काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपको व्याजदर न्यून विन्दुमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता कम गर्न निक्षेपको व्याजदर घटाएका हुन् । पुसका लागि वाणिज्य बैंकहरूले दिने मुद्दती निक्षेपको औसत ब्याजदर ३.४४५ प्रतिशत छ ।
आर्थिक वर्ष २०७७/७८ असारमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर औसत ४.६५ प्रतिशत थियो । त्यसयता ब्याजदर बढेर २०७९ माघमा औसत ८.५१ प्रतिशतसम्म पुगेको थियो ।
त्यसपछि घट्न थालेको ब्याजदर पुसमा ३.४४५ प्रतिशतमा कायम भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने रणनीति अघि सारेका कारण बैंकहरुको व्याजदर घटेको हो । जसले बिमा कम्पनीहरु प्रभावित बनिरहेका छन् ।
चालु आर्थिक वर्ष (२०८२/८३) को साउनदेखि असोज मसान्तसम्म कम्पनीहरुले ८ खर्ब ५४ अर्ब ७० करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् । जसमध्ये १४ वटा जीवन बीमकले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छन् ।
जसमध्ये जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन् भने वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन् ।
यता, निर्जीवन बीमा कम्पनीहरुले भने ३ महिनाको अवधिमा ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीहरुले ख वर्गको बैंक तथा वित्तिय संस्थामा ५ अर्ब २३ करोड ७१ लाख रुपैयाँ लगानी गरेका छन् ।
लगानीको हिसाबमा हेर्ने हो भने सरकारको बचतपत्र तथा ऋणपत्र पछि सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा छ । तर, वाणिज्य बैंकहरुले भने मुद्दती निक्षेपलाई क्रमशः घटाउँदै लगेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ०.२०६ प्रतिशत विन्दुले घटेको छ । यसअनुसार मंसिरमा ५.०४५ प्रतिशत रहेको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुसमा घटेर ४.८३९ प्रतिशत कायम भएको छ ।
पसको लागि व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै व्याज दिने भनिएका ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले पनि ५.५ प्रतिशत मात्र व्याज दिने भएका छन् । जसले गर्दा बजारमा सूचीकृत भएका झण्डै दुई दर्जन र सूचीकृत नभएका अन्य केही संस्थाहरूको नाफामा उच्च गिरावट आउने भएको छ।
हाल बजारमा १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । बैंकहरुको व्याजदर घट्दा यी कम्पनीहरु बढी प्रभावित हुने जानकारहरु बताउँछन् । बीमा कम्पनीको मुख्य आम्दानी बीमालेख बिक्रीबाट संकलित प्रिमियम, दीर्घकालीन लगानी तथा पुनर्बीमा व्यवस्थापनबाट हुने भएकोले बैंकको व्याजदर घटबढले बीमा कम्पनीको वित्तीय अवस्था वा नाफामा तत्काल कुनै ठूलो असर नपर्ने एक अधिकारीले बताए ।
यद्यपि बीमा कम्पनीहरूले बैंकमा गर्ने लगानीबाट प्राप्त हुने प्रतिफलमा भने असर गर्ने उनी बताउँछन् ।
यस्तै, बैंकहरुकोे मुद्दती निक्षेपको व्याजदर न्यून रहँदा बीमा कम्पनीहरुलाई असर गर्ने आइएमइ लाइफ इन्स्योरेन्सका सूचना अधिकारी सुदिप रानाले बताउँछन् । बैंकहरुको मुद्दती निक्षेपमा केही वर्ष अघिसम्म ११ देखि १३ प्रतिशतसम्मको व्याजदरमा लगानी गरेका बीमा कम्पनीहरुले अब ३ प्रतिशतमा लगानी गर्नुपर्ने अवस्था आएको रानाले बताए ।
