काठमाडौँ । यो वर्षको दशैंमा मासुको खपत घट्ने अनुमान सम्बन्धित निकायहरुले गरेका छन् । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनको क्रममा भएको आगजनी तोडफोडले गर्दा निजी र सरकारी क्षेत्रमा खर्बौ रुपैयाँको क्षति भएको छ ।
आन्दोलनको कारण सिर्जना भएको विषम परिस्थितिले गर्दा यो वर्षको दशैंमा मासुको खपत घट्ने अनुमान सरकारी निकाय र व्यापारीहरुको छ । यसका साथै उपत्यका छोड्नेहरुको संख्या बढेको कारणले गर्दा उपत्यकामा मासुको खपत घट्ने अनुमान गरिएको हो ।
धेरैले चाडपर्वको मुखमा आफन्त गुमाएको, रोजगारी गुमाएको, घाइतेहरु हुनु लगायत विभिन्न कारणहरुले गर्दा मासुको खपत घट्ने देखिएको हो । विभागका अनुसार गत वर्ष उपत्यकामा करिब ५० हजार खसीबोका खपत भएको थियो । यो वर्षको दशैंमा करिब ४५ हजार खसीबोका खपत हुने अनुमान गरिएको विभागका पशु चिकित्सक हरि सिंह भाटले बताए ।
यो वर्षको दशैंको लागि नेपाल व्यवसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकामा मंगलबारदेखि खसीबोका भित्र्याउने लक्ष्य रोखिएका जनाएको छ ।
महासंघले भने १ अर्ब ५ करोड रुपैयाँबराबरको ६० हजार खसीबोका उपत्यकामा भित्र्याउने तयारी गरेको बताएको छ । महासंघका अनुसार अहिले सम्म उपत्यकामा करिब १० हजार खसीबोका भित्रिसकेको छ ।
गत वर्ष जिउँदो खसीबोकाको मूल्य ५०० देखि ७०० रुपैयाँ कायम गरिएको थियो भने मासुको मूल्य १ हजार ४०० रुपैयाँ रहेको थियो ।
यो वर्ष खरी क्रस, बेयर, जमुनापारी क्रस, सिरोही क्रस र प्योर खरी जातका खसीबोका बजारमा भित्र्याइदै छ । यस वर्षको दशैंको लागि रोल्पा, रुकुम, दैलेख, सिन्धुली, नेपालगञ्ज, धादिङ, मकवानपुर, बाँके, प्युठान, बर्दिया, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत नुवाकोट, तनहुँ, तुलसीपुर, चितवन, बारा, पर्सालगयातका जिल्लाबाट खसीबोका भित्र्याउन लागिएको महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । तर विभिन्न राजमार्ग अवरुद्ध हुँदा आयातमा अवरोध सिर्जना भएको महासंघका अध्यक्ष गोविन्द सुवेदीले बताएका छन् ।
विगतका वर्षहरुको तुलनामा मासुको खपतमा पनि गिरावट आउने अनुमान गरिएको सुवेदीको भनाइ छ । उनका अनुसार आन्दोलनको कारण उपत्यका छोड्नेको संख्यामा वृद्धि हुनु, विदेश जानेको संख्या पनि वर्षेनी बढ्दै गएको कारणले गर्दा मासुको खपतमा गिरावट आउने देखिएको हो ।
मासुको खपतमा गिरावट आउने सम्भावना रहेपनि बाढी पहिरोको कारणले गर्दा विभिन्न राजमार्ग अवरुद्ध हुँदा मूल्य वृद्धि हुने सम्भावना रहेको छ ।
यसरी बाटो अवरुद्ध हुँदा धेरै खसीबोका आयातका क्रममा असर पर्ने र वैकल्पिक बाटोको दुरी लागत बढ्ने भएकोले मूल्य बढ्ने सम्भावना रहेको चिकित्सक भाटको भनाई छ । गत वर्ष जिउँदो खसीबोकाको मूल्य ५०० देखि ७०० रुपैयाँ कायम गरिएको थियो भने मासुको मूल्य १ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै महासंका अध्यक्ष सुवेदीका अनुसार मूख्य बाटो अवरुद्ध हुँदा सानो गाडीको प्रयोग गरेर वैकल्पिक मार्गको प्रयोग गरेर आयातको काम भइरहेको छ ।
‘यसरी वैकल्पिक मार्ग प्रयोग गर्दा लामो समयसम्म बाटोमा रोकिनु पर्दा खसीबोकामा क्षति पुगेर मूल्य बढ्ने सम्भावना रहेको छ’, अध्यक्ष सुवेदी भन्छन्, ‘तर विगतका वर्षहरुमा सिधै किसानले बिक्री गर्न नपाउँदा उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने र किसानले मूल्य नपाउने घटना हुने गरेकोमा अहिले स्वयम् किसानले नै बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यसो हुँदा धेरै मूल्य वृद्धि नभएपनि लागत बढ्दा सामान्य मूल्य वृद्धि हुने सम्भावना रहन्छ ।’
कलंकी खसी बजारका व्यवसायी जीवन खतिवडा पनि बाटो अवरुद्ध हुँदा खसीबोकाको आयातमा बाधा आएको बताउँछन् । उनका अनुसार दशैंमा कति खपत हुन्छ र मूल्य बढ्छ अनुमान गर्न सक्ने अवस्था छैन ।
यस्तै अर्का व्यवसायी गोविन्द पाठक पनि खसीबोकाको आयातमा समस्या सिर्जना भएको बताउँछन् । उनका अनुसार हालसम्ममा मूल्य वृद्धि भएको छैन । आयातमा असर पर्दा केही मूल्य बढ्ने देखिएपनि धेरै नबढ्ने उनको दाबी छ ।
विगतका वर्षहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका बिक्री गर्ने गरेको थियो । तर यस वर्ष भने कम्पनीले दशैंमा खसीबोका बिक्री नगर्ने निर्णय गरेको थियो । जेन जी आन्दोलनको कारणले गर्दा कम्पनीले खसीबोका बिक्री नगर्ने भएको हो ।
‘सरकारले नियमन गर्न तदारुकता देखाउनुपर्छ । अनुगमनका जिम्मेवारी पाएका निकायहरूले चुस्त ढंगले अनुगमन र कारबाही गरेर त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’
यता उपभोक्ता अधिकारकर्मीहरूले विभिन्न बाहनामा मूल्यवृद्धि हुन सक्ने भन्दै यसलाई रोक्न सरोकारवाला निकायहरूले गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सरकारले अहिले बजारलाई हस्तक्षेप गर्नुपर्नेमा उनीहरूको जोड छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अहिले विभिन्न बाहनामा वस्तुको मूल्य बढाउने काम भइरहेको गुनासो आएको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिए । उनले भने,’सरकारले नियमन गर्न तदारुकता देखाउनुपर्छ । अनुगमनका जिम्मेवारी पाएका निकायहरूले चुस्त ढंगले अनुगमन र कारबाही गरेर त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’
उनले सरकारले उपभोक्तालाई पनि जागरूक बनाउने र मूल्य नियन्त्रणमा भूमिका खेल्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया