‘सानिमा लार्ज क्याप’ मा ५० हजारले गरे ६१ करोडको इकाईमा आवेदन, मंगलबार निष्काशन बन्द हुँदै


सानिमा म्युचुअल फण्डले निष्काशन गरेको एक अर्ब रुपैयाँको सामूहिक लगानी कोष ‘सानिमा लार्ज क्याप फण्ड’ मा तीन दिनमा ६१ करोड ३९ लाख ३३ हजार रुपैंयाको आवेदन परेको छ । सानिमा क्यापिटलका अनुसार ५० हजार ७४४ आवेदकबाट उल्लेखित रकमका इकाई माग भएको हो ।

सानिमा क्यापिटल अन्तर्गत सञ्चालित सानिमा म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले जारी गरेको यो इकाई बन्दमुखी प्रकृतिको योजनाको हो । यसको अवधि सात वर्षको छ ।

फण्डको निष्काशित इकाइमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणमा बिक्री गरिने क्यापिटलले जनाएको छ ।

उक्त फण्डमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरको वेवसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सक्नेछन् ।

यस इकाईमा लगानीकर्ताले माघ ९ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा निष्काशित सबै इकाई बिक्री नभए माघ २६ गतेसम्म आवेदन खुला रहने जनाइएको छ ।

इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले इकाई धनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशतगरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।