काठमाडौँ । कारोबारमा लाग्दै आएको भ्याट हटेपछि अन्तरबैंकिङ्ग कारोबार बढ्ने आशा गरिएकोमा झन् घटेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिकहुँदा बैंकहरूले अन्तरबैंक कारोबार कम गरेको देखिएको हो ।
यसअघि आर्थिक वर्ष सन् २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अन्तरबैकिङ्ग कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेका थिए ।
अर्थमन्त्रीको उक्त निर्णयसँगै अन्तरबैंकिङ्ग कारोबारमा कमी आएको थियो । तर चालु आवको बजेटमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अन्तरबैंकिङ्ग कारोबारमा लाग्दै आएको भ्याट हटाए । गत जेठ १५ गते संघीय संसदमा चालु आवको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सोही दिनदेखि लागू हुने गरी भ्याट हटाएका थिए ।
राष्ट्र बैंकको गत आव र अघिल्लो आवको तथ्यांक हेर्दा गत आवमा अन्तरबैंकिङ्ग कारोबारमा गिरावट आएको थियो । यसमा पनि वाणिज्य बैंकहरुको अन्तरबैंकिङ्ग कारोबारमा ठुलो गिरावट आएको थियो । कारोबारमा लाग्दै आएको भ्याट हटेपछि अन्तरबैंकिङ्ग कारोबार बढ्ने आशा गरिएकोमा झन् घट्यो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता उपलब्ध हुँदा अन्तरबैंक कारोबार घटेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितको भनाइ छ । बैंकहरुसँग लगानीयोग्य सहज हुनु नै अन्तरबैंक कारोबार घट्नुको मुख्य कारण रहेको भन्दै उनले भने,“बैंकहरुले आफ्नो तरलता आफै व्यवस्था गरेका छन् भन्ने बुझिन्छ ।”
यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली पनि राष्ट्र बैंकका प्रवक्ताको भनाई समर्थन गर्दै बजारमा तरलताको अवस्था सुदृढ रहेको दाबी गर्छन । उनका अनुसार, “अन्तरबैंक कारोबार हुने भनेको कुनै बैंकसँग बढी र कुनै बैंकसँग कम नाफा भएमा हो तर पछिल्लो समय प्रायः बैंकहरु नाफामा नै भएकोले यस्तो कारोबारमा कमी आएको छ । बैंकहरुसँग पर्याप्त तरलता भएकोले राष्ट्र बैंकले ठुलो मात्रामा निक्षेप संकलन गरिरहेको छ ।
गत आर्थिक वर्षको असारमा वाणिज्य बैंकहरुले ४० अर्ब ६५ करोड रुपैयाँको मात्र अन्तरबैंक कारोबार गरेका छन । अघिल्लो आर्थिकको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ६२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको जेठमा वाणिज्य बैंकहरुको अन्तरबैंक कारोबार ६० अर्ब ५३ करोड रुपैयाँको मात्र रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब २४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आवको वैशाखमा महिनामा २ खर्ब ९० अर्ब ६० करोड १४ लाख रुपैयाँ रुपैयाँ रहेको वाणिज्य बैंकहरुको अन्तरबैंकिङ्ग कारोबार भएकोमा गत आर्थिक वर्षमा १ खर्ब ७ अर्ब ५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अघिल्लो आवको चैत महिनामा २ खर्ब ९१ अर्ब ५० करोड २१ लाख रुपैयाँको अन्तरबैकिङ्ग कारोबार भएकोमा गत आवमा उक्त रकम घटेर २ खर्ब १ अर्ब १० करोड ४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको फागुन महिनामा २ खर्ब ७९ अर्ब २० करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार गरेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँको कारोबार गरेका राष्ट्र बैकको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैगरि आर्थिक वर्ष २०८०/८१ को माग महिनामा २ खर्ब ७९ अर्ब २० करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार भएकोमा गत आवको मागमा वाणिज्य बैंकहरुको कारोबार रकम १ खर्ब ९१ अर्ब ९० करोड रुपैयाँमा खुम्चिएको थियो ।
यस्तै अघिल्लो आवको पुसमा २ खर्ब ३५ अर्ब ३१ करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार हँुदा गत आवको पुसमा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब ३६ करोड रुपेयाँकोे मात्र कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आवको मंसीर महिनामा ३ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार गरेका वाणिज्य बैंकहरुले गत आवको मंसीरमा १ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँको मात्र अन्तरबैंकिङ्ग कारोबार गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनामा ४ खर्ब ३४ अर्ब २१ करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार भएकोमा गत आवको सोहि अवधिमा ९९ अर्ब ५ करोड रुपैयाँको मात्र कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै अघिल्लो आर्थिक वर्षको असोज महिनामा ३ खर्ब ८५ अर्ब ३१ करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार भएको वाणिज्य बैंकहरुमा गत आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको मात्र अन्तरबैंकिङ्ग कारोबार भएको थियो ।
अघिल्लो आर्थिक वर्षको भदो महिनामा ३ खर्ब ६२ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको वाणिज्य बैंकहरुमा गत आर्थिक १ खर्ब ३८ अर्ब ६० करोड रुपैयाँको मात्र अन्तरबैकिङ्ग कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा वाणिज्य बैंकहरुले ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँको अन्तरबैंकिङ्ग कारोबार गरेका थिए । गत आर्थिक वर्षको साउन महिनाको वाणिज्य बैंकहरुको अन्तरबैंकिङ्ग कारोबार ५१ अर्ब ५० करोड रुपैयाँको मात्र रहेको छ ।












प्रतिक्रिया