खाद्यान्नमा परनिर्भरता

धान चामलको आयात ६८ प्रतिशतले बढ्यो, वार्षिक करोडौँको कनिका आयात


काठमाडौँ । कृषि प्रधान देश नेपालको खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा धान चामलको आयातमा करिब ६८ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा १० अर्ब १८ करोड ४९ लाख ९ हजार रुपैयाँको धान चामल आयात भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासमा ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँको धानको विउ धान र चामल आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चौमासमा १८ करोड ५१ लाख ९८ हजार ३८ केजी धान चामल आयात भएको छ । गत आर्थिक वर्षको तुलना अवधिमा ११ करोड ७५ लाख ७८ हजार केजी धान चामल आयात भएको थियो ।

सरकारले आन्तरिक उत्पादन बढ्दै गएको दाबी गरेपनि विभागको तथ्यांकले सरकारको भनाइलाई चुनौती दिएको छ । सरकारको दाबी अनुसार नेपालमा वार्षिक ६५–७० लाख मेट्रिक टन धान भए पर्याप्त हुन्छ । तर भन्सार विभागको धान चामल आयातको तथ्यांक र कृषि मन्त्रालयको धान उत्पादनको आँकडा हेर्दा सरकारको तथ्यांक नै अस्पष्ट देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा ३ लाख २१ हजार १२० मेट्रिक टन धान र ८८ हजार ७२४ मेट्रिक टन चामल आयात भएको थियो ।

सरकारको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आवमा ५ लाख ३३ हजार ७२० मेट्रिक टन धान तथा धानको बिउ र २ लाख ४१ हजार ५५४ मेट्रिक टन चामल आयात भएको छ । यसरी हेर्दा आयात र उत्पादनको तथ्यांक र सरकारले खपत हुने भनेको तथ्यांक आपसमा बाझिएको छ ।

सरकारले तथ्यांक नभएर मिथ्यांक प्रस्तुत गरिरहेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनको आरोप छ । उनका अनुसार नेपालमा धानको उत्पादन त बढेको छ तर सरकारको दाबी अनुसार बढेको छैन् । वार्षिक अर्बाै रुपयाँको धान चामल आयात हुने गरेको र नेपालले निर्यात पनि नगर्ने हुँदा आयात र उत्पादनमा सरकारको दाबीको तुलनामा धेरै अन्तर रहेको छ । उनका अनुसार ५ लाख मेट्रिक टन चामल भनेको करिब १० लाख मेट्रिक टन धान हो । यसरी हेर्दा वार्षीक ४ लाख मेट्रिक टन चामल आयात भएमा पनि धेरै हुने उनको दाबी छ ।

कृषि मन्त्रालयका सुचना अधिकारी महानन्द जोशीले भने, “आन्तरिक उत्पादन बढ्दै गएपनि चालु आर्थिक वर्षमा भारतले निर्यातमा लाग्दै आएको करमा भारी गिरावट गरेको कारण गत वर्षहरुमा भन्दा धान चामल आयात बढेको हो ।” आन्तरिक उत्पादनले माग धान्न नसकेपनि उत्पादन बढ्दै गएको दाबी गर्दै उनले भने, “भारतीय बजारमा सस्तो हुँदा व्यापारीहरुले आयात बढाएको कारण स्वदेशी धानले बजार पाउन सकेन ।” यो वर्ष तराईमा धान रोप्ने समयमा खडेरी परेको र काट्ने समयमा भारी वर्षा भएको कारण धान उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म कमि आउन सक्ने उनले जानकारी दिए । उनको भनाईलाइ नै आधार मान्ने हो भने आगामी दिनमा धान चामलको आयातमा झन वृद्धि हुने सम्भावना रहेको छ ।

वर्षेनी करोडौँको कनिका आयात

नेपालको खाद्य परनिर्भरता धान र चामलमा मात्र सीमित छैन, भन्सार विभागको तथ्यांक हेर्दा वर्षेनी करोडौं रुपैयाँको चामलको कनिका समेत अन्य देशहरुबाट आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १३ करोड ३२ लाख १९ हजार रुपैयाँको ३२ लाख ५२ हजार केजी कनिका आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ५ लाख ९७ हजार रुपैयाँको १७ हजार केजी कनिका आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलना अवधिमा ९ लाख ११ हजार रुपैयाँको २१ हजार केजी कनिका आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको थियो ।
दाना तथा मदिरा उद्योगमा कनिकाको माग बढेकोले आयातमा पनि वृद्धि भएको भन्सार विभागले जनाएको छ । पशु आहार तथा मदिरा बनाउन प्रयोग हुने हुँदा चामलको कनिकाको आयात बढेको विभागका प्रवक्ता किशोर बर्ताैलाले बताए । उद्योग र घरेलु मदिरा बनाउनका लागि आवश्यक पर्ने कनिकाको आपूर्ति स्वदेशमा कम हुँदा वर्षेनी करोडौँ रुपैयाँको कनिका विदेशबाटै आयात गर्नुपर्ने बाध्यता देखिएको विज्ञहरुको भनाई छ ।

यस्तो छ ३ वर्षको आयातको अवस्था

चालु आर्थिक वर्षको पहिलो चौमासको अवधिमा २२ लाख ५७ हजार रुपैयाँमा ५६ हजार ५७० केजी धानको बिउ आयात भएको छ । ९ करोड ६९ लाख १३ हजार ५५६ केजी अन्य धान ३ अर्ब ५९ करोड ६७ लाख ५९ हजार रुपैयाँमा आयात भएको छ ।

यस्तै ४ लाख २० हजार रुपैयाँको ३ हजार ४६५ केजी ब्राउन राइस आयात हुँदा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार रुपैयाँको २ करोड २० लाख ८८ हजार केजी बासमती चामल आयात भएको छ । यसैगरि ६ करोड २८ लाख ८३ हजार केजी अन्य चामल ४ अर्ब ४० लाख ७९ हजार रुपैयाँको आयात भएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासमा २ हजार रुपैयाँको ३५ केजी धानको बिउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांक अनुसार ७ करोड १३ लाख १९ हजार केजी धान २ अर्ब ६० करोड रुपैयाँमा आयात भएको थियो । ब्राउन राइस ४ लाख ४७ हजार रुपैयाँको २ हजार ५३० केजी आयात हुँदा बासमती चामल २ अर्ब ५९ करोड ५ लाख ११ हजार रुपैयाँको २ करोड १६ लाख ३२ हजार केजी आयात भएको थियो ।

उक्त अवधिमा अन्य चामल १ अर्ब ७७ करोड ३३ लाख ७५ हजार रुपैयाँको २ करोड ४६ लाख ५ हजार केजी आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/१ को तुलना अवधिमा ६ अर्ब ८ करोड २५ लाख १८ हजार रुपैयाँको ११ करोड २९ लाख ६१ हजार केजी धान चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

उक्त अवधिमा ३० हजार रुपैयाँको ३६३ केजी धानको बिउ आयात हुँदा २ अर्ब ९३ करोड ६ लाख ९९ हजार रुपैयाँको ७ करोड ९७ लाख ६० हजार केजी अन्य धान आयात भएको थियो । सोहि अवधिमा १ लाख ७० हजार रुपैयाँको १ हजार १०४ केजी ब्रोउन राइस आयात भएको थियो । उक्त अवधिमा १ अर्ब ७५ करोड ६२ लाख ४० हजार रुपैयाँको २ करोड ४६ हजार केजी बासमती चामल आयात भएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।