काठमाडौँ । नेपालमा लक्ष्यको ४० प्रतिशत पनि वैदेशिक अनुदान प्राप्त हुने गरेको छैन । विगत ५ वर्षको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्दा अनुदान लक्ष्यको ४० प्रतिशत पनि प्राप्त नहुने देखिएको हो ।
नेपालको आर्थिक विकास र समृद्धिको लागि वैदेशिक अनुदान महत्वपूर्ण हुने भन्दै सरकारले प्रत्येक वर्षको बजेटमा अनुदानको लक्ष्य निर्धारण गरेको हुन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र आपतकालीन अवस्थाहरुमा अनुदानको आवश्यकता पर्ने सरकारको ठहर हुन्छ ।
तर, अनुदान प्राप्त गर्दा नेपालले लक्षित परिणामको आधा भन्दा पनि कम मात्र अनुदान प्राप्त गर्ने गरेको सरकारी तथ्यांकहरुले नै देखाउछ ।
यसरी लक्ष्य अनुसार अनुदान रकम प्राप्त नभएमा बजेटको सफलता नहुने र विकास निर्माणमा पनि असर पर्ने अर्थविद्हरुको भनाइ छ ।
चालु आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा हालसम्म २० अर्ब ५३ करोड ७४ लाख रुपैयाँ अनुदान प्राप्त भइसकेको छ ।
गत आवमा सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य राखेको थियो । तर तुलना अवधिमा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्र अनुदान प्राप्त भएको थियो ।
यस्तै अघिल्लो आर्थिक वर्ष ७९\८० मा सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य राखेकोमा तुलना अवधिमा ४ अर्ब ८० करोड २० लाख रुपैयाँ मात्र अनुदान प्राप्त भएको थियो । जुन कुल लक्ष्यको ८.६६ प्रतिशत मात्र हुन आउँछ ।
आर्थिक वर्ष ७८\७९ मालक्ष्यको २३.१७ प्रतिशत मात्र अन्दान प्राप्त भएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त आर्थिक वर्षमा ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य रहेकोमा १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो ।
आर्थिक वर्ष ७७\७८ मा सरकारले ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा १० अर्ब ७ करोड ५४ लाख रुपैयाँ मात्र अनुुदान प्राप्त भएको तथ्यांकले जनाएको थियो । जुन कुल लक्ष्यको १६.६५ प्रतिशत मात्र हुन्छ ।
यस्तै आर्थिक वर्ष ७६\७७ मा सरकारले ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ अनुदान प्राप्तीको लक्ष्य राखेकोमा १६ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । जुन कुल लक्ष्यको २८.६८ प्रतिशत मात्र थियो ।
लक्ष्य अनुसारको वैदेशिक अनुदान प्राप्त गर्नको लागि सरकारी निकायहरुले दक्षता र पारदर्शिता बढाउन आवश्यक रहेको छ । यस्तै अनुदान सहयोग सहि र प्रभावकारी प्रयोगको लागि सही व्यवस्थाउन र निगरानी प्रणाली आवश्क रहेको छ । यस्तै दाताहरुसँग निरन्तर संवाद र सम्पर्क स्थापित गर्नुपर्ने अर्थविद कृष्णहरि बास्कोटा बताउँछन् । नेपाल सरकारले यी र यस्तै पक्षहरुको सुधार गर्न सकेमा वैदेशिक लगानीको प्राप्ती बढ्ने छ ।












प्रतिक्रिया