरोजगार दर गण्डकी प्रदेशमा १०.९ प्रतिशत छ भने सबैभन्दा कम कोसी प्रदेशमा ६.९ प्रतिशत छ ।
त्यस्तै, मधेसमा ९.६ प्रतिशत, लुम्बिनीमा ९.३ प्रतिशत, बाग्मतीमा ८.५ प्रतिशत, कर्णालीमा ८.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७.६ प्रतिशतयुवा बेरोजगार रहेको तथ्यांकमा उल्लेख छ ।

१० वर्ष माथिको ३४.७ प्रतिशत जनसंख्या आर्थिक रूपले निष्क्रिय

कार्यालयको तथ्यांकअनुसार १० वर्षभन्दा माथि उमेर समूहको कुल जनसंख्याको ३४.७ प्रतिशत जनसंख्या आर्थिक रूपले सक्रिय नरहेको पाइएको छ । संख्यात्मक रूपमा हेर्दा १० वर्ष माथिका कुल ८२ लाख व्यक्ति कुनै पनि अर्थोपार्जनमा संलग्न नभएको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ०७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।