सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग


सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सँगको भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शुक्रबार कोटा प्रणाली खारेजीका लागि सुनचाँदी व्यवसायीले अगाडि सारेको मागमा आवश्यक सहयोग गर्न महासंघसँग आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायी महासंघका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा व्यवसाय सञ्चालन तथा निर्यात प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था हुनुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिम केन्द्रहरु सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्र समेत स्थापना गरिनुपर्ने लगायतका बिषयलाई कार्यान्व्यनमा ल्याउन महासंघको सहयोगको अपेक्षा गरिएको बताए ।

त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । व्यवसायीका जायज मागमा महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष गोल्छाले अहिलेको खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी व्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न महासंघले पहलकदमी लिने बिश्वास व्यक्त गरे । आयातित सुन पुनः विदेश नजाओस भन्नका लागि सिमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्न सकिने व्यवसायीको सुझाव छ ।

पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकहरु मार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यम अगाडिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनवाट देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।