काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधीमा नेपालमा ७ अर्ब बढीको फलफूल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ७ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको ८ करोड ४१ लाख किलोग्राम फलफूल आयात भएको हो । सो फलफूल आयातबाट ८४ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ बढीको फलफूल आयात भएको छ । गत आव २०८१/८२ को सो अवधीमा ५ अर्ब ५६ करोड १९ लाख रुपैयाँ बराबरको ७ करोड ३ लाख ५७ हजार किलोग्राम फलफूल आयात भएको थियो ।
तीन अर्बको स्याउ आयात
विभागका अनुसार चालु आवको चार महिनामा ३ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँको ३ करोड ३७ लाख ८८ हजार किलोग्राम स्याउ आयात भएको छ । विभागका अनुसार सो परिमाणका स्याउ आयातबाट ३६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको सोही अवधीमा २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँ बराबरको २ करोड ९५ लाख १६ हजार किलोग्राम फलफूल आयात भएको थियो ।
नेपालमा हुम्ला, जुम्ला, कालीकोट, मनाङ, मुस्ताङ लगायतका पहाडी तथा हिमाली जील्लाहरुमा स्याउ उत्पादन हुन्छ । तर नेपाली उत्पादन बेवास्ता गरिदै विदेशबाट अर्बौको स्याउ आयात हुने भन्सार विभागको तथ्यांकले जनाएको छ ।
तथ्यांक अनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र २ अर्ब ४४ करोड ४ लाख १० हजार मूल्य बराबरको १ करोड ८० लाख १९ हजार किलोग्राम स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ६९ हजार किलोग्राम स्याउ आयात भएको छ ।
सुन्तला आयातबाट ४१ करोड बाहिरियो
विभागको तथ्यांक अनुसार सो अवधीमा २९ करोड ४७ लाख ४९ हजार रुपैयाँ बराबरको ४१ लाख ५८ हजार किलोग्राम सुन्तला आयात भएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको आयात घटेको छ । गत वर्षको सोही समयमा ४१ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको ५८ लाख ८४ हजार किलोग्राम सुन्तला आयात भएको थियो ।
नेपालमा सुन्तला आयातको ठूलो हिस्सा भारतको रहेको तथ्यांकमा देखाइएको छ । भारतबाट मात्र २३ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ३७ लाख ४६ हजार किलोग्राम सुन्तला आयात भएको छ । त्यसैगरी, चीन, इजिप्ट र साउथ अफ्रिकाबाट सुन्तला आयात भएको छ ।
६३ करोडको अंगुर आयात
चालु आवको चार महिनामा ताजा र सुकेको अँगुर ६३ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २२ लाख १० हजार किलोग्राम आयात भएको छ । उक्त अँगुर आयातबाट १४ करोड १ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत वर्ष सोही अवधीमा २३ करोड ६९ लाख रुपैयाँ बराबरको १० लाख ८३ हजार किलोग्राम अँगुर आयात भएको विभागले जनाएको छ । नेपालमा ताजा तथा सुकेको अंगुर भारत, चीन, कतार, बराइन, मलेसिया, इजरायल, ओमन, यूएई लगायतका मुलुकबाट आयात हुने गरेको छ ।
नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चार महिनामा १२ करोड ७५ लाख ६६ हजार रुपैयाँको ४० लाख १९ हजार केजी मेवा आयात भएको देखिन्छ । गत वर्ष १० करोड ९४ लाख ८१ हजार रुपैयाँ बराबरको ३२ लाख ४२ हजार किलोग्राम मेवा आयात भएको थियो ।
त्यसैगरी, यस अवधिमा ७४ करोड ६९ लाख ५२ हजार बराबरको १ अर्ब ८९ करोड ९३ लाख किलोग्राम केरा आयात भएको छ । भने ८ करोड ९३ लाख ८ हजार रुपैयाँको २० लाख ७२ हजार केजी भुईकटर आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
५८ लाख ६० हजार केजी आँप आयात गर्दा ४३ करोड १३ लाख ४० हजार रुपैयाँ बाहिरीएको छ भने अनार आयातबाट ४७ करोड ९ लाख रुपैयाँ बाहिरीएको हो । त्यस्तै २५ करोड ६४ लाख रुपैयाँको नास्पाती, ४ करोड ५७ लाख रुपैयाँको किवी, ९७ लाख रुपैयाँको एभोगाडो, ९ करोड रुपैयाँको खर्बुजा, ३३ लाख रुपैयाँको हलुवावेल आयात भएको हो ।
त्यस्तै, चार महिनाको अवधीमा अन्य फलफूहरु २५ लाख ७० हजार किलोग्राम आयात भएको छ । उक्त फलफूल आयातबाट २५ करोड ५९ लाख रुपैयाँ बाहिरीएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया