सिटिजन्स बैंकले आगामी ३ वर्ष भित्र आफुलाई उत्कृष्ट १० वाणिज्य बैंक भित्र अटाउने महत्वकांक्षी योजना अघि सारेको छ । बैंकले कोरोना संक्रमणको जोखिमका वाबजुद पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो वित्तीय अवस्था बनाउन सकेको भन्दै आगामी दिनमा बलियो अनि सबल बैंक बन्ने उद्घोष गरेको हो ।
बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा गृहकार्य भईरहेको बैंकका डेपुटी सिइओ बोधराज देवकोटाले जानकारी दिए । “प्रकृयाका आधारमा यो काम असहज भएको महसुस समग्र उद्योगले गरिरहेको छ । तर पनि हामी बैंकलाई सबल बनाउनका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउन गृहकार्य गरिरहेका छौं” राजधानीमा आयोजित एक कार्यक्रममा देवकोटाले भने ।
एक कार्यक्रमको आयोजना गरी बैंकले सबल अनि उत्कृट बैंक बन्नका लागि साना तथा मझौला आकारका बैंक वित्तीय संस्थालाई विलय गराउँदै जाने रणनीति अनुसार चल्ने जनाएको हो ।
आफ्नो उपस्थिती कम भएका स्थानलाई केन्द्रमा राखेर प्रदेशस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई प्राप्ति गरी सबल बैंकका रुपमा स्थापीत हुने योजना रहेको बैंकले जनाएको छ । ‘बैंकको यही रणनीति अनुसार अहिले विकास बैंकहरु विलय गर्ने क्रम चलिरहेको छ । यसलाई आगामी दिनमा तिब्र पारिनेछ । बैंकका प्रवक्ता तथा एसिस्टेन्ट सिइओ उमंग शर्माले भनिन् । “तिनाउ मिसनलाई प्राप्ति गरी फागुनभित्रबाट एकीकृत कारोबार सुरु गर्ने योजना छ । यसै बिचमा कुनै एक विकास बैंकलाई विलय गर्ने सम्झौता भएको खबर दिनका लागि छलफल तिब्र पारिएको छ ।”
बैंकको नाम, लोगो र ब्राण्डलाई यथास्थितीमा राख्ने गरी मात्र मर्जर तथा विलय प्रकृयामा जाने रणनीति अनुसार अघि बढ्ने बैंकका डेपुटी सिइओ देवकोटाको प्रष्टोक्ती थियो ।
शेयर बजार तिब्र गतिमा उकालो लाग्दै गर्दा वाणिज्य बैंकहरुको शेयर अवमूल्यनको अवस्थामा रहेको चर्चा चौतर्फी चलिरहेको छ । यो अवस्थामा बैंकले भने आकारसँगै लगानीकर्ताले पाउने प्रतिफललाई आकर्षक बनाउँदै लैजाने जनाएको छ ।
यस क्रममा चालु आर्थिक वर्षमा बैंकले गरेको आकर्षक वित्तीय सुधारका आधारमा दोहोरो अंकको प्रतिफल बितरण गर्ने आधार तयार भएको बैंकका डेपुटी सिइओ देबकोटाले जानकारी दिए । “समकक्षी बैंकहरुको तुलनामा हाम्रो शेयर अवमूल्यनको अवस्थामा रहेकाले पनि दोहोरो अंकको प्रतिफल बितरण गर्नै पर्ने दवाब बजारले दिएको छ । हामी सोही लक्ष्य अनुसार अघि बढ्नेछौं” देवकोटाले भने ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासका वित्तीय सूचकसँग चालु आर्थिक वर्षको दोश्रो त्रैमासका सूचकहरुको वृद्धिको तथ्यांक प्रस्तुत गर्दै देवकोटाले औसतमा अन्य बैंकहरुको भन्दा सिटिजन्स बैंकको प्रगति राम्रो भएको बताए । उक्त सुधारले नै बैंकलाई अघि बढ्न थप हौसला प्रदान गरेको देवकोटाको भनाई थियो ।
देवकोटाले प्रस्तुत गरेको वित्तीय सुधारको तथ्यांक यस्तो छ : Click on Image to enlarge.
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया