काठमाडौँ । नेपालीहरूको महान् चाड दसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्नुपर्नेमा यसपाली त्यस्तो देखिएको छैन । पछिल्लो सयम देशमा भएको जेन जी आन्दोलन, राजनीतिक अस्थिरता, तोडफोड र आगजनीका कारण अर्थतन्त्रमा ठुलो क्षति पुगेको छ । यसले गर्दा दसैंमा विगतका वर्षहरूमा जस्तो अर्थतन्त्र चलायमान नहुने जानकारहरू बताउँछन् ।
अहिले सरकारी र निजी दुबै क्षेत्रको अर्थतन्त्र डामाडोल भएको छ । विगतको दसैंको समयमा मानिसहरू निर्वाध रुपमा निर्धक्क भएर आवतजावत गर्ने, घुमफिर गर्ने किनमेल गर्न र रमाइलो गर्न निस्किन्थे, तर अहिले शान्ति सुरक्षाको चिन्ताले गर्दा मानिसहरू आवतजावत गर्न डराइरहेका छन् ।
आन्दोलनको क्रममा हजारौँको संख्यामा कैदीहरू जेलबाट छुटेको कारणले गर्दा किनमेलको लागि निस्कन मानिसहरू डराइरहेका छन् ।
आन्दोलनको कारणले गर्दा सरकारी र निजी संरचनामा खर्बौंको क्षति पुगेको छ । जसको कारण धेरै मानिसहरूले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउँदा मानिसहरूको हातमा पैसा छैन, जसले गर्दा बजारमा खर्च गर्ने क्षमतामा कमी आएको छ ।
अर्थविद् डिल्लीराज खनाल भन्छन्, ‘विगतमा जस्तो खुसियाली ल्याउने दसैं अहिलेको देखिदैंन । निजी क्षेत्रले पनि ठुलो नोक्सनी ब्यहोरेको अवस्था छ । आन्दोलनको क्रममा धेरै जनाको हताहत भएको र देशभरि शोकको अवस्था रहेकोले पनि दसैंको माहाहेल विगतको जस्तो उत्साह छैन ।’
यो शोकको अवस्थामा एउटा चाडपर्व हो मनाउनुपर्छ भन्ने भावनाले मात्रै मनाइन्छ जस्तो लाग्छ, उनी भन्छन्, यद्यपि अर्थतन्त्र शून्य हुने अवस्था भने छैन, केहि हदसम्म कमी आएपनि असिहले वातावरण सामान्य भइसकेको छ ।’
केही गतिविधिहरू सुरू भइसकेका छन् र निश्चित वर्गका मानिसहरूले खर्च गर्ने हुँदा अर्थतन्त्र चलायमान हुने देखिन्छ । तर सामान्य वर्गको लागि समग्रमा विगतको जस्तो दसैं यो वर्ष नहुने खनालको बुझाई छ ।
आन्दोलनको कारणले गर्दा बजारमा किनमेल गर्नेको पनि उपस्थिति कम देखिएको छ । विस्तारै सबै कुरामा सुधार हुँदा अलिकति बजार पनि चलायमान बन्दै गएको छ ।
बानेश्वरमा कपडा व्यापार गर्ने अन्जना घिमिरे भन्छिन, ‘आन्दोलन, आगजनी तोडफोडले व्यापार चौपट भएको छ । नयाँ वर्षमा व्यापार हुन्छ भन्ने आशामा थियौँ, शिक्षक आन्दोलनले चौपट बनायो । अहिले दसैंको समयमा जेन जी आन्दोलनले व्यापर ठप्प बनाएको छ । जे जस्तो भएपनि दसैं त मान्नु नै पर्यो भन्दै विस्तारै किनमेल सुरू हुँदै भएको छ ।’
उनी भन्छिन्, ‘विगतका वर्षहरूमा अलि व्यापार राम्रो हुन्थ्यो तर पछिल्लो समय व्यापार घट्दै गएको छ । चाडपर्वको सयममा नयाँ लुगा लगाउने सबै युवा विदेशमा र एयरपोर्टमा छन् कसरी हुन्छ त व्यापार ?’
अरु समयको भन्दा चाडपर्वको समयमा बजार केही हदसम्म भएपनि चलायमान बन्दै गएको छ । आन्दोलन पछि विस्तारै बजारमा चहलपहल बढेपनि विगतमा जस्तो नभएको व्यापारीहरू बताउँछन् ।
बुधबारदेखि काठमाडौँको भृकुटिमण्डप, न्यूरोड क्षेत्रमा किनमेल गर्नेको उपस्थिति बाक्लो बन्दै गएको व्यापारीहरू बताउँछन् । न्यूरोडमा कपडा व्यापार गर्ने अन्जु जोशी विगतको जस्तो पहिले देखिनै उत्साह नदेखिएपनि व्यापार चलायमान बन्दै गएको बताउछिन् । उनी भन्छिन्, ‘अहिले बिहानैदेखि किनमेल गर्नेको भिड लाग्न थालेको छ । बेलुकीपख त एकदमै चाप बढेको छ । तर धेरै जनाले रोजगारी गुमाएकाले होला ग्राहक कम आएका छन् ।’
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार दसैं लक्षित किनमेल बढ्दै गएको छ । उनी भन्छन्, ‘आन्दोलनले केहि प्रभाव पारेपनि जनजीवन सामान्य बन्दै गएको छ । मानिसहरू किनमेल गर्न निस्किन थालेका छन् ।’ चाडपर्वको समयमा घरबाहिर रहेका मानिनसहरू पनि घर फर्किने भएकोले यो समयमा किनमेल गर्ने बजार चलायमान हुने गरेको उनी बताउँछन् ।
राष्ट्र बैंकका अनुसार दसैं तिहारको समयमा अरु बेलाको भन्दा विप्रेषण आप्रवाहमा वृद्धि हुन्छ । यसरी आर्थिक गतिविधि बढ्दा स्वभाविक रुपमा अर्थतन्त्र चलायमान हुने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।
विश्लेषकहरूका अनुसार यो वर्ष विगतका वर्षहरूमा जस्तो अर्थतन्त्रमा धेरै सुधार नआएपनि चाडपर्वको समयमा बजार चलायमान हुँदा स्वभाविक रुपमा अर्थतन्त्र चलायमान हुने र यसले देशको समग्र अर्थतन्त्रमा क्षति पुगेको समयमा उत्थानको भुमिका खेल्ने देखिएको छ ।












प्रतिक्रिया