काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डेढ महिनामा लक्ष्यको ४७.३६ प्रतिशत धान खरिद गरेको छ । कम्पनीले यस वर्ष कुल १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा कात्तिक ११ देखि मंसिर २२ गतेसम्म ९० हजार क्विन्टल धान खरिद गरेको हो ।
कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलका अनुसार, डेढ महिनामा करिब आधा खरिद भएकाले अबको डेढ महिनामा लक्ष्यको शतप्रतिशत वा कम्तीमा ९० प्रतिशत धान खरिद हुने अनुमान छ ।
पौडेलका अनुसार, कम्पनीले धान खरिदका लागि ७० करोड रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष कम्पनीले ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । गत वर्ष व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दिएर किसानको धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि धान खरिद गर्न सकेको थिएन । गत वर्ष कम्पनीले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात् १ लाख २० हजार क्विन्टलमात्र धान खरिद गरेको थियो । यो वर्ष भने व्यापारीले सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्य दिएका छन् । यसो हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न समस्या नहुने देखिन्छ ।
पौडेलले भने, ‘डेढ महिनामा करिब आधा खरिद गर्दा अबको डेढ महिनामा शत् प्रतिशत पुग्ने अनुमान गरेका छौँ, त्यत्ति नभए पनि ९० प्रतिशत भने अवश्य खरिद हुनेछ ।’ सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले यस वर्ष सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्दै आएको छ ।
कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा खरिद केन्द्र सञ्चालन गरेको छ । धान खरिद गर्दा किसान सुचीकरण फारम भरी प्रमाणित गरी एक प्रति किसानलाई दिने र एक प्रति खरिद केन्द्रले अभिलेखका रुपमा राख्ने प्रबन्ध गर्दै धान खरिद गरिदै आएको पौडेलले जानकारी दिए ।
‘महेन्द्रनगर र धनगढीमा धान खरिद प्रक्रिया पुरा भइसकेको छ भने अन्य क्षेत्रमा अझै आधा भन्दा बढी धान खरिद हुन बाँकी छ । सोही आधारमा लक्ष्य अनुसारको खरिद गर्न सक्ने अनुमान गरेका हौँ’ पौडेलले भने ।
मूल्य निर्धारण ढिलाे हुँदा किसान समस्यामा
महंगो बिउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मुल्य नपाउँदा किसानहरु मारमा परेका छन् । सरकारले धानको मुल्य समयमा नतोक्दा किसानले सस्तोमा धान बेच्नु परेको कञ्चनपुरका किसान गिरीराज शर्माले गुनासो गर्छन् ।
‘सरकारले धानको मुल्य निर्धारण गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्दै आए पनि ढिलो मूल्य निर्धारण गर्ने गरेको छ । उत्पादित धान राख्ने ठाउँ हुँदैन, खेतमा नै खरिद गर्ने व्यापारीहरु आउँछन्, उनीहरुलाई नै बेच्न बाध्य हुन्छौँ’ शर्माले भने ।
“किसानहरूले सस्तोमा व्यापारीलाई धान बेचिसकेपछि सरकारले ढिलो गरी मूल्य तोक्यो । फलतः व्यापारीहरूले किसानबाट किनेको धान खाद्य कम्पनीलाई बढेको मूल्यमा बिक्री गरी लाभान्वित भए ।”
किसानहरुले व्यापारीहरुलाई धान बिक्री गरी सकेपछि सरकारले धानको मुल्य तोक्दा व्यापारीहरु लाभान्वित हुने भएकाले समयमा नै धानको मुल्य तोक्नु पर्ने उनको भनाई छ ।
सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न पाउँदा कैलालीका किसान नवराज शाही खुसी भएका छन् । ‘गत वर्षतिर सरकारले कम मूल्य तोक्दा आफ्नो लागत मूल्य पनि पाउन मुस्किल हुन्थ्यो । तर यस वर्ष मूल्य बढ्दा आफ्नो मेहनत अनुसारको मूल्य पाएका छौँ’ उनले भने ।
दुई दिनसम्म धनगढी धाएर ६०/६५ क्विन्टल धान बिक्री गरेको उनले बताए । सरकारले यसरी नै सबै किसानको धान खरिद गरिदिए राम्रो हुन्छ । खाद्यले थारै मात्र धान खरिद गर्दा किसानहरु सस्तोमा बेच्न बाध्य हुन्छन् । आगामी दिनमा खाद्यले कोटा वृद्धि गर्ने र सहज तरिकाले धान खरिद गरेमा किसानहरु व्यापारीलाई धान बेच्न बाध्य नहुने र किसानले मूल्य पाउने शाहीको भनाई छ ।












प्रतिक्रिया