यसले दिर्घकालिनरुपमा लगानी गरेकोलाई प्रभाव नपारे पनि अल्पकालिन रुपमा लगानी गरेकाहरुलाई निकै असर गर्ने उनको भनाइ छ । रानाले भने, “बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमको ठूलो हिस्सा बैंकको मुद्दती तथा बचत निक्षेपमा लगानी गर्ने गरेका हुन्छन् । यसले गर्दा समयावधी पुगेर मुद्दती निक्षेपबाट लगानी झिक्नुपर्ने वा नविकरण गनुपर्ने बेला भएका कम्पनीहरुले नोक्सान व्यहोरर्नुपर्ने देखिएको छ ।”
बीमा प्राधिकरणले नै अब बीमा क्षेत्रका लागि उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । व्याजदर घट्दा बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख प्रभाव पारेको प्राधिकरणका कार्यकारी निर्देशक सुसिलदेव सुवदी बताउँछन् ।
बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा लगानी गर्नको लागि बाटो खुला गरिदिएपनि अन्य क्षेत्रमा लगानी नबढेको प्राधिकरणका कार्यकारी निर्देशक सुवदीले बताए । उनले भने, “हामीले वैकल्पिक क्षेत्र र पूर्वाधार क्षेत्रतिर लगानी गर्न भनिरहेका छौँ । तर, बीमा कम्पनीहरुले त्यँहा लगानी गरेका छैनन् । जसले बीमा कम्पनीहरु प्रभावित हुने देखिएको छ । ”
बीमा कम्पनीहरु वैकल्पिक क्षेत्रमा जान नसक्ने बताउँदै उनले बीमा कम्पनीहरुले १० प्रतिशत लगानी बाह्य क्षेत्रमा गर्न पाउने भनेतापनि त्यसो हुन नसकेको निर्देशक सुवेदी बताउँछन् । अहिले बीमा कम्पनी मात्र नभई देशभरका सम्पूर्ण वित्तिय क्षेत्र नै प्रभावित भइरहेको उनको बुझाइ छ । “देशभरी आन्तरिक उपभोग, आन्तरिक माग घटिरहेको अवस्था छ । त्यसकारण यो समस्या तत्काल समाधान हुँदैन” सुवेदीले भने ।
तर, बीमा कम्पनीहरुले विदेशमा पुर्नबिमा गरेको हुनाले बैंकहरुले मुद्दतीको व्याजदर घटाउने वित्तिकै यो सेक्टर नै धरासयी अवस्थामा पुग्ने भन्ने नहुने उनले बताए । मुद्दती निक्षेप घट्ने वित्तिकै बीमा कम्पनीहरुलाई अस्थिरतातिर लाग्ने समस्या नभएको उनको भनाइ छ ।
बैंकहरुको मुद्दती निक्षेपमा बीमा कम्पनी मात्र नभई नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनीदेखि हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीजस्ता संस्थाहरूले पनि लगानी गर्दै आएका छन् ।
यता, बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर घटेपछि आधार दर घट्ने भएकाले ऋणको ब्याजदर पनि स्वतः घटिरहेको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.४४, विकास बैंकहरूको ७.७४ र वित्त कम्पनीहरूको ८.३९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तिर्ने भारित औसत ब्याजदर ७.३८ प्रतिशत छ ।
यसरी ऋणको व्याजदर घट्दा ऋण लिनेलाई राम्रो भए पनि समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न नसकेका कारण बैंकले व्याजदर घटाउँदैमा राम्रो गरेको भन्न नमिल्ने अर्थविद्हरु बताउँछन् ।
नेपालको ब्याजदर धेरै न्यून विन्दुमा आइसकेकाले भारतमा पुँजी पलायनको सम्भावना उच्च भएको उनीहरुको बुझाइ छ । एक अर्थविद्ले भने, ‘नेपालको भन्दा भारतमा थोरै मात्र ब्याजदर बढी हुँदा व्यापारीहरूमार्फत पुँजी पलायन हुने गरेको छ । यो स्वभाविक हो, यसतर्फ गम्भिर भएर सोच्नुपर्छ ।’












प्रतिक्रिया