हराउँदै परम्परागत देउसी भैलो, युट्युवका गीत बजाएर रमाउँदै युवा


काठमाडौं । तिहारको अवसरमा खेलिने परम्परागत देउसी भैलोको मौलिक परम्परा हराउँदै जान थालेको छ । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलनले मौलिक परम्पराको स्थान ओगट्न थालेको हो ।

भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।।
हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।

पहिला यस्ता परम्परागत गीत गाएर गाउँभरि देउसीभैलो खेल्नेको जमात थियो । कसैले गीत गाउने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलोको रौनक नै अर्को हुन्थ्यो । तर, अहिले एक समय तिहारको मुख्य आकर्षण मानिने परम्परागत देउसी–भैलो भने अहिले हराउँदै गएको देखिन्छ ।

अघिल्लो पुस्तासम्म साथीभाइको समूह, गाउँका युवायुवती र बालबालिकाले मादल, खैँजडी, बाँसुरी जस्ता बाजागाजाको साथमा रमाइलो गर्दै घरघरमा देउसी–भैलो खेल्ने चलन निकै सामान्य थियो । बलि राजाको कथा सुनाउँदै, मौलिक गीत गाएर नाच्ने र अन्त्यमा आशीर्वाद दिँदै देउसी माग्ने प्रचलनले तिहारलाई झनै विशेष बनाउँथ्यो । तिहार केवल रमाइलोको पर्व होइन, यो सामाजिक सद्भाव, कला, संस्कृति र एकताको पर्व पनि हो । त्यसैले परम्परा जोगाउन हामी सबैको भूमिका आवश्यक छ ।

तर अहिलेको तिहारमा यस्तो मौलिकता पाइँदैन । पछिल्लो समय देउसी भैलो होस् या कुनै कार्यक्रम नयाँ युवा पुस्ताहरू मोबाइल, डिजे र ब्याण्डबाजामा रमाउँछन्, जसको कारणले गर्दा उहिलेका परम्परागत र मौलिक रुपमा देउसी भैलोमा नाचिने नाचहरू पनि लोप भइसकेका छन् । युवाहरुमा आधुनिक, पप, रिमिक्सकार पश्चिमा संस्कृतिको बढ्दो प्रभावले युवा पुस्ता माझ परम्परागत र मौलिकता प्रतिको आकर्षण कम हुँदै गएको छ ।

समाजशास्त्री प्रविण विष्टका अनुसार समयसँगै समाजमा आएको परिवर्तनले गर्दा देउसी–भैलोको पुरानो स्वरूप हराउँदै गएको हो । उनी भन्छन्, “पहिले देउसी–भैलो सिर्जनात्मक हुन्थ्यो, सामाजिक सन्देश दिन्थ्यो । अहिले डिजे साउन्ड, युट्युबका हिट गीत र ठूला स्पिकरको आवाजमा केवल रमाइलो खोजिएको छ ।”

उनका अनुसार, पहिले देउसी–भैलोबाट उठेको रकम मठ मन्दिर निर्माण, चौतारा बनाउने, धारा निर्माणजस्ता सामाजिक कार्यमा लगाइन्थ्यो । अहिले भने यो परम्परा बनभोज वा पार्टीमा सीमित भएको देखिन्छ ।

देउसी–भैलोको परम्परागत शैली खासगरी गाउँघरमा नै बढी चलनमा थियो । साँझपख गाउँका युवायुवती मादल र खैँजडी समातेर गीत गाउँदै नाच्न निस्किन्थे । बलि राजाको गाथा, सोरठी र टप्पाजस्ता मौलिक गीत हराउँदै गएका छन् । बुढापाकाहरुका अनुसार अहिलेका केटाकेटी पैसा मात्रै माग्न आउँछन्, मौलिकता नै हराउँदै गएको छ । परम्परागत रूपमा भट्याएर नेपाली भेषभूषा र बाजा गाजाका साथ सांस्कृतक उत्सवका रूपमा मानिने देउसी भैलोमा दिइने स्वैच्छिक दानको सट्टा विभिन्न पाश्चात्य संगीत र ढाँचामा प्रस्तुत भई होहल्ला मच्चाउने, जबरजस्ती रकम असुल्ने माध्यम पनि बन्दै गएको देखिन्छ ।

बुढापाकाहरु भन्छन्,“हामीलाई अहिलेको देउसीमा न रमाइलो लाग्छ, न भाव भेटिन्छ । झन् ती साउन्ड बक्सको चर्को आवाजले त झनै अप्ठेरो पार्छ ।”

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँचदिन स्वर्ग, मत्र्य रपातालतीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको मान्यता छ । साथीभाई जम्मा भएर सुख, दुखका भावना व्यक्त गर्ने, एकतार सद्भावको वातावरण सृजनाएवं मनोरञ्जन प्रदान गर्नु देउसी भैलोको सांस्कृतिक एवं सामाजिक विशेषता रहेको छ ।

समाजशास्त्री विष्ट भन्छन्,“हामीअहिलेको पुस्तालाई दोष मात्रै लगाएर बस्नु हुँदैन । संस्कृतिको संरक्षणका लागि परिवार, विद्यालय, समुदाय सबैले मिलेर काम गर्नुपर्छ।”

यसका साथै युवाहरु विदेशीनु पनि परम्परागत देउसी भैलो लोप हुनुको कारण रहेको बैतडीका पञ्चेबाजा व्यवसायी गजी सार्कीको बुझाई छ । उनी भन्छन्, “पहिले पहिले गाँउघरमा दशै तिहार र गौरा पर्वको समयमायुवाहरु हुन्थे बाजाबजाउने रमाइलो गर्ने गर्थे तर अहिले चाडपर्वमापनि गाँउघर सुनसान देखिन थालेका छन् ।”गाँउमा युवाहरु भएपो चाडपर्व नाचगान रमाइलो हुन्छ, युवाहरु नै छैनन् कसरी रमाइलो हन्छ ? उनीप्रश्न गर्छन ।

समाजशास्त्री विष्टका अनुसार परम्परागत देउसी–भैलोको महत्व, कथा र सन्देशबारे नयाँ पुस्तालाई सिकाउने हो भने हराउँदै गएको मौलिकता फेरि फर्कन सक्छ।

 

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार  ०८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।