जेन जी आन्दोलनले दैनिक उपभोग्य वस्तु नपाउने त्रासमा उपभोक्ता

उद्योगी व्यवसायी भन्छन् ‘समस्या हुँदैन’


काठमाडौँ । यहि भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनले दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित हुँदा उपभोक्ता चिन्तित बनेका छन् । आन्दोलनका कारण उत्पन्न असहज परिस्थितीले यातायातका साधनहरु केही दिन चल्न नसकेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित बनेको थियो । देशभर त्रासको वातावरण सिर्जना भएपछिको अवस्थामा लुटपाटका घटना तिब्र हुनु, वस्तुको आपूर्ति तथा बिक्री वितरण प्रणाली प्रभावित हुनु लगायत कारणले उपभोक्ता वस्तु नपाइने चिन्तामा परेका हुन् ।

हिंसात्मक आन्दोलन यताका ४ दिनमा उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्याँस सहज रुपमा पाउन सकिरहेका छैनन् । जसका कारण दैनिक जीवनयापन नै मुस्किल हुन थालेको भन्दै उनीहरु भोलीको चिन्ता गर्न थालेका छन् ।

बजारमा दैनिक उपभोग्य वस्तु र ग्याँस सहज रुपमा पाउन नसकेको गुनासो गर्ने उपझोक्ताहरुले कालोबजारी बढेकोतर्फ ध्यानाकर्षण गराएका छन् । पछिल्ला ३ दिनको तुलनामा राजधानीमा साना पसलहरु खुल्न थालेका छन् भने उपभोक्ताहरु पनि आवश्यक सामान खरिद गर्न त्यस्ता पसलमा पुग्ने गरेका छन् । जसका कारण राधानीका भित्री सडकहरुमा चहलपहल भने बढेको छ ।

खाद्य किराना व्यवासायी संघले बजारमा दैनिक उपभोग्य वस्तु र ग्याँसको अभाव नभएको बताएको छ । संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठका अनुसार कुनै पनि वस्तुको अभाव नभए पनि पसल बन्द भएको अवस्थामा अभाव देखिएको हो । उनी भन्छन, “अहिले कुनै पनि दैनिक उपभोग्य वस्तु तथा ग्याँसको अभाव भएको छैन, तर पसल नखुलेको अवस्थामा अभाव भएको हो ।” पसलहरु सञ्चालनमा आउँदा अभाव नहुने र आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ । चाडपर्व नजिकिँदै गरेको अवस्थामा व्यवसायीहरुसँग भण्डारण बढी हुने भएकाले अभाव नहुने उनको भनाई छ ।

साथै तेल उत्पादक संघले पनि बजारमा खाने तेलको अभाव नभएको दाबी गरेको छ । संघका अनुसार अन्तर्राष्ट्रिय स्तरमै मूल्यवृद्धि भएर कच्चा पदार्थ महङ्गो हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असरले अलिकति महङ्गो भएको छ, तर अभाव भने भएको छैन । नेपाल घ्यू तेल उत्पादक संघका अध्यक्ष बिकास दुगडका भन्छन्, “तेलको मूल्यमा सामान्य वृद्धि भएको छ तर बजारमा सर्टेज भएको वा हुने अवस्था छैन ।” उनका अनुसार तेलको लागि चाहिने आवश्यक सम्पर्ण कच्चा पदार्थ आयात गर्नुपर्ने र उतै मूल्य बढेकाले नेपालमा तेलको भाउ केही बढेको छ ।

अन्तर्राष्ट्रियस्तरमै विभिन्न कारणहरुले मूल्य वृद्धि भइरहेको छ । उनी भन्छन्, “विगत लामो समयदेखि चलिरहेको रुस युक्रेन युद्धका कारण खाने तेलको विश्व बजार प्रभावित भएको छ । अन्तर्राष्ट्रिय स्तरमै खाने तेलको कच्चा पदार्थको मूल्य प्रतिदिन बढ्दै गएको छ ।”
खाना पकाउने एलपी ग्याँसको पनि अभाव नभएको भन्दै व्यवसायीहरुले हल्लाको पछाडि नलाग्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।

एलपी ग्याँस बिक्रेता संघका अध्यक्ष ग्यानेश्वर अर्यालले ग्याँसको आपूर्ति सहज हुँदै गएको भन्दै अभाव नहुने दाबी गरे । आन्दोलनका कारण केही दिन ग्याँसको ढुवानी नभएपनि अहिले नेपाली सेनासँग समन्वय गरेर ढुवानी सहज बनाइ सकिएको उनको भनाई छ । उनले उपभोक्तालाई नआत्तिन आग्रह गर्दै हल्लाको पछाडी लागेर अनावश्यक भण्डारण नगर्न भनेका छन् ।

साथै उनले आन्दोलनको समयमा आतंकित पार्ने काम नगर्न सबैमा आग्रह गरेका छन् । संघ आफैले बजारमा अनुगमन गरेको अवस्थामा अभाव र मूल्यवृद्धि नभएको उनको भनाई छ । चाडपर्वको समय नजिकिँदै गर्दा भन्सार कार्यालयहरुमा आगजनी र तोडफोड हुँदा केही दिन असहज भए पनि आपूर्ति नियमित हुने क्रममा रहेको अर्यालले बताए ।

आन्दोलनको समयमा आतंक फैलाउने र त्रासको वातावरण सिर्जना भए पनि अहिले त्यो अवस्था नरहेको भन्दै ग्यास उद्योगीहरुले आवश्यक्तमभन्दा धेरै ग्याँस खरिद नगर्न आग्रह गरेका छन् । एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले केहि स्थानमा समस्या भएपनि उपभोक्तालाई समस्या पर्ने अवस्था नरहेको बताए । पछिल्लो घटनाक्रमहरुले केहि अवरोध भएपनि शुक्रबारदेखि आयल निगमले सबै निकायलाई पत्राचार गरेर आर्पूर्ति प्रणाली सहज हुने उनको विश्वास छ । सुरक्षा निकायहरुसँगको समन्वयमा सवारी आवागमन सुरक्षित र निवार्ध बनाउने काम भइरहेको बताएका उनले ढुवानी सहज हुने बताए । उद्योगहरुमा क्षति नभएको तर निषेधाज्ञा र कफ्र्यको कारणले डिलरहरुसम्म पु¥याउन समय लागेको घिमिरेको भनाई छ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।