अर्थविद् कृष्णहरि बास्कोटालाई ३ प्रश्न

‘निर्यात ऐतिहासिक रूपमा बढ्यो, तर आयातको मात्रा अत्यधिक हुँदा व्यापार घाटा पनि चुलियो’


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले २० खर्ब ८१ अर्ब रुपैयाँ वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२४ प्रतिशतले बढी हो ।

उक्त अनुपातमा व्यापार हुँदा यो वर्ष निर्यातको हिस्सा ऐतिहासिक रूपमा ८१.८० प्रतिशतले बढेको छ । गत वर्ष आयातको हिस्सा १३.२५ प्रतिशतले मात्र बढेको हो । निर्यातमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा घट्नुको सट्टा झन् बढ्दै गएको छ ।

३ प्रश्नको आजको अंकमा हामीले अर्थविद् कृष्णहरि बास्कोटासँग यिनै विषयमा कुरा गरेका छौँ ।

सरकारले निर्यात ऐतिहासिक रूपमा बढ्यो भनिरहेको छ । तर, निर्यात बढ्दा पनि व्यापार घाटा घट्नुको सट्टा बढ्दै गएको छ, किन ?

नेपाल जस्तो मुलुकमा व्यापार घाटा हुनु स्वाभाविकै हो । जुन मुलुकमा उत्पादन कम हुन्छ, त्यो मुलुकको व्यापार घाटामा जान्छ नै ।
नेपालमा मेसिन, औजार, कलकारखाना, विद्युतीय सामग्रीहरू उत्पादन नै हुँदैन । यसो हुँदा हाम्रो व्यापार घाटा त सदैव भइरहन्छ । करिब वर्षमा २० खर्बको आयात हुँदा २ खर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो ।

गत आर्थिक वर्षमा उक्त निर्यात दर वृद्धि भएर लगभग ३ खर्ब पुगेको छ । त्यसकारण ऐतिहासिक निर्यात भनिएको हो । अहिले नै नेपालको व्यापारमा आयात र निर्यातको अवस्था बराबर हुनु असम्भव छ ।

प्रजातन्त्र आएदेखि नै नेपालले व्यापार घाटा बेहोरिरहेको छ । नेपालको व्यापार घाटा नभएको त लिच्छवीकालमा मात्र हो । त्यतिबेला नेपालले चीनबाट नुन र भारतबाट मट्टीतेल मात्र आयात गथ्र्यो । यी दुई वस्तु मात्र आयात हुँदा व्यापार सन्तुलित थियो ।

विभिन्न देशसँग दौत्य सम्बन्ध भएपछि निर्यात र आयात दुवै हुने गरेको हो । अन्य देशको सामान पनि प्रयोग हुन थाल्यो र हाम्रो उत्पादन पनि निर्यात हुन थालेको हो । त्यो समयदेखि नै व्यापार घाटा बढेको हो ।

व्यापार घाटा कम गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य कस्तो हुनुपर्छ ?

व्यापार घाटा कम गर्न सरकारले खासगरी वैदेशिक व्यापारका निमित्त खुला नीति अबलम्बन गर्नुप¥यो । प्रत्यक्ष वैदेशिक लगानी ल्याउनुपर्छ । विदेशी लगानी ल्याउने निजी क्षेत्रले हो । कुनै पनि विदेशी लगानीकर्ताले लगानी गर्दा आफूसँगको साझेदारी गर्ने व्यक्तिसँगको सम्पर्कमा लगानी गर्ने गर्छन् ।

विभिन्न ठुलठुला कम्पनीहरूले विदेशी लगानीकर्ता बढाउन सरकारसँग सहकार्य गर्नुपर्छ । सहकार्य गर्दा लगानीसँगै उत्पादन र रोजगारी पनि बढ्छ ।

त्यस्तै, सरकारले सम्भव भएसम्म कम्तीमा १ जिल्ला १ औद्योगिक क्षेत्र सञ्चालन गर्न सकियो भने उत्पादन बढ्छ । हाल निर्यात दर बढ्नमा मुख्य भूमिका तेलको छ । त्यस्तै निर्यात हुने वस्तुहरू उत्पादनमा सरकार तथा निजी क्षेत्रले ध्यान दियो भने व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ ।

व्यापार घाटा बढ्नुलाई दीर्घकालीन आर्थिक जोखिमका रूपमा लिइन्छ कि लिइँदैन ?

व्यापार घाटा हुने मुलुक असजिलो त हुन्छ । व्यापार घाटा हुनु राम्रो त होइन । जुन देशले निर्यात बढी गर्न सक्यो, उक्त देशलाई उत्कृष्ट मानिन्छ । नेपालमा आयात मात्रै बढेर निर्यात हुन सकेन भने असर त पर्छ ।

राम्रोसँग सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रबीच सहकार्य गरेर कार्य गर्दा आर्थिक जोखिम नहोला भन्ने विश्वास लिएका छौँ । मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्न सकियो भने जोखिम हुँदैन ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।