काठमाडौँ । नेपालीहरूको महान चाड दसैं नजिकिदै गर्दा विगतको यसको मौलिकतामाथि गम्भिर प्रश्न उठ्दै गएको छ । विगत केही वर्षदेखि आपसी सद्भाव र मेलमिलापको पर्व दसैं भड्किलो बन्दै गएको छ । विभिन्न आयातित सँस्कृती र देखासिकीले आर्थिक बोझ थपिने र चाडपर्वको वास्तविक महत्व हराउँदै गएकोमा चिन्ता बढेको छ ।
चाडपर्व हाम्रो संस्कृति र परम्परा हुन् । दसैं तिहार नेपालीहरूको महान चाड हो । यो आपसी भेटघाट, आशिर्वाद र खुसी साटासाट गर्ने पर्व हो ।
तर पछिल्लो समय देखासिकीका कारण सामाजिक सद्भाव र एकताको पर्व दसैं भड्किलो बन्दै गएको छ ।
दसैं भड्किलो बन्दा पारिवारिक आर्थिक संकट दसैंपछि ऋणको बोझ थप्ने, गरिब र धनीबिचको खाडल झन बढ्दै गएको छ भने यसको मौलिकता हराउँदै गएको छ ।
विज्ञापन र सामाजिक सञ्जालको प्रभावले ऋण लिएर पनि महङ्गो समान किन्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् । समाजशास्त्री प्रविन बिष्टका अनुसार सामाजिक सञ्जालमा गरिने प्रदर्शनले पनि यो प्रवृत्तिलाइ थप प्रोत्सोहन गरेको हो । विश्वव्यापीकरणको प्रभाव र युवाहरूको स्मार्ट देखिने प्रवृत्तिले पनि चाडपर्वको मौलिकता हराउँदै गएको बिष्टको बुझाइ छ । पछिल्लो समय कसले सामाजिक सञ्जालमा कति पोष्ट गर्छ भन्ने होडबाजी चलेको उनको दाबी छ ।
यस्तै उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार समाजमा एक अर्काको देखासिकी गर्ने र आफूलाई अरुभन्दा अब्बल देखाउने प्रवृति हाबी हुँदै गएको छ । उनी भन्छन, ‘कसैले राम्रो लुगा लगाए, राम्रो ठाँउमा घुम्न गए वा महङ्गो सामान किने भने त्यस्तै गर्न खोज्ने होडबाजी बढेको छ ।
पछिल्लो समय दसैं भड्किलो बन्दै गएको स्वीकार्दै अर्थविद डिल्लीराज खनाल भन्छन्, ‘ग्लोबलाइजेशन र आधुनिक जीवनशैलीको प्रभावले मानिसहरूमा परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रभावले मानिसहरू आपसमा प्रतिस्पर्धा गर्न थालेका छन् ।’ तर यो प्रतिस्पर्धाले आर्थिक अवस्था कमजोर बनाउने उनको भनाइ छ । यो वर्ष आर्थिक संकट देखिएको, आन्दोलनले धेरैले रोजगारी गुमाएको हुनाले विगतको जस्ता नहुने खनालको बुझाई छ ।
अर्थविद खनाल दसैंमा अनावश्यक खर्च गरेर पारिवारिक संकट आउन सक्ने चेतावनी दिन्छन् । उनी भन्छन्, ‘अरुको देखासिकीमा खाडीमा दुःख गरेको पैसा अनुत्पादक क्षेत्रमा खर्च नगरौँ, यसले हामीलाई दीर्घकालमा आर्थिक रुपमा अभाव सिर्जना हुन्छ ।’
वर्षैभरि दुख गरेर कमाएको पैसा देखासिकीमा लागेर एकै समयमा खर्च गर्दा आपत वितमा अप्ठ्यारो पर्ने विज्ञहरूको बुझाइ छ । चाडपर्वमा गरिने अनावश्यक खर्चले अन्य आधारभुत आवश्यकताको पूर्ति गर्न नसकिने उनीहरू बताउछन् ।
चाडपर्वलाई भड्किलो हुन नदिन पहिले नै आफ्नो आवश्यकता र आर्थिक अवस्थाले भ्याउने गरेर खर्चको शीर्ष छुट्याउन विज्ञहरू सुझाउँछन् । उनीहरूका अनुसार कपडा, खानेकुरा, दक्षिणा उपहार लगायत विषयमा मितव्ययी भएर खर्च गर्नुपर्नेमा जोड दिन्छन् ।
पुरानो आफ्नो संस्कृतिको पुनरुत्थान गर्नमा सबैले लाग्न जरुरी रहेको सामाजशास्त्री विष्ट बताउँछन् ।
सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न र चाडपर्वको मौलिकता जोगाउनका लागि जनचेतना फैलाउन आवश्यक कदम चाल्नुपर्ने देखिएको उनले बताए । समाजका अगुवाहरू, धार्मिक नेताहरू र सञ्चार माध्यमले पनि यस विषयमा सकारात्मक भूमिका खेल्नुपर्ने खाँचो रहेको उनी बताउँछन् । दसैंलाई यसको वास्तविक अर्थ महत्व फर्काउन सबैको सामूहिक प्रयास जरुरी रहेको विष्टको बुझाइ छ ।












प्रतिक्रिया