हिमालय एअरलाइन्स्ले चीनको ल्हासामा भर्यो परीक्षण उडान


नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स्ले पहिलो पटक चीनको ल्हासामा परीक्षण उडान भरेको छ । मंगलबार जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासातर्फ परीक्षण उडान भरेको हिमालय एयरलाइन्सले पहिलो उच्च उचाई गन्तव्यमा उडान भरेको हो ।

संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको ल्हासाको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजना अनुरूप भएको एयरलाइन्सले जनाएको छ ।

परीक्षण उडान एच नाइन ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१७ बजे ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे अवतरण गरेको थियो । ल्हासाबाट फिर्ती उडान एच नाइन ९६२ मंगलबार नैै अपरान्ह १५ः०० बजे उडान भरेर काठमाण्डौंमा मध्यान्ह १४ः०० बजे अवतरण गरेको छ ।

परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्चमा विशेषतः उच्च उचाईका लागि उडान भर्न एच नाइन एजेके नाममा दर्ता भएको न्यारोबडी हवाइ जहाज ए३१९ ११५ प्रयोगमा ल्याएको जनाएको छ । १२० इकोनोमि र ८० विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित रहेको र अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोली गत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।”

परीक्षण उडान ३ हजार ५७० मीटरको उचाइ अर्थात् ११ हजार ७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी एआर एप्रोचेज प्रमाणीकरणका लागि योजना गरिएको हिमालय एयरलाइन्सले जनाएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